आज : २०२६-०६-११, बिहीबार

उत्तरी धादिङमा बाँदर आतंकः किसान भन्छन्– अब खेती गरेर खानै गाह्रो भयो?

धादिङ– उत्तरी धादिङका ग्रामीण क्षेत्रमा यतिबेला किसानहरूको सबैभन्दा ठूलो समस्या बाँदर आतंक बनेको छ। खेतबारीमा लगाईएका अन्नबाली, तरकारी तथा फलफूल बाँदरले नष्ट गर्न थालेपछि किसानहरू चिन्तित बनेका छन्। स्थानीय तहहरूमा बाँदरको बिगबिगी बढ्दै जाँदा खेतीपाती जोगाउन किसानहरूलाई दिनरात खेतमै निगरानी गर्नुपर्ने अवस्था सिर्जना भएको छ।

स्थानीयवासीका अनुसार मकै, कोदो, आलु, तरकारी तथा विभिन्न फलफूल बाली बाँदरले व्यापक रूपमा क्षति पुर्‍याइरहेका छन्। “चौबिसै घण्टा खेतबारीमा सुरक्षा दिएर बस्न सम्भव हुँदैन। हामीले दुःख गरेर लगाएको बाली केही क्षणमै बाँदरले नष्ट गरिदिन्छ,” एक स्थानीयले हिमाली सञ्चार डटकमसँग गुनासो गरे।

धादिङ क्षेत्र नम्बर १ की सांसद आशिका तामाङले बाँदरलाई मार्न नहुने र संरक्षण गर्नुपर्ने धारणा सार्वजनिक गरेपछि यस विषयले थप चर्चा पाएको छ। तर स्थानीय किसानहरू भने संरक्षणसँगै खेतीपाती जोगाउने प्रभावकारी उपाय आवश्यक रहेको बताउँछन्।

स्थानीयवासीहरूले धादिङ क्षेत्र नम्बर २ का सांसद बोधनाथ श्रेष्ठलाई बाँदर आतंक नियन्त्रणका लागि विशेष पहल गर्न आग्रह गरेका छन्। “जनताको सेवाका लागि निर्वाचित प्रतिनिधिले सबैभन्दा पहिले किसानको समस्या समाधान गर्नुपर्छ। अहिलेको मुख्य समस्या नै बाँदर आतंक हो,” एक स्थानीयले बताए।

बाँदरको समस्या समाधानका लागि दीर्घकालीन योजना नल्याइए खेतीयोग्य जमिन बाँझिने जोखिम बढ्दै गएको किसानहरूको भनाइ छ। बाँदरको बढ्दो उपद्रोका कारण कतिपय किसान खेतीबाटै पलायन हुने अवस्था आउन थालेको उनीहरू बताउँछन्।

स्थानीय जनप्रतिनिधिहरूले पनि बाँदर आतंक नियन्त्रणका लागि सम्बन्धित निकाय, वन कार्यालय तथा संघीय सरकारसँग समन्वय गरी प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। किसानहरूले क्षतिपूर्ति, बाली सुरक्षा तथा वैज्ञानिक व्यवस्थापनका उपाय अविलम्ब लागू गर्न माग गरेका छन्।

बाँदर आतंकले कृषि उत्पादनमा प्रत्यक्ष असर पारिरहेको अवस्थामा समयमै समाधान नखोजिए उत्तरी धादिङका धेरै खेतीयोग्य जमिन बाँझिने र ग्रामीण बस्ती थप प्रभावित हुने स्थानीयहरूको चेतावनी छ।