News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • नियात्रा ~ सिमकोटको सिमसिमे साँझ

    हिमाली संचार संवाददाता
    ५७६ पटक

             खगेन्द्र गिरि “कोपिला”

    हल्लिदैहल्लिदै उडिरहेको जहाजले सिमकोटमा अवतरण गर्न भ्याएको थाहै भएन । मन हवाईजहाजबाट बाहिर ओर्लिनलाई हतारिन थाल्यो ।

    जहाज उड्ने, नउड्ने अभरको अवस्था र नेपालगंजमा दुईदिन सम्मको पट्टयारलाग्दो पर्खाईपछि जब जहाज सिमकोटमा ओर्लियो, मन सपना वा विपनाको दोसाँधमा रुमल्लिन थाल्यो ।

    कर्णाली नदीको तिरैतिरै उडिरहेको जहाज एक्कासी मोडिएर अग्लो पहाडको फन्को मार्दै सिमकोटको विमानस्थलमा ओर्लिनु करिबकरिब अनायासै भयो भन्दा हुन्छ । उडिरहँदा जति रोमाञ्चित थियो मन, अवतरण गर्दाको मनस्थिति भने केही त्रसितजस्तो हुन पुगेको छ ।

    सिमकोटको हरियो पाखाभरी छरिए आँखा ।

    पोखिन लाग्यो मन ।

    वरपर राम्ररी केही हेर्न नभ्याउँदै आँखा अगाडि सिमकोट विमानस्थलका रङ्गीविरङ्गी कल्याङ्मल्याङ् दृश्यहरु सलबलाउन थाले । विमानस्थल निकै अस्तव्यस्त छ । जताततै सामान फालिएका छन् । हरिया, राता पेट्रोलका ड्रमहरु र त्यस्तै रंगीबिरङ्गी झोलाहरुले अव्यवस्थित बनाएको छ विमानस्थललाई । मानिसका हुल र सरसामानहरु छरपष्ट छन् धावन मार्गको छेउछाउमा । यात्रुभन्दा बढी छन् ट्राभल एजेन्सीका मानिस । फोहोर पनि उस्तै । फोहोरको व्यवस्थापन गर्न नसक्नु भन्दा पनि फोहोरसंग बस्न अभ्यस्त भैसकेजस्तो छ विमानस्थल वरपरको परिवेश र मान्छेहरु ।

    कुनै नयाँ ठाउँमा पुग्यो भने सबैभन्दा पहिले त्यहाँको सरसफाईमैं पर्छन् आँखा । कुनै ठाउँ र मानिसको पहिलो पहिचान भनेको सरसफाई नै हो तर दिनमा पाँच सय भन्दा बढी यात्रु ओसारपसार गरेर मख्ख पर्ने सिमकोट भने सरसफाईमा सचेत देखिएन । हुन त सबैभन्दा सभ्य भनाउँदा र हुनेखाने मानिसहरु आउने ठाउँ हो विमानस्थल । गरिबको प्रवेश हुँदैन विमानस्थलमा । सिमकोट विमानस्थलको फोहोरलाई हेर्दा सबैभन्दा फोहोरी मानिसहरु पो यहाँ आउँदारहेछन् कि जस्तो लाग्यो ।

    स्वामी निर्मल चैतन्य पुरीज्यूको नेतृत्वमा कैलाश यात्राको टोलीमा मिसिएर म पनि सिमकोट पुगेको छु । २०७५ साल असार एघार गतेको शुभ दिन । चौध जनाको हाम्रो टोलीमा चार जना भारतीय, नौ जना नेपाली र एक जना नेपाली मुलकी अमेरिकन नागरिक मिसिएका छौं । तामिलनाडुको इरोडबाट आउनु भएका योगाचार्य कृृष्णन्ज्यू बडो जिज्ञासु हुनुहुन्छ । मद्रासबाट आउनु भएका युवा साधक भरथन्जी बडो गम्भीर । बिशाखापट्टन्मबाट आएका सहदेव सिंहजी कुरा अलि ढिलो बुझ्ने तर बुझेपछि मज्जाले हाँस्ने, हरदम केही गर्न अग्रसर भई रहने । कर्नाटकबाट आउनु भएका स्वामी स्वरुपानन्द पुरी अलि छिट्टै रिसाइहाल्ने । उहाँलाई शिवताण्डव स्तोत्रका केही पङ्क्ति सुनाएपछि तनावमुक्त भैहाल्ने । उहाँको लामो जटालाई देखाएर शिवताण्डव स्तोत्रको ‘जटाटवीगलज्जल प्रवाहपावितस्थले, गलेबलम्व्य लम्बितां भजुंगतुगंमालिकम्’ सुनाएपछि जति तनावमा भए पनि उहाँ मुस्कुराइहाल्ने ।

    काठमाडौंबाट आउनु भएका निरन्जन पाण्डे, हाम्रो टोलीका सबैभन्दा युवा सदस्य, थोरै बोल्ने, धेरै सुन्ने र हरदम हाँसीरहने । उहाँका बुवा र माता हाम्रो टोलीका सबैभन्दा बृद्ध सदस्य भएपनि सबैभन्दा फुर्तिला । शर्मिला राणा र उहाँकी संगी आफैमा मस्त । तिब्बती दर्शनका विद्वान पूण्य पराजुली केही नसोध्दासम्म बोल्दै नबोल्ने तर बोल्न लागेपछि भने विश्वविद्यालयमा पढाउन थालेजस्तो गर्दै निष्कर्षमा नपुगि कुरा नटुङ्याउने । उहाँकी धर्मपत्नी कल्पना पराजुली त हाम्रो टोलीको परिचारिकाजस्तै बन्नु भो । सबैलाई भोक लागेको, संचो बिसंचो भएको, सामान छुटेको सोधपुध गरेर बडो जिम्मेवार अभिभावकको भूमिका निभाइरहने । पूण्य पराजुलीज्यू लोचा भैहाल्नु भो । आमाको भूमिका निभाएर आमी सबैको ख्याल गरिरहनु हुने कल्पना पराजुलीज्यूलाई मैले ‘माते’ बनाए । परिचयको क्रममा थाह भो तिलस्मी प्रभास नामकी कवयित्रि उहाँ नै हुनु हुँदो रहेछ ।

    ‘माते कविता सुन्नु पर्छ है’ धेरै पटक आग्रह गरिरहेँ । उहाँले हाँसेरै टारिरहनु भयो । महिलाको संकोच जस्तै हुँदो रहेछ कविको संकोच पनि ।

    आआफ्नै स्वभाव र आआफ्नै शैलीका तेरह जना यात्रुलाई बटुल्दै गन्तव्यमा पु¥याउन कटिबद्ध हुनुहन्छ स्वामी निर्मल चैतन्यज्यू । स्वामीज्यू हुनुहन्थेन भने हामी विपरित स्वभाव र भिन्नभिन्न परिवेशका मानिसहरु यसरी एउटै टोलीमा मिसिएर मानसरोवरका यात्रु कसरी बन्न पाउँथ्यौं र?

    हाम्रो टोलीको यात्रा व्यवस्थापन सन्नी ट्राभल्सले गरेको छ । सिमकोटमा नीलो रंगको एउटा ठूलो झोला र एउटा पछाडि भिर्ने झोला दिए ट्राभल्सका प्रतिनिधिले । रातो रंगको बाक्लो ज्याकेट पनि पायौं र टमक्क पारी लगाएर सिमकोटको जाडो छल्ने प्रयत्न गर्न थाल्यौं । झोला र ज्याकेटमा नंबर लेखिएका छन् । त्यो नम्बरले गर्दा ट्राभल्सको प्रतिनिधिलाई हाम्रो व्यवस्थापन गर्न सहज भयो । मेरो नं २५४ र स्वामीज्यूको २८८ ।

    हुम्लामा सबैभन्दा रवाफ कि त खाद्यका कर्मचारीको हुन्छ कि त ट्राभल्सवालाको हुन्छ रे । तर ट्राभल्सवालालाई पनि घुमाउँदो रहेछ एअर कन्ट्रोल टावरलाई रुङ्ने नागरिक उड्डयनको कर्मचारीले । उसले सिङ्नल नदिंदासम्म प्लेन नआउने र आएको प्लेन पनि नउड्ने हुँदो रहेछ । हावा र बादलले उडान र अवतरणमा बाधा पु¥याईरहने सिमकोटमा नागरिक उड्डयनको कर्मचारीको मुड वा सनकले पनि निकै प्रभाव पार्दो रहेछ ।

    नेपालका सतहत्तर जिल्लाका सदरमुकाम मध्ये सबैभन्दा उत्तरी अक्षांशमा रहेको ठाउँ हो सिमीकोट । कचौरा आकारको दक्षिणपश्चिपट्टि ढल्केको टार भएर होला यहाँबाट हिमालका श्वेत चुचुरा अलि माथिमाथि परैपरै देखिए । समुद्र सतहबाट यसको उँचाई २९१० मिटर रहेछ जो जोमसोमको उँचाईभन्दा बढी हो तर हिमालीभन्दा पहाडी प्रभाव ज्यादा देखियो यहाँ । सिमकोटलाई वरिपरि हरिया पहाडले पहरा दिइरहेका छन् ।

    ‘वर्षातको मौसममा ढुङ्गामा पनि लेऊ उम्रिने भएकोले जताततै हरियो देखिन्छ । यहाँको शुष्कता हेर्न त हिउँदमा आउनु पर्छ’ हाम्रा गाइड नोर्बु लामा बोले ।

    उत्तरपूर्व तिरको पाखो सलक्क परेको छ । पाखोभन्दा माथिमाथि पातला रुख, तलतल भरखरै खनजोत गरेर बाली लगाउन ठिक्क पारिएका ससाना गह्राहरु । यतातिर सानासाना गह्राहरुलाई फुुगट्टा भन्दारहेछ । सानासाना यी फुगट्टाका लहरहरु अमूर्त चित्रकारिताको आवृत्ति पस्किरहेका छन् ।

    जहाज नआएको बेलामा विमानस्थललाई निर्बाध रुपमा हिंडेर मानिसहरु वल्लो, पल्लो टोल गएका, आएका देखिन्छन् । धावन मार्गभन्दा तलतिर टारभरि धान खेती गरिएको छ । हिमालको काखैमा धान खेती गरेको देखेर पोहोर साल म जुम्लामा आश्चर्यचकित भएको थिएँ । यहाँ आएर त झन् बिस्मित भएँ । नामै त यसको सिमकोट । ‘सिमकोट सिमीकोटमा रुपान्तरित भएको धेरै भएको छैन’ गाउँपालिका अध्यक्ष पदमबहादुर लामाले सिमकोटको इतिहास सोध्न पाएको थिएन बेलीबिस्तार लागाई हाले । यसलाई कसैले सिमकोट त कसैले सिमीकोट भन्दा रहेछन् ।

    ‘नाम मे क्या रक्खा है यहाँ का दृश्य देखो बाबा’ स्वामी निर्मलज्यू स्वरुपानन्द स्वामीज्यू संग विनोद गर्नु हुन्छ । दक्षिण भारतीय लबजमा ‘हुन्च हुन्च’ भनेर योगाचार्य कृृष्णन्ज्यू समर्थन गर्नुहुन्छ । हुन्छ लाई हुन्च सुनेर हामी हाँस्छौ । सिमकोटको शीतल पवनमा मिसिएर परपरका चट्टानहरुलाई चुम्न दुगुर्छ हाम्रो उन्मुक्त हाँसो ।

    धान खेती गर्ने सिम र माथिपट्टिको राजाको कोट मिलेर बनेको हो यहाँको भूगोल । खस र तिब्बती संस्कृतिले आवाद छ यहाँको भूगोल । उसो त सिमकोटका एकदुई ओटा सानासाना फुगट्टामा भएको धान खेतीले यहाँ खान पुग्दैन । बाहिरबाट बेसाहा नगरी हुन्न । सिमकोटमा हरेक चिज निकै महंगा छन् । चाउचाउ साठी रुपियाँ पकेट । पानीको बोतल पनि कति महंगो हो? बाफ रे एकसय पैसट्टि रुपियाँ !

    अचेल त हेलीकप्टर चल्ने भएपछि चीनको चामल पनि यहाँसम्म आइपुग्न थालेको छ । चीनको पूर्वी भेगमा फल्ने धान, चामल बनेर तिब्बतको पठारमाथि हजारौं किलोमिटर कुद्धै हेलिकप्टर चढेर सिमकोट पुग्दासम्म नमीठो भैसक्दो रहेछ । चिनीयाँ चामलको भात हेर्दा सेतो हलुवाजस्तो लाग्ने । नेपाली चामलको भात खाएको मान्छेका लागि यो बेस्वादे लाग्दोरहेछ ।

    ‘ज्यादा मत खाओ बाबा, चैनिज चामल तुम को भी कम्निष्ट बना देगा’ स्वरुपानन्द स्वामीलाई फेरि जिस्क्याउनु हुन्छ स्वामी निर्मलज्यू । फेरि उस्तै गलल्ल हाँसो निरन्जन भाइको ।

    यहाँ ओर्लिने बित्तिकै पुराना साथी वृष बहादुर रावतलाई सम्झिएँ । फोन गरेँ उहाँ हत्तिदै आइपुग्नु भो । ‘ओहो कोपिला साहेबसंग सिमकोटमा भेट्न लेखेको रहेछ’ पटकपटक दोहो¥याइरहनु भो । भेट भो अँगालो हाल्यौं र निकै बेर गफियौं पनि । उज्यालो मुस्कान छर्दै मनोज विश्वकर्मा भाइ पनि आइपुगे । साथमा लजालु अनुहार लिएर अशोक थापा पनि आएका छन् । दुवैसित मुस्कान साँटासाट गरेँ । सिमकोटका पाखाभरी उभिएर फोटो खिच्यौं । केही मनभरी सजाएर ल्यायौं केही क्यामेरामा कैद भए ।

    गुरु पद्मसंभवको विशालमुर्तीको छेवैको सनराइज होटेलमा बास भयो । सुरुचिपूर्ण र व्यवस्थित होटेलमा खाना पनि सफा र ताजा भेटियो । टिभीमा विश्वकप हेर्दै खाना खायौं । एउटै कोठामा छछ जना कोच्चियौं ।  चिनबाट आएको चामलको भात जति बल गर्दा पनि रुचेन । थपिथपि पुरी तरकारीसंग चिया पियौं र नेपाली पाराले डका¥यौं । इण्डियन यात्रुको इण्डियन पाराको डकारसंग भने हाम्रो डकारले प्रतिष्पर्धा गर्न सकेन ।

    बिस्तारै साँझको शूण्यता बढ्दै गयो । माथिमाथि अग्ला डाँडाहरु अँध्यारोलाई अँगालो हालेर मायाका अजम्मरी गीत गाउन लागे । होटलको करिडोरमा थुप्तेन लामाको नृत्य शुरु भो ।

    चुक घोप्टिएको अँध्यारोभित्र डुबेको छ सिमकोट । बाहिर चिसो हावा स्याँईस्याँई गर्दै बेतोडले चलिरहेको छ । झ्याल बन्द गरेर कोठाभित्र बस्दा उकुसमुकुस हुने, झ्याल खोल्दा बाहिरको चिसो स्याँठ कोठाभित्र पसेर आँधी आएको आभास गराउने । निकैबेर चिसो हावाले हामीलाई हायलकायल पा¥यो ।

    चिसो स्याँठको प्रहारले सिमसिम पानी परिरहेको आभास भयो ।

    ‘भोलि बिहान अब हिउँ हेर्न पाइने भो’ तेन्जिङ बोले ।

    सिमकोटको फराकिलो टारको बिचैमा लमतन्न सुतेको विमानस्थल दिनभरी मानिसको कोलाहलले रमाउँछ र रात परेपछि स्याल कराएको आवाज र हिमाली चिसो सिरेटो चलेको संयुक्त आवाजले तर्सिदै सुत्छ । घरैघरले भरिएको सिमकोटलाई अँध्यारोले निले पछि त यहाँको रात पनि तराईकै जस्तो चकमन्न पो लाग्न थाल्यो ।

    सिमकोटको पहिलो बिहान मनभित्र अनौठोँ काउकुति लगाएर उदायो । मन पनि बिस्तारै उज्यालिंदै आयो । पूर्वी पाखोबाट उदाएका सेतो रङका किरणहरु बिस्तारै पहेंलोपहेंलो हुँदै रातोरातो बन्दै गए । निर्मल चैतन्य स्वामीज्यूको अग्नि रङ्को उत्तरिय सूर्यको रातो रङ्संग ठोक्किएर मुस्कुराउन लाग्यो । हामी उहाँकै पछिपछि लागेर सिमकोटका पाखाहरुमा विचरण गर्न लाग्यौं । हाम्रा पाइलाभन्दा मन झन्झन् छिटो दुगुर्न थाल्यो । कहिले खार्पुनाथ, कहिले माथिपट्टिका पाखा, कहिले होटेलका आँगन र कहिले बजारका साँगुरा गल्लीमा फुर्रफुर उडिरह्रयो हाम्रो मन ।

    विमानस्थलदेखि माथिपट्टिको पाखोमा बजार र तल्लो पाखोमा छन् सरकारी कार्यालयका भवनहरु । जिल्लाको सदरमुकाम भए पनि मानसरोवर जाने—आउने यात्रुहरुकै आवतजावतमा अडिएको छ यहाँको चहलपहल र व्यापार व्यवसाय । प्रायः कैलाशयात्रुहरुलाई यहाँ जाँदा एक रात बास बस्ने तर फर्किदा भने निकै रात बस्नु पर्छ । यहाँको होटेल व्यवसाय यिनै यात्रुहरुमाथि निर्भर भए पनि सिमकोट पर्यटकको स्वागतसत्कार र भावना बुझ्न तयार देखिएन । शाकाहारी भोजनालय कतै भेटिदैनन् । सडक गल्लीहरुको सरसफाईको अवस्थाले यात्रुहरु थप विकर्षित हुन पुग्छन् ।

    विकर्षणका बीचमा पनि आकर्षण खोजिरहेको छ मेरो मन । सिमकोटको एकधर्के हिलाम्मे बजार पनि हाम्रालागि कुतकमय हिमभूमिको राजधानी जस्तो लाग्दै छ । सडक बिस्तार र ढल निर्माण हुन लागेकोले जताततै हिलो छ । बाटो हिडिसक्नु छैन । वर्षादको मौसम उसै पनि मानिसको बस्तीलाई फोहोर बनाइदिन्छ । विकासले ल्याएर आएको फोहोर उसै पनि मानिसहरुको लागि प्रिय हुने नै भयो । फोहोरसंग पनि रमाउन अभ्यस्त हुन लागेका छन् उत्तरी भूगोलका उत्तरआधुनिक यात्रुहरु ।

    सिमकोटको फोहोरले जति वितृष्णा गराए पनि यहाँको प्राकृतिक प्रान्जलता छ निकै मनोहारी । जर्जर मुटु बोकेर पनि मानिसहरु हिमाली हावाजस्तै प्रान्जल हाँसो पोखिरहेकै छन् । हिमाली चिसो हावाले डढेका अनुहारमा जीवनप्रतिको अनुराग झल्किएकै छ । जता हे¥यो उतै नौलोनौलो, नयाँनयाँ लागेर आइरह्यो । कुतुकमय छन् हरेक दृश्यहरु । आफ्ना आँखा यी चट्टानमैं लगेर टाँसीदिउँजस्तो लाग्यो । मेरो मन उड्दैउड्दै पटकपटक ती चट्टानमैं गएर ठोक्किरह्यो । आल्हादित भएको छ मनको सतह पनि । भावनाले ओतप्रोत भएका छन् हरेक हेराईहरु एउटा मुक्तक फुरिहाल्यौः

    थाहै नपाई मन उड्न थाल्यो बतासजस्तै

    क्षितिजभन्दा पारि पुग्न थाल्यो बतासजस्तै

    कुन्नी कुन् स्पर्शले आएर छोयो मलाई

    ढुकढुकी पनि यहाँ कुद्न थाल्यो बतासजस्तै


    साथीहरुका आँखा र मन सिमकोटको हरितिमा परिवेशमाथि ठोक्किरहेका छन् । मेरो मनको भावविभोरता र आत्मालाप सुन्न कसैले सकेनन् । मैले आफै सुनेँ र आफैले नै मुक्तकमा अनुवाद गरेँ । आत्मासंग संवाद गर्ने शक्ति भएका स्वामी निर्मल चैतन्यज्यूले भने कदाचित् मेरो आत्मालापको आवेग अनुभूतलाई गर्नु भयो कि?

    सिमकोटको विमानस्थलमा बिहानी पखको समय जहाज अवतरण र उडानको हतारमा निमग्न छ । युद्धस्तरको दौडधुप छ सबैमा । कति खेर कुन् बेला हावा चलेर उडान रोकिने हो भन्ने त्रासले घेरेको छ सबैलाई । घाम चढ्दै जाँदा माथिमाथिका टाकुराहरुलाई बादलले घे¥यो भने झन् फसाद । आउने र जाने काम बिहानैबिहानै छ्याङ्ग आकाश खुलेको बेलामैं गरेर भ्याउने हतार छ । नेपालगंजबाट यहाँ ओरालिएका मानसरोवर जाने यात्रुहरुलाई तारन्तार हिल्सातर्फ उडाइरहेका छन् हेलिकप्टरहरु । राता पहेँला रङका हेलिकप्टरहरु पुतली जस्तै उड्छन् । फिरिरि गर्दै आकाशमा हराउँछन् र पुतलीजस्तै फिर्फिर गर्दै आएर फेरि अवतरण गर्छन् । पुतलीजस्ता हेलीकप्टरको फिर्फिरे दृश्यले सिमकोटलाई पुतलीको बगैंचा जस्तै बनाएको छ ।

    हिल्सा जान हेलीकप्टरको पालो पखाई लामै भयो । अनिश्चित भएर पर्खिन बस्दाको समय पट्टयारलाग्दो हुन्छ तर आज मलाई यस्तो भान हुनै पाएन । उन्मुक्त चरीजस्तै आफ्नो चपल मुस्कान पोखिरहनु भएको स्वामी निर्मल चैतन्यज्यूको मुहारमा हे¥यो भने सबै थकान मेटिने । उहाँ सबैसंग कुराकानी र परिचय गर्नमैं व्यस्त हुनुहुन्छ । विमानस्थलमा आएका सबैसंग आजै परिचय गरिहाल्न पाए हुन्थ्यो भनेजस्तो आतुरता र चपलता पाउछु म उहाँमा । स्वामीज्यूसंग भलाकुसारी गर्ने मानिस पनि एकै छिनमा लट्ठ परिहाल्छन् । ‘चिया पिउन सवारी होस् स्वामीज्यू’ भनेर उहाँको हातै समातेर तान्नु पर्ने ।

    उहाँको पछिल्तिर उभिएर उहाँका कुरा सुन्न कान थापेर उभिन पुग्छु घरिघरि । कुरा गरेका मान्छेलाई उहाँ ‘हाम्रो कोपिलाजी नेपालगंजको ठूलो साहित्यकार’ भनेर परिचय दिइहाल्नु हुन्छ । म लाजले भुतुक्क हुन्छु । स्वामीज्युले कोपिला मेरा शिष्य हुन् भनेर मात्रै मेरो परिचय दिनु भएको भए कति आनन्द हुन्थ्यो भनेर सोच्दै म ङिच्च हाँसिदिन्छु र नमस्ते फर्काउँछु ।

    भारतका ठाउँठाउँबाट आएका यात्रुहरुसंग अनेक भाषामा कुरा गर्नु पनि छुट्टै आनन्द दिदोरहेछ । मानसरोवर जाने नेपाली यात्रु नको बराबर छन् भन्दा हुने । होटलवाला र एअरपोर्टमा भेटिने कोहीकोही मान्छे त हामीलाई पनि ‘आप कहाँ से?’ भनेर हिन्दीमा सोधी हाल्ने । ‘म नेपालगंजबाट आएको’ भनेपछि उनीहरुका अनुहारमा एक किसिमको आश्चर्यको भाव पनि भेटेँ मैले । यो मान्छे के मानसरोवर जान लागेको होला र? भनेर नपत्याएजस्तो भाव पनि मैले धेरै मान्छेका आँखामा पढेँ ।

    मध्यान्हतिर होटेलबाट ल्याएको खिचडी खुवाए सन्नी ट्राभल्सका मान्छेले । हटकेशमा राखेर ल्याएको खिचडी सिमकोटको चिसो हावाले एकैछिनमा चिसो भैहाल्ने । जसोतसो पेटमा हुल्यौं । चिनियाँ चामल र लोकल मासको फ्युजनले बनेको खिचडी पेटमा गएर हुडुल्किन लाग्यो । हामी प्रचण्डको फ्युजन राजनीतिका साइड इफेक्टलाई सम्झिन पुग्यौं । धन्न माते कल्पना भट्टराईले दिनु भएको औषधीले खिचडीको साइड इफेक्ट छताछुल्ल भएर पोखिन पाएन ।

    हिल्साको लागि एकपटकमा हेलीकप्टरमा चार जनामात्रै अटाउने हुनाले हाम्रो पालो ढिलै आयो । हरियो कचौराजस्तो सिमकोट विमानस्थलबाट उडेको हेलिकप्टर कोल्टेकोल्टे पर्दै उत्तरपश्चिम दिशातर्फ लाग्यो । अग्लो थुम्कोमा रहेको ब्यारेकका भवनहरुलाई छुँलाछँला जस्तो गरेर कर्णालीको माथिमाथि उड्न थाल्यौ । अबका दृश्यहरु हाम्रालागि नितान्त नयाँ छन् । नौला छन् । परपरका हिमाली श्वेत टाकुराहरु जति नजिक पुग्यो उति झन्झन् अग्लाअग्ला बनेर रोमाञ्चकतामाथि रोमाञ्चकता थपिरहेका छन् ।

    नजिकनजिकका अग्लाअग्ला नाङ्गा चट्टानलाई छुँलाछँलाझैं गरी हेलिकप्टर उडिरहँदा जिउँ सिरिङसिरिङ गर्न थाल्छ । उहिलेउहिले मेरा बुवा र आमाले मानसरोवर पुगेर आएका कथा सुनाउनु हुनथ्यो । उहाँकै मुखबाट डाडाँफया, ढाडफया, खत्याडखोला, यारीलाग्ना आदि नामहरु सुनेको थिएँ । ती नाम मेरो अचेतन मनमा कताकता धमिलो छाया बनेर अझसम्म बसेकै छन् । कता होलान् ती गाउँ? कता होलान् मेरा आमाबुवाले हिडेका गोरेटाहरु ?

    ‘हजुर डराउनु त भएन’ स्वामीज्यूका वाणी कानमा परेपछि म झसङ्ग भएँ । ‘होइन हजुर विस्मृतिमा डुबेको’ ।

    यहाँका पाखापखेरा, उकालाओरालाहरुलाई नजिकै पुगेर स्पर्श गर्न पाएको भए कस्तो हुँदो हो? पारिपट्टिका थुम्कोमा देखिने ससाना पातला बस्तीहरुमा छरिएको हुम्ली जनजीवनलाई निकटबाट महसुस गर्न पाएको भए कस्तो हुँदो हो ?

    हेलिकप्टरमा उडेर मानसरोवर जानुभन्दा तलबाट हिडेर गएको भए कति पढिन्थ्यो होला हुम्ली जनजीवनलाई ।

    स्वामीज्यू आफ्ना कुतुहल दृष्टी नचाउँदै मेरै मनको कुरा बोलिरहनु भएको छ । टाउको हल्लाउँदै समर्थन जनाउँदै छु म । मेरो मनभित्र भने यिनै पाखापखेराहरुलाई भोगेर योगी नरहरिनाथज्यूले लेख्नु भएका कवितांश सल्बलाउन थालेका छन् ः

    ‘अखट विकट घाटा उइ उकाला वराला

    झड भड भिड गौंडा जीर्ण साँघु कराला

    वनकर भय भारी लेख खोला र नाला

    विषय बुकी हिम काटी वीर कैलाश जाला’

    प्रतिकृया दिनुहोस्

    अन्तरदेशीय उडानको प्रतीक्षामा पोखरा विमानस्थल

    गण्डकी। उद्घाटन भएको दुई वर्षमा केही ‘चार्टर’ उडान भएपनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तरदेशीय उडान...

    ज्ञानेन्द्र शाहले लुम्बिनीमा गरे हजार बुद्ध मन्दिरको पूजा

    दाङ। पूर्वराजा ज्ञानेन्द्र शाहले रुपन्देहीको लुम्बिनीस्थित हजार बुद्ध मन्दिरमा पुजाअर्चना गरेका छन्। मन्दिर उदघाटन अवसरमा...

    फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

    काठमाडौं। नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज शुक्रबार सुनको मूल्य तोलामा १ हजार ५...

    आज कम्बोडिया जाँदै सभामुख देवराज घिमिरे

    काठमाडौं। सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै छन्। सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११...

    नेपाल एकता पार्टी घोषणा, पृथ्वीपथ र महेन्द्रपथ मूल सिद्धान्त

    काठमाडौं। डा.महेन्द्रजंग शाहको अध्यक्षतामा नेपाल एकता पार्टी घोषणा भएको छ। आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा...