चैत ५, डोटी : भूस्वर्गका रुपमा चिनिने सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तड राष्ट्रिय निकुञ्जमा यस वर्ष पर्यटकको आगमन उल्लेख्य रुपमा बढेको छ । यहाँका हराभरा लेक, तालतलैया र आनन्ददायी बासस्थानले पर्यटकलाई लोभ्याउने गरेको छ । यहाँ बाह्यभन्दा आन्तरिक पर्यटक बढी आउने गरेका छन् । खप्तड क्षेत्रमा यस वर्ष बाक्लो हिमपात भए पनि पर्यटक घटेन ।
डोटी उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष नरेन्द्र खड्काले खप्तड क्षेत्रमा पर्यटक आउने क्रम दिनहुँ बढिरहेको बताए । खप्तड क्षेत्रमा पर्ने पुविर्चौकी गाउँपालिका निवासी खड्काले भने–‘खप्तड पर्यटकको आर्कषणको केन्द्र बन्दै गएको छ । अहिले झन् बाक्लो हिमपात भएपछि त्यो हेर्न पनि पर्यटक आउन थालेका छन् ।
चालु आर्थिक वर्षको अहिलेसम्म ४५ जना जति विदेशी पर्यटक भित्रिएको निकुञ्जका सहायक संरक्षक अधिकृत प्रकाशबहादुर शाहले जानकारी दिए । खप्तडमा बाजुरा, अछाम, डोटी र बझाङका आन्तरिक पर्यटक बढी मात्रामा अवलोकन तथा भ्रमणमा आउने गरेको निकुञ्जले जनाएको छ । ती पर्यटकबाट चालु आर्थिक वर्षको सात महिनामा दुई लाख रुपैयाँभन्दा बढी राजश्व सङ्कलन भएको छ ।
आन्तरिक पर्यटकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । निकुञ्जले बाह्य पर्यटकसँग प्रतिव्यक्ति ३ हजार ३९० रुपैयाँ भ्रमण शुल्क लिने गरेको छ । निकुञ्ज क्षेत्रभित्र धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्रका साथै विभिन्न जङ्गली जनावरसमेत हेर्न पाइन्छ । यहाँ रहेका त्रिवेणीधाम, नागढुङ्गा, खप्तड स्वामीको आश्रम, २२ पाटनलगायतका क्षेत्रको भ्रमण गरी भरपूर मनोरञ्जन लिन सकिन्छ । निकुञ्ज संरक्षणका लागि चार ठाउँमा इलाका कार्यालय राखिएका छन् ।
खप्तड क्षेत्रमा जेठ महिनामा गङ्गा दशहरा मेला र जनै पूर्णिमाका दिन भव्य जात्रा लाग्ने गर्दछ । जात्रा हेर्न सुदूरपश्चिमका विभिन्न जिल्ला र अन्य क्षेत्रबाट समेत पर्यटकको घुइँचो लाग्ने गरेको बग्लेकका स्थानीयवासी धनबहादुर विष्टले बताए । उनले भने,– ‘खप्तडमा पहिले पहिलेको वर्ष जात्राको समयमा हजारौं पर्यटक आउँथे । यो वर्ष त जात्राको समय भन्दा पनि अहिले बढी पर्यटक आए ।
खप्तड क्षेत्रमा आउने पर्यटकको सुविधा र सहजताका लागि डोटीको पुविर्चौकी गाउँपालिका तथा खप्तड पर्यटन विकास समितिको पहलमा बिचपानीसम्म सडक सुविधा पु¥याइएको छ । बिचपानीबाट भने पर्यटकको मागअनुसार घोडा चढ्ने व्यवस्था मिलाइएको पुविर्चौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले बताए । उनले भने,– ‘हामीले बिचपानीसम्म सडक सुविधा पु¥याउन सफल भएका छौँ । त्यहाँबाट पर्यटकको माग बमोजिम घोडाको पनि व्यवस्था मिलाउन सक्छौँ ।
खप्तड क्षेत्रमा पर्ने त्रिवेणीधाम, नागढुङ्गा, सहस्र लिङ्ग, खप्तड ताल घुमेपछि पर्यटकले आनन्दको अनुभूति गर्ने गरेको खप्तड मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष रामप्रसाद उपाध्यायले बताए । उनले भने–‘एक चोटि खप्तड घुम्न आउने पर्यटक अर्को पल्ट नआई रहनै सक्दैन । खप्तडसँग मन लोभ्याउने शक्ति छ ।
खप्तड पर्यटन क्षेत्रको विकासका लागि यहाँका स्थानीय तहले सक्दो पहल गरे पनि केन्द्र र प्रदेश सरकारले खासै कार्यक्रम नल्याएको स्थानीय बासिन्दाको आरोप छ । केन्द्र र प्रदेश सरकारको बजेट आएको भए खप्तड झनै सुन्दर हुने उनीहरुको भनाइ छ । खप्तड क्षेत्रमा रहेको खप्तड स्वामीको आश्रमको संरक्षण तथा सम्बद्र्धन स्थानीय तह, नेपाली सेना, स्थानीयवासी र खप्तड पर्यटन विकास समितिले गरिरहेका छन् ।
त्यस्तै, खप्तड क्षेत्रमा पर्यटकीय गतिविधि बढाउन खप्तड प्रवेश द्वार बग्लेकमा होमस्टे सञ्चालनको तयारी थालिएको छ । डोटीको पुविर्चौकी गाउँपालिका, होटल व्यवसायी सङ्घ डोटी र पुविर्चौकी गाउँपालिका वडा न २ को संयुक्त लगानीमा बग्लेक गाउँका १० घरधुरीबाट होमस्टे शुरु गर्न लागिएको हो ।
होटल व्यवसायी सङ्घ डोटीका अध्यक्ष दीपकबहादुर खड्काका अनुसार बग्लेकमा तत्कालै ठूला होटलहरु सञ्चालनमा ल्याउन कठिन भएकाले होमस्टेका माध्यमबाट पर्यटकलाई सुविधा दिन घरहरु छनोट गरिएको छ । खप्तड क्षेत्र खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँ पनि हो । खप्तड बाबाले खप्तडमा ५० वर्ष बिताउनुभएको भनिन्छ ।
खप्तड बाबा आश्रममा बाबाको मूर्तिका साथै उहाँले प्रयोग गर्नुभएका केही सामान छन् । यस ठाउँमा बसेर बाबाले योग र ध्यान गर्नुभएको थियो र कृतिहरु रच्नुभएको थियो । उहाँका धर्म विज्ञान, विचार विज्ञान, स्वास्थ्य विज्ञान, म र मेरो कर्तव्य, नारी धर्म र पुरुष धर्म, आत्मज्ञान, योग विज्ञान, वेदान्त विज्ञान, आरोग्य विज्ञानलगायतका कृति प्रकाशित छन् ।
खप्तड राष्ट्रिय निकुञ्ज सुदूरपश्चिम प्रदेशका चार पहाडी जिल्ला बझाङ, बाजुरा, अछाम तथा डोटीको सङ्गम स्थलमा अवस्थित छ । यसको क्षेत्रफल २२५ वर्ग किलोमिटर छ । समुद्र सतहदेखि ३ हजार ५०० मिटरसम्मको उचाइमा रहेको यो निकुञ्जभित्र ५६७ थरीका वनस्पति र नेपालमा पाइने ८५० किसिमका चराचुरुङ्गीमध्ये २६० भन्दा पनि बढी चराचुरुङ्गी पाइने गरेको निकुञ्जका सहायक संरक्षक अधिकृत प्रकाशबहादुर शाहले बताए ।
उनँका अनुसार खस्रे भ्यागुता र बझाङ्गे पाहा गरी दुई प्रजातिका रैथाने उभयचर, दुर्लभ जातिको हरियो छेपारा र बाघबुट्टे निगालो पाइने यो नेपालको एक मात्र राष्ट्रिय निकुञ्ज हो । बाह्रै महिना पानीको सतह एकैनासको हुने विशेषता बोकेको १५० मिटर लामो र ५० मिटर चौडा खप्तड दह पनि यहाँ छ । यस अतिरिक्त यहाँ ५२ वटा ताल (दह) छन् ।
निकुञ्जमा कस्तुरी, मृग, बँदेल, डाँफे, जरायो, रतुवा, थरल, घोरल, चितुवा, भालु, बाँदर, ढेडु बाँदर, दुम्सी, खरायो लगायतका जङ्गली जनावर पाइन्छन् । प्रकृतिले नै रमाइलो बनाइदिएको यस ठाउँमा ठूल्ठूला घाँसे मैदान, स–साना ढिस्का र रमाइलो जङ्गल रहेको छ । घाँसे मैदानहरुमा गाई, गोरु, घोडा चरिरहेका देख्न सकिन्छ । खप्तड क्षेत्रमा चारैतिर घनघोर जङ्गल र बीचमा ठूल्ठूला फाँट छन् ।
जैविक विविधताले भरिएको यो क्षेत्र २०४० सालदेखि निकुञ्ज बनेको हो । यस क्षेत्रको सुरक्षाका लागि २०४७ सालदेखि नेपाली सेनाको छावनी स्थापना गरिएको सुदूरपश्चिम पृतना मुख्यालय दिपायल राजपुरले जनाएको छ । खप्तडमा २०० भन्दा बढी प्रजातिका फूल र बहुमूल्य जडीबुटी पाइन्छन् । मङ्सिरदेखि फागुन महिनासम्म यो ठाउँ हिउँले ढकमक्क हुने गर्छ ।
खप्तड पुग्ने धेरै बाटाहरु भए पनि डोटीको बग्लेक हँुदै जाने बाटो बढी चलनचल्तिमा छ । पहिलो दिन काठमाडौंबाट हवाइजहाज वा बसबाट धनगढी पुग्ने हो । धनगढीबाट डडेल्धुराको स्याउले बजार हुँदै डोटीको सदरमुकाम सिलगढी पुग्न बसबाट करीव सात घण्टा लाग्छ । सिलगढीबाट बिचपानीसम्म करीव २ घण्टा कच्ची सडक गाडीबाट हिँडेपछि पैदल वा घोडा मगाएर खप्तड प्रस्थान गर्दा हुन्छ ।
बिचपानीबाट हिँडेपछि ठुल्ठूला चट्टान र घना जङ्गलको बाटो आउँछ । बाटोमा फुलेका रङगीचङ्गी फूलहरू नियाल्दै जाँदा केही घण्टामै त्रिवेणी मन्दिर पुगिन्छ । सिलगढीबाट हिँडेको दोस्रो दिन खप्तड राष्ट्रिय निकुञ्जमा आरामसँग पुग्न सकिन्छ । खप्तड जानुभन्दा अघि पाल, स्लिपिङ ब्याग र खाना पकाउने सामानसँगै लिएर जानु उत्तम हुन्छ ।
तस्बिर : रासस फाइल।