
कुवेत – गैरआवासीय नेपाली संघ एनआरएनए,नेपाली प्रवासीहरूको अन्तर्राष्ट्रिय पहिचान, सामूहिक आवाज र असल उद्देश्य लिएर जन्मिएको यो संस्था आज जहाँ उभिएको छ, त्यो साधारण यात्रा होइन। उदयको घडीमा आशा, सफलता र विश्वभर फैलिएको एकताको भाव र पतनको घडीमा स्वार्थ, राजनैतिक दलाली, आन्तरिक कलह र नेतृत्वको चरम दुरुपयोग ,यी सबैको मिश्रणले आजको एनआरएनए को कथा बनाएको छ। महिले नजिकबाट देखेको एनआरएनए यही हो उज्यालोका बीचमा लुकेको कालो छाँया, अनि कालो छाँयामै चम्किएको आशाको एउटा क्षीण तर दह्रिलो ज्योति।
स्थापना बेलामा संघको उद्देश्य एकदमै स्पष्ट थियो।विश्वभरका नेपालीलाई एक सूत्रमा बाँध्ने, उनीहरूको अधिकार, अवसर र पहिचानलाई मजबुत बनाउने, र नेपाल/प्रवासी सम्बन्धलाई गहिरो बनाउने।त्यतिबेला एनआरएनए एक भावना थियो देशप्रेम, लगाव, आत्मीयता र साझा अभिमानको भावना।नेतृत्वले त्यही भावना बोक्यो, प्रवासी नेपालीले त्यसैलाई सहयोग दिए।
सफलताको झिल्को एकपछि अर्को बल्दै गयो।वैदेशिक लगानी, सीप हस्तान्तरण, प्राकृतिक विपत्तिमा सहयोग,राष्ट्रसँगको भावनात्मक सम्बन्ध।यही थियो एनआरएनएको सुनौलो अध्याय।तर संगठन ठूलो हुदै हुँदा स्वार्थ पनि ठूलो ठुलो हुंदै गयो।समीकरण बदलियो। उद्देश्यहरू झिनो परे, स्वार्थ वनझांगझांग उम्रिए।नेतृत्वका पदहरू सेवा होइन, प्रभाव को बजार बन्न थाले।
कसैका लागि एनआरएनए प्रतिष्ठाको थलो, कसैका लागि राजनीति प्रवेशद्वार, कसैका लागि ठेक्का, मञ्च, प्रोजेक्ट र असिमित पहुँचको रास्ता बन्दै गए।यही बीचमा, आन्तरिक नेतृत्वहरूका बदमाशीहरू खुल्न थाल्यो।नियम तोडिएको, मनपरी नियुक्ति गरिन थाल्यो, आर्थिक पारदर्शिता कमजोर भयो, गुटबन्दीले काम बन्दै गरेका कामहरु रोकिए।अहिले यि नेतृत्वमा देखिने अनुहारलाई एकै तराजुमा मापन गर्न सकिँदैन।
दिनरात खटिने कर्मठ स्वयंसेवकहरू एकातिर,र पदको मोह र व्यक्तिगत लाभमा डुबेका केही व्यक्तिहरू अर्कोतिर। एनआरएनएको आत्मालाई कमजोर पार्ने अर्को घाउ राजनितिक आड र गुठ हो।नेपालका राजनीतिक दलहरूले संस्थालाई आफ्नो चौथो संगठन जसरी प्रयोग गर्न थालेपछि एनआरएनए आफ्नो ट्रयाकबाट भड्कियो।
केही नेता र पार्टीले यहांभित्र मुनाफा हुने ठाउँ देखे,र एनआरएनए नेताहरू यिनौ दलका दूत बने।जसको कारण फरक फरक देशमा, फरक फरक एनसीसी हरूमा राजनीतिक प्रभावको आँधी चल्यो।संगठनभित्रै गुट पक्ष विभाजन, प्रायोजकको लाइन, कुन दल ,कुन नेता नजिक भन्ने आधारमा विभाजन हुन थाल्यो।
उही राजनीति जसले नेपालमा व्यवस्था बिगार्यो, विदेशमा बसेका नेपालीहरूको संस्थामा पनि ओइरियो।यो निकै दुखद पक्ष थियो। राजनिति छिर्न हुन्न भन्न खोजेको होईन तर दलहरुले र नेतारुले यो पवित्र संस्थालाई आफ्नो कालो धन लुकाउने र विदेशमा लगानी गर्ने भर्याग बनाउन खोजे।
जस्को प्रत्यक्ष असरले एकता टुट्यो, अवसर गुम्यो, विश्वसनीयता झर्यो।केन्द्रको लडाइँको सिधा असर एनसीसी हरुमा देखीन थाले। हिजो एउटै थालमा खाने साथीहरु आज प्रवासी समाज विचमा आपसी दुश्मनी पैदा गर्न थाले।संघठन टुक्राउदै गए।सधैको मिलाउनै नसकिने किसिमको झगडामा परिणत भो। युरोप , अमेरिका, अष्ट्रेलयिया, क्यानडा, यि ग्रिन कार्ड पिआर लिएर बस्ने आप्रावासीहरु त गैरआवसीय नेपाली समाज नै थिए। तर मध्यपुर्वका श्रमिकहरुलाई एनआरएनए भन्न मिल्ने कि नमिल्ने?
यिनिहरुको माग कुनै दोहोरो नागरिकताको पनि थिएन। तर यिनिहरु पनि सोच न बुझ सधै लडिरहे। देशलाई पर्दा सहयोग गरिरहे।
तर केन्द्रले भने संधै मागीखाने भाडोको रुपमा हेर्यो।यिनका पिडाहरु बारे कहिल्यै कहिं सम्बोधन गरेको सुनिएन।एनआरएनएको केन्द्रिय तहमा हुने प्रत्येक विवाद, प्रत्येक मुकदमाको पहिलो चोट एनसीसी मा लाग्थ्यो।देश देशका एनसीसी हरू जसले लाखौं नेपालीलाई प्रत्यक्ष सेवा दिइरहेका थिए उनीहरू नेतृत्वको व्यक्तिगत द्वन्द्वका बीच थुनिए।निर्णय रोकिन्थे, कार्यक्रम रोकिन्थे,एनसीसी हरू ‘कुन पक्ष? कुन लाइन?’ भन्ने जटिलताको दलदलमा परे।एकता नभएसम्म हामीले काम गर्न सक्दैनौं’
भन्ने अवस्था धेरै ठाउँमा आयो।तर केन्द्रमा भने कस्लाई अध्यक्ष मान्ने भन्ने मा बर्षौ द्न्द चर्कियो। जुन प्रवासी नेपालीहरुका लागी दुखद: थियो। म स्वंयम हिजो एनसीसी कुवेतको अध्यक्ष हुंदा समेत यि सबै पिडा भोगेको छु।
कहिलेकाहीँ त यस्तो लाग्थ्यो NRNA को केन्द्रिय कलह प्रवासीहरूको पीडा होइन,नेतृत्वको प्रतिष्ठाको जंगमा सीमित भइरहेको छ कि जस्तो लाग्थ्यो। हिजो एकअर्कामाथि खनिएका मुद्दाहरू,न्यायालयसम्म पुगेका झगडाहरू,सचिवालयमा भएको मनपरी,दस्तावेजको मान्यता विवाद,दुई दुई अध्यक्षको दाबी,दुई दुई सचिवालय संचालन यी सबैलेअब अर्को फुट कहिल्यै नआओस्।
प्रवासी नेपालीको सुरक्षा, सम्मान र अधिकारका लागि आवाज उठाउने, श्रम, शिक्षा, लगानी, पुनर्स्थापना सबै क्षेत्रमा बलियो कार्यक्रम अघि पठाउने,नेपाललाई सीप,ज्ञान, पूंजी,सम्पर्क आदानप्रदानमा सहयोग गर्ने,दूतावास र सरकारसँग प्रवासीको मुद्दामा कडा र निष्पक्ष समन्वय गर्ने तथा विश्वभरका नेपालीलाई एकताको भावना जगाउने यि प्रमुख जिम्मेवारी अब एनआरएनएले निभाउनै पर्छ।हो, एनआरएनए को भविष्य आजको निर्णयले तय हुन्छ।फुटले अघिल्लो पुस्तालाई थकाएको थियो।अब एकताले नयाँ पुस्तालाई प्रेरणा दिनुपर्छ।तब मात्र नेपाल र नेपाली प्रवासीको भविष्य बलियो हुन्छ।