News Portal

  • अरुणा शाही ठकुरी यस वर्षको ‘उत्कृष्ट भलिबल खेलाडी’ घोषित

    हिमाली संचार संवाददाता
    ९५८ पटक

    काठमाडौं – अरुणा शाही ठकुरी, नेपालकी उदीयमान भलिबल खेलाडी हुन् । चितवन टाइग्रेसकी ‘टाइग्रेस’ । हुन त उनले पहिला पनि आफ्नो खेलमार्फत् लोकप्रियता नकमाएकी होइनन् । यद्यपी, केही समय यता खेल क्षेत्रमा उनको चर्चा चल्न थालेको छ । यो लोकप्रियता राष्ट्रिय भलिबल प्रतियोगितामा प्राप्त जीतको नतिजा हो ।

    नेपाल भलिबल संघ र आधीआवादी फाउन्डेसनको संयुक्त आयोजनामा भएको राष्ट्रिय भलिबल प्रतियोगितामा चितवन टाइग्रेसले आक्रमक प्रस्तुति दिएर महिला भलिबल साम्राज्यको एकल ‘सम्राट’ का रुपमा स्थापित एपीएफलाई आछुआछु बनायो । एपीएफमाथि सो प्रतियोगितामा सजिलो जीत हासिल गरेपछि एकाएक चितवन टाइग्रेसको चर्चा चुलिएको हो । सोही प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिएपछि अरुणाले क्लबसँग उस्तै लोकप्रियता ‘शेयर’ गरिरहेकी छिन् । फेरि, उनको अब्बल प्रस्तुतिका लागि उनलाई यस वर्षको ‘उत्कृष्ट खेलाडी’ घोषित गरिएको छ ।

    स्कुटरको चाबी पक्रिदाको क्षण भलिबलको सट हान्न निकालेको पसिना … वर्षपछि टिमको अप्रत्यासित जीत अनि ‘उत्कृष्ट खेलाडी’ का रुपमा जीतको मूख्य श्रेय अरुणाका लागि यो ‘डबल सेलिब्रेसन’को माहोल भइदिएको छ । त्यसैले उनी दङ्ग छिन् । उनको मुस्कानले यही बताउँछ ।

    वि सं २०५१ सालमा म्याग्दीको पिप्ले गाविसमा जन्मिएकी अरुणाले कहिल्यै ठूलो सपना नै देखेकी थिइनन् । ग्रामीण भेगको बसाईं, गाउँले परिवेशमा हुर्काइ यी सबै कुराले शायद उनलाई सपना देख्ने वातावरण नै नदिएको पनि हुन सक्छ । उनलाई भलिबलप्रति पनि खास रुचि होइन । स्कुलले प्रतिस्पर्धाका लागि लग्यो । उनी गइदिइन् । सोही प्रतिस्पर्धामा प्रतिस्पर्धीका रुपमा आएको पोखराको ज्ञान बाबु स्कुलले अरुणाको अन्तर्निहीत प्रतिभालाई ठ्याक्कै चिन्यो । उनका अगाडि अफर राखिदियो ‘हाम्रो स्कुलमा आउ, छात्रवृत्ति दिन्छौं’ । ‘मौका आउँछ पर्खंदैन, बगेको खोला फर्कंदैन ।’ यही भनाइबाट उत्प्रेरित भएजस्तै गरी अरुणाले पनि आफ्नो अगाडि हात फैलाउँदै आएको अवसरलाई अङ्कमाल गरिन् । अवसरले पनि उनलाई ‘वार्म हग’ गरिदियो ।

    उचित ट्रेनिङ पाएपछि उनले भलिबललाई चिन्दै गइन् र भलिबलले उनलाई । त्यसपछि त के, उनीहरु बेस्ट फ्रेन्ड नै भए । भलिबल खेल्दा रमाइलो लाग्न थाल्यो । भलिबलले नै उनलाई पहिचान दियो । एउटा छुट्टै जीवन थियो जसको कल्पना उनले कहिल्यै गर्न भ्याएकी थिइनन् । देशमा मात्र नभएर विदेशमा समेत आफ्नो देशलाई चिनाउने अवसर जुट्यो, भलिबलकै कारणले । यसै अन्तर्गत उनी आफ्नो जीवनकै सबैभन्दा अविस्मरणीय खेल सम्झिन्छिन् ।

    हुन त उनी पश्चिमाञ्चल क्लबकी खेलाडी हुन् । यद्यपी यस वर्षको नेपाल भलिबल संघ र भारतीय आधीआवादी फाउन्डेसनको संयुक्त आयोजनामा भएको राष्ट्रिय भलिबल प्रतियोगितामा उनलाई चितवन टाइग्रेसले सापटी लिएको थियो । उनी मात्र नभएर चितवन टाइग्रेसले यही गेमको लागि अमेरिकाका ३ भलिबल खेलाडीलाई आफ्नो टिममा ‘हायर’ गरेको थियो । जित्नुको मूख्य कारण पनि यही भएको अरुणा बताउँछिन् ।

    नेपाल महिला भलिबलको अघोषित सम्राटका रुपमा स्थापित एपीएफलाई जित्नु आफैमा ठूलो उपलब्धि हो । यो जीत ठूलो हो । तर, जित्छौं भन्ने आत्मविश्वास पनि सानो चाहिँ थिएन । अरुणाका कुरा सुन्दा यस्तै लाग्यो ।

    ‘विदेशको खेलाडीहरु ल्याएपछि गेम आफै राम्रो भइहाल्छ नि । जित्छौं भनेर लगभग स्योर थियौं ।’ जित्छु जस्तो लागेको थियो ? भन्ने हाम्रो प्रश्नमा उनको यस्तो उत्तर आयो । उत्तरमा कन्फिडेन्स बेस्सरी छचल्कियो ।

    उनका अनुसार अमेरिकी खेलाडीहरुसँग खेल्न उनीहरुलाई कुनै समस्या भएन । बरु, टिम वर्क झन् निखारिएर आयो । यस अघि उनले भारतका खेलाडीहरुसँग पनि मैदान नबाँडेकी होइनन् । तर, एउटै टिममा भएर खेल्दा समेत भारतीय खेलाडीहरु अलि हेप्ने प्रवृत्तिको भएकाले खेल त्यति जमेन । ‘यसपालि भने दुवै राम्रो । अमेरिकी खेलाडी र उनीहरुकै कारण हाम्रो गेम पनि । त्यसैले त जीत हाम्रो पोल्टामा प¥यो ।’ आंशिक रुपमा नमिलेका दाँत देखाउँदै अरुणा मिलेको हाँसो हाँस्छिन् ।

    जीतले उत्पातै खुसीको माहोल सिर्जना गरिदिएका बेला उनलाई एउटा पीरले भने सताइरहन्छ । ‘भलिबलका अतिरिक्त के ?’ नेपालका खेलाडीहरुको मनमा यो प्रश्न उठ्नु नौलो कुरा होइन । शुरुमा त खेल्छु भनेर परिवारलाई कन्भिन्स गर्न गाह्रो त्यसपछि खेललाई नै करियर बनाएको छु भन्ने कुरालाई समाजमा स्वीकार्य बनाउन गाह्रो । यति मुस्किल पार गरेपछि अब खेलेरै जीवन चलाउन सक्छु भनेर आफैलाई विश्वास दिलाउन गाह्रो । अरुणाको अवस्था पनि यस्तै केही छ ।

    भलिबललाई नै सारा जीवन समर्पण गर्ने हो त भन्ने हाम्रो प्रश्नमा उनले उल्टै हामीलाई नै प्रश्न गरिन् ‘अहिलेसम्म हाम्रो देशमा जीवनभर भलिबल नै खेलेर बसेको कोही देख्नुभाको छ र ?’ उनको प्रश्न आफैमा उत्तर बनेर आयो । अरुणाले केही वर्ष भलिबल खेलेर अन्य क्षेत्रलाई पनि सँगसँगै लग्ने योजना बनाएकी छिन् । यही कारणले गर्दा पढाइलाई निरन्तरता दिइरहेको उनी बताउँछिन् । हामीले यो समाचार प्रस्तोता प्रेरणा तिमल्सिनाले लोकपथ च्यानलमा लिएको अन्तर्वार्ताबाट लिएका हौ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    रास्वपाको पत्राचार : मेटा र युट्युबसँग दर्ता प्रक्रियाबारे जिज्ञासा

    काठमाडौं, भदौ २० – सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेलगत्तै राष्ट्रिय स्वतन्त्र...

    फेसबुकपछि ट्विटर (एक्स) पनि नेपाल सरकारसँग सूचीकरणका लागि सम्पर्कमा

    काठमाडौं, भदौ  २० – फेसबुकको सूचीकरण पछि ट्विटर (एक्स) पनि नेपाल सरकारसँग आफ्नो प्लेटफर्म सूचीमा...

    ओलीको राजनीतिक प्रतिवेदन : अन्य दलहरूलाई कसरी हेर्छन् एमाले अध्यक्ष

    काठमाडौँ, भदौ २० – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दोस्रो विधान महाधिवेशनमा पेश...

    हाम्रो पात्रोलाई सामाजिक सञ्जालसँगै बन्द गर्ने सरकारी निर्णय विवादित

    काठमाडौं, भदौ २० – सरकारले दर्ता नभएका भन्दै सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा लोकप्रिय एप...

    आज २०८२ साल भदौ २० गतेको राशिफल

    आज भदौ २०, २०८२ (सेप्टेम्बर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...