News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • कोरोनाविरुद्धको खोप सफल भएको दाबी

    हिमाली संचार संवाददाता
    ४९४ पटक
    २०२० मे २५, सोमबार

    लन्डन – बेलायत र चीनका वैज्ञानिकहरूले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप परीक्षण पहिलो चरणमा सफल भएको दाबी गरेका छन्। अक्सफोर्ड विश्वविद्यालयले अप्रिल २३ मा सुरु गरेको पहिलो चरणको परीक्षण करिब १ हजार जनामा गरिएको हो। विश्वविद्यालयले दोस्रो चरणको परीक्षणका लागि बेलायतका १० हजार २ सय ६० जना स्वास्थ्य स्वयंसेवकलाई आह्वानसमेत गरेको छ।

    त्यसैगरी चीनको क्यान्सिनो बायोलोजिक्स इनकर्पोरेसनले पनि कोरोना भाइरसविरुद्धको खोप परीक्षण पहिलो चरणमा सफल भएको जनाएको छ। क्यान्सिनोले पहिलो चरणमा १८ देखि ६० वर्षका १ सय ८ जनामा परीक्षण गरेको थियो।

    अक्सफोर्डका वैज्ञानिकहरूका अनुसार दोस्रो र तेस्रो चरणको परीक्षणमा ५५ वर्षमाथिका वयस्क र ५ देखि १२ वर्षसम्मका बालबालिकालाई सहभागी गराइनेछ। अक्सफोर्ड खोप समूहले परीक्षणको अर्को चरणमा वृद्धवृद्धाहरूको रोग प्रतिरोध प्रणालीले यो खोपप्रति कस्तो प्रतिक्रिया जनाउँछ भन्नेमा केन्द्रित रहने जनाएको छ। परीक्षणको नतिजा सेप्टेम्बरसम्म प्राप्त हुने बेलायती अनुसन्धानकर्ताहरूको विश्वास छ।

    बेलायतका सरकारी अधिकारीहरू कोरोना भाइरसविरुद्धको खोप छिट्टै बजारमा आइसक्ने विश्वासमा छन्। ब्रिटिस सरकारले आउँदो सेप्टेम्बरसम्ममा कोभिड–१९ खोपका ३ करोडसम्म डोज उपलब्ध भइसक्ने जनाएको छ।

    व्यापार व्यवसाय मामिला हेर्ने बेलायती मन्त्री आलोक शर्माले अक्सफोर्ड विश्वविद्यालयमा खोपको क्लिनिकल परीक्षण राम्रोसँग अगाडि बढिरहेको र त्यो सफल भए गर्मीयाम नसकिँदै खोप तयार हुने बताएका छन।

    मन्त्री शर्माले अक्सफोर्ड र इम्पेरियल कलेजमा अहिले जारी परीक्षणलाई सघाउन सरकारले थप ८ करोड ४० लाख पाउन्ड उपलब्ध गराउने घोषणा पनि गरे। यसअघि सरकारले खोप विकासका लागि अक्सफोर्ड र इम्पेरियल कलेज लन्डनको समूहलाई ४० मिलियन पाउन्ड उपलब्ध गराइसकेको छ।

    शर्माले खोप विकासका लागि ब्रिटिस वैज्ञानिक तथा अनुसन्धाताहरूको प्रयत्नको प्रशंसा गर्दै आफूलाई गर्व लागेको पनि बताएका छन्। औषधि उत्पादक कम्पनी आस्ट्राजेनेकाले बेलायतका लागि सेप्टेम्बरसम्म ३ करोड डोज उपलब्ध गराउने गरी अक्सफोर्ड विश्वविद्यालयसँग सम्झौता गरेको छ। उक्त फर्मास्युटिकल फर्मले बेलायतका लागि कुल १० करोड डोज उपलब्ध गराउने सम्झौता छ।

    मन्त्री शर्माले उक्त खोपको पहुँच पाउने बेलायत पहिलो मुलुक हुने भए पनि आफ्नो सरकार विकासोन्मुख देशहरूमा समेत न्यूनतम मूल्यमा खोप उपलब्ध गराउन कटिबद्ध रहेको बताए। स्वास्थ्यमन्त्री म्याट ह्यानककले बेलायती संसद्मा बोल्दै खोपमा सफलता मिले ३ करोड डोज पहिला जोखिममा रहेका मानिसलाई प्रदान गरिने बताएका थिए।

    इम्पेरियल कलेज लन्डनले यही जुनदेखि मानव परीक्षण सुरु गर्दै छ तर ब्रिटिस सरकारका मुख्य वैज्ञानिक सल्लाहकार सर प्याट्रिक भ्यालेन्सले प्रभावकारी खोप विकासको प्रत्याभूति अहिल्यै गर्न नसकिने बताएका छन्। विश्वभर महामारीका रूपमा फैलिरहेको कोभिड–१९ विरुद्धको खोप विकास गर्न अहिले बेलायतसहित कैयौं मुलुक जुटिरहेका छन्। विभिन्न देशका वैज्ञानिकहरूबीच खोप पहिल्याउन अहिले होड नै चलेको छ।

    आगामी जुनदेखि मानव परीक्षण सुरु गर्ने तयारी गरिरहेको इम्पेरियल कलेज लन्डनका प्राध्यापक रोविन स्याटकको भनाइअनुसार ब्रिटेन, अमेरिका, चीनलगायत विकसित मुलुकमा कम्तीमा सयवटा परीक्षण जारी छ।

    अन्य देश पनि लाभान्वित हुने !

    कोभिड–१९ खोप छिट्टै बजारमा आउने सम्भावनाले बेलायतवासी आशावादी देखिएका छन्। बर्मिङघम युनिभर्सिटीमा औषधि विज्ञानका सिनियर लेक्चरर एवं युरोपियन सोसाइटी फर क्लिनिकल फार्मेसीका अनुसन्धान विभाग प्रमुख डा. विभु पौड्याल बेलायतमा खोप विकासको प्रगतिले आशावादी हुन सकिने बताउँछन्।

    ‘अहिले विश्वभर सयजति प्रोजेक्ट सुरु भएका छन्। एउटा प्रक्रिया सफल भएन भने अर्को गरिन्छ,’ इन्टरनेसनल जर्नल अफ क्लिनिकल फार्मेसीका उपसम्पादकसमेत रहेका पौड्यालले कान्तिपुरसँग भने, ‘भाइरस क्लेभर माइक्रो अर्गानिज्म हो। यसले छिट्टै आफ्नो स्वरूप परिवर्तन गर्ने भएकाले यो चुनौतीपूर्ण पनि छ।’

    पौड्यालका भनाइमा सामान्यत: खोप विकासका लागि पहिला कम्प्युटर मोडेल, त्यसपछि सेल, मुसा, कुकुर, चिम्पान्जी, बाँदर हुँदै बल्ल मानिसमा परीक्षण हुन्छ। तर अहिले द्रुतगतिमा लैजानुपरेकाले वैज्ञानिकहरू मुसा, बाँदरपछि मान्छेमा एकैपटक ‘ट्रायल’ गर्न लागिरहेका छन्।

    भाइरस संक्रमण कम भयो भने ‘ट्रायल’ गर्न गाह्रो हुने भएकाले अहिले वैज्ञानिकहरूले अस्पताल, केयर होममा काम गर्नेमा परीक्षण गरिरहेका डा. पौड्यालले बताए। ‘सार्स, मर्सजस्ता भाइरस खोप नबन्दै हराएपछि खोपको ‘ट्रायल’ हुन पाएन। त्यसकारण भ्याक्सिन परीक्षण छिटो गर्नुपर्ने चुनौती छ,’ पौड्याल भन्छन्।

    बेलायत वा अन्य देशमा खोप परीक्षण सफल भयो भने नेपालजस्ता कम विकसित मुलुकमा पुग्न पनि धेरै समय नलाग्ने पौड्यालको विश्वास छ। ‘खोप विकास गर्न विभिन्न च्यारिटेबल संस्थाबाट डोनेसन भएकाले नेपाल पुग्न समय र पैसा धेरै नलाग्ने देखिन्छ,’ पौड्यालले भनेको कान्तिपुरमा समाचार छ।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज वैशाख ७, २०८२ (अप्रिल २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आजको राशिफल

    आज वैशाख ६, २०८२ (अप्रिल १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    २० वर्ष नाघेका सार्वजनिक सवारीसाधन नियन्त्रणमा : बागमती प्रदेश सरकारको कडा कदम

    काठमाडौं, वैशाख ५ – बागमती प्रदेश सरकारले सार्वजनिक सवारीसाधनको सुरक्षामूलक मापदण्ड कार्यान्वयन गर्दै २० वर्ष...

    सरकारी वेबसाइट ठप्प, विद्युतीय अवरोधले सेवा प्रभावित

    काठमाडौं, वैशाख ५ – शुक्रबार बिहानैदेखि नेपाल सरकारका प्रमुख निकायहरूको वेबसाइटमा पहुँच अवरुद्ध भएको छ।...

    वाणगंगामा अवैध उत्खननबारे नेकपाको आवाज, नगरपालिकालाई चेतावनीसहितको ज्ञापनपत्र

    कपिलवस्तु, वैशाख ५ – वाणगंगा नगरपालिकामा भइरहेको अवैध नदीजन्य पदार्थ उत्खननविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा)...