एजेन्सी म्यानमार । गत वर्षको डिसेम्बर १२ को एक साँझ पत्रकार वा लोनको मोबाइल बज्यो । फोन नाइङ लिन नामक व्यक्तिले गरेका थिए । उनी म्यानमारको आठौँ सेक्युरिटी पुलिस बटालियनका लान्स कर्पोरेल पदका प्रहरी थिए।
रोयटर्सका लागि रिपोटिङ गर्ने ३१ वर्षे वा लोनलाई फोनमा लिनले याङ्गुनको बाहिर रहेको बटालियनको ब्यारेकमा तत्काल भेट्ने बोलाए । त्यतिबेला यस भूतपूर्व राजधानी सहरको सुनौला प्यागोडाहरुका गजुरहरुलाई अन्धकारले छोप्दै थियो ।
“उनले मलाई यदी म तत्काल गइनँ भने उनी अर्को स्थानमा सरुवा हुने अनि मैले उनलाई पुनः भेट्न नसक्ने बताए,” वा लोनले म्यानमारको अदालतमा पछि सम्झना गरे ।
वा लोन एक सैन्य अप्रेशनको क्रममा रोहिङ्ग्या मुस्लिम अल्पसङ्ख्यकहरुको बसोबास रहेको पश्चिम रखाइन राज्यमा भएको १० जना सर्वसाधारणको हत्याको एक समाचार गर्दै थिए ।
यस क्रममा स्टोरीसँग जोडिएको निक्कै महत्वपूर्ण सामग्री उनी हात पार्दै थिए – उनको समाचारमा मारिएका दश जना मारिनुअघि र पछिका फोटोहरु ।
एक तस्विरमा मानिसहरुको काटिएको र गोली लागेको शरीर एक गहिरो चिहानमा पल्टिरहेको थियो । जिउँदो रहँदा खिचिएको अर्को तस्विरमा उनीहरु घुँडा टेकेको अवस्थामा देखिन्छन् । पृष्ठभूमिमा अत्याधुनिक राइफल बोकेका आठौँ बटालियनका सदस्यहरु देखिन्छन् ।
लान्स करपोरलसँग भेट्न जानु अघि वा लोनले रोयटर्सका ब्यूरो प्रमुख एन्टोनी स्लोदकोब्स्कीलाई सम्पर्क गरे । एन्टोनीले लोनलाई अर्को एक जना रिपोर्टरलाई पनि सँगै लैजान भने । एन्टोनीले भनेका अर्का रिपोर्टर थिए २७ वर्षे क्वे सोई ऊ रखाइन राज्यबाट भर्खरै आएका थिए ।
सोईलाई पनि एउटै गाडीमा राखेर अघि बढ्दै गर्दा उनको मनमा एक्कासी एउटा असहज भावना आयो । प्रहरीले किन उनलाई तत्कालै आइहाल्नु भन्यो रु ट्राफिक जाममा परेको बेला दुई रिपोर्टरले फर्कनु पो पर्छ की भनेर छलफल पनि गरे तर केही समयको छलफल पछि उनीहरुले अघि बढ्ने निर्णय गरे ।
बेलुका ८ बजे वा लोन र क्वा सोई ऊ ८ औं बटालियनको द्वारमा पुगे । अदालतमा दिएको बयान अनुसार लान्स कर्पोरेल नाइङ लिन र एक दोस्रो प्रहरीसँग भेट पछि रिपोर्टरहरु उनीहरुको पछिपछि केही तल रहेको एक खुल्ला बियर गार्डेन पुगे ।
त्यहाँ उनीहरुले बियर र माछा मगाए । नाइङ लिनले अदालतमा सम्झे अनुसार त्यसपछि उनीहरुले रखाइन प्रान्तको बारेमा कुरा गरे ।
उनले रिपोर्टरहरुसँग अघिल्लो वर्ष अगस्ट २५ मा रोहिङ्ग्या विद्रोहीहरुको आक्रमणमा परेको कुरा गरे ।
पछि वा लेनले अदालतमा बताए अनुसार छुट्ने बेलामा नाइङ लिनले उनलाई सरकारी समाचारपत्र मीयानमार अलिनको एक प्रति दिए । त्यसभित्र केही दस्तावेज थियो ।
दुई रिपोर्टरले रेस्टुरा छोड्दै गर्दा उनीहरुले साधा पोसाक लगाएका केही मानिसहरुले उनहरुलाई घेरे ।
“यो गोप्य कागजात हो !” तीमध्ये एकले कराएर भनेको लोन सम्झन्छन् । लगतै लोन र क्वे सोई ऊको नाडीमा एक जोडी हत्कडी बाँधियो । त्यसपछि उनीहरुलाई नजिकै पार्क गरेर राखिएको दुई कारहरु तर्फ लगेर कोचियो ।
नाइङ लिन भने उक्त भेटलाई फरक रुपमा सम्झन्छन् । उनले अदालतमा दिएको बयानमा उनले डिसेम्बर १२ मा लोनले आफूलाई भेटको लागि फोन गरेको र त्यसपछि दुई रिपोर्टरसँग बियर गार्डेनमा भेट भएको बताए । त्यहाँ उनी एक्लै आएका थिए । उनले आफूले लोनलाई कुनै पनि कागजात दिएको पनि अस्वीकार गरे ।
पक्राउपछि दुई रिपोर्टर यस जातीय रुपमा विभाजित राष्ट्रमा पछिल्लो समय कायम राज्यव्यवस्थाको कानुनी प्रक्रियामा फसे ।
पश्चिमी विश्वले यी दुईमाथि चलाइएको कानुनी प्रक्रियालाई पछिल्लो व्यवस्थापनपछि म्यानमारले खुल्ला समाजतर्फ गरेको यात्रा जाँच्ने अवसरको रुपमा लियो ।
यो दशकको शुरुवातमा दक्षिणपूर्वी एशियाको यो देश लोकतान्त्रिक प्रगतिको लागि आशाको केन्द्र थियो । सन् २०१० मा विगत १५ वर्षदेखि सेनाद्वारा घरमै नजरबन्द गरिएकी आङ सान सुकी मुक्त भएकी थिइन् । सन् २०१५ मा उनको पार्टीले आम निर्वाचनमा भारी मतले जितेको थियो ।
लोनजस्ता युवाहरुका लागि दशकौँ लामो सैन्य शासनपछि अचानक तथा ऐतिहासिक रुपमा असम्भव लाग्ने स्वतन्त्रताको आगमनले ठूलो आशा निम्त्याएको थियो ।
तर सेनाले राज्य र राजनीतिमाथि पूरा नियन्त्रण भने छाडेको थिएन । सन् २००८ मा सेना आफैले जारी गरेको संविधानमा उसले आफ्नो लागि थुप्रै अधिकार र केही प्रमुख मन्त्रालय छुट्टाइएको थियो ।
र, मुख्य कुरा म्यानमारमा अझै शान्ति छाएको थिएन । बाँकी विश्वलाई अज्ञात रहेको तर आन्तरिक रुपमा अत्यन्त रक्तरन्जित युद्ध म्यानमारमा जारी थियो ।
अघिल्लो वर्ष देशको चिरपरिचित जातीय अल्पसंख्यक प्रति रहेको व्यापक बैरभावले एक अत्यन्त बर्बर सैन्य अभियान निम्त्याएको थियो । यसको परिणाम स्वरुप ७ लाख मानिसहरुले तिनको घर छाडेर बङ्गलादेश पलायन हुनु पर्यो ।
अहिले आएर म्यानमारको सेनामाथि संयुक्त राष्ट्रले आमहत्या, ठूलो सङ्ख्याको बलात्कार तथा जातीय सफायाको आरोप लगाएको छ । यो सबै आरोपहरुबीच सूकीले सार्वजनिक रुपमा देशको सैन्य फौजको आलोचनामा एक शब्द बोलेकी छैनन् ।