छोराको उपचारमा सर्वस्व गुमाए, रोग निको भएन; बाँसको टाटीभित्र कष्टकर जीवन बिताउँदै नरेश

रंगेली । मोरङको रंगेली नगiरपालिका–३ स्थित पाठक गाउँमा रहेको एउटा सानो झुपडीभित्र नरेश ऋषिदेवको पीडादायी जीवन बितिरहेको छ। छोराको उपचारका लागि जीवनभरको कमाइ र सम्पत्ति खर्चिएका वृद्ध बुवाआमाको पीडा आफ्नै ठाउँमा छ भने मानसिक स्वास्थ्य समस्यासँग जुधिरहेका नरेशको दैनिकी झन् कष्टकर बनेको छ।
मानिसको जीवनमा दुःख र पीडाका अनेक कथा हुन्छन्। कसैका लागि घर सुरक्षित आश्रय हुन्छ भने कसैका लागि सुरक्षित घरकै अभाव जीवनको सबैभन्दा ठूलो पीडा बन्ने गर्छ। नरेश ऋषिदेवको जीवन पनि यस्तै अभाव, संघर्ष र पीडाले भरिएको छ।
वि.सं. २०३८ सालमा कपिल ऋषिदेव र फुदनी ऋषिदेवका एक मात्र छोराका रूपमा जन्मिएका नरेशले १७ वर्षको उमेरमै विवाह गरेका थिए। विवाहपछि उनका दुई छोरी जन्मिए। तर केही समयपछि नरेशमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिन थालेपछि उनको पारिवारिक जीवनमा संकट सुरु भएको बुवा कपिल ऋषिदेवले बताए। नरेशकी श्रीमती दुवै छोरी लिएर अलग्गै बसेपछि उनको जीवन थप कठिन बनेको परिवारको भनाइ छ।
छोराको उपचारका लागि बुवा कपिलले कुनै कसर बाँकी राखेनन्। अरूको घरमा बसेर गाई, गोरु र बाख्रा पालन गर्दै परिवार चलाउँदै आएका उनले छोराको उपचारकै लागि दुःख गरेर जोडेका पशुचौपायासमेत बेच्नुपरेको बताए। छोराको उपचारमा लाखौँ रुपैयाँ खर्च गरे पनि अपेक्षित सुधार हुन नसकेको उनको दुःखेसो छ।
कपिलका अनुसार नरेशलाई विराटनगरस्थित मानसिक रोग विशेषज्ञ डा. रोशन पोखरेलसमेत देखाएर उपचार गराइएको थियो। लामो समयसम्म उपचार गर्दा पनि उल्लेख्य सुधार नआएपछि परिवार अहिले पनि चिन्तित छ। उपचारका लागि आफ्नो सर्वस्व खर्चिए पनि छोराको अवस्था सामान्य बन्न नसक्दा वृद्ध बुवाआमाको मनमा पीडा थपिएको छ।
बाँसको टाटीभित्र सीमित संसार
अहिले नरेश आफ्ना वृद्ध आमाबुवासँगै स्थानीय ज्योति ढकालले उपलब्ध गराएको जग्गामा बनाइएको सानो झुपडीमा बस्दै आएका छन्। करिब पाँच वर्षदेखि उनीहरू त्यहीँ आश्रित छन्। नजिकै नरेशका लागि छुट्टै झुपडी बनाइएको छ। वरिपरि बाँसको टाटी, पुराना बोरा र त्रिपालले बारिएको उक्त झुपडीका अधिकांश भाग खुला छन्। झुपडीको अवस्था हेर्दा सुरक्षित रूपमा रात बिताउनसमेत कठिन देखिन्छ।
वर्षा, गर्मी र जाडोको सामना गर्दै नरेश यही झुपडीमा जीवन बिताइरहेका छन्। सामान्य हावाहुरी र वर्षाले समेत समस्या निम्त्याउन सक्ने अवस्था छ। सुरक्षित कोठा र ओत लाग्ने घरको अभावमा उनको दैनिकी थप कष्टकर बनेको छ।
बुवाआमाले उनलाई चामल, तरकारीलगायत खाद्यान्न उपलब्ध गराउँदै आएका छन्। तर नरेशले अरूले पकाएको खाना नखाने भएकाले आफैँले खाना पकाएर खाने गरेको बुवा कपिल बताउँछन्। आफ्नै हातले खाना पकाउनु र त्यही सानो झुपडीमा एक्लै बस्नु उनको दैनिक जीवन बनेको छ।
कपिलका अनुसार नरेश सातामा तीन दिन रंगेलीस्थित संसारीमाई मन्दिरनजिकै रहेको चिस्याङ खोलामा नुहाउन जाने गर्छन्। त्यस्तै, प्रत्येक शनिबार र बुधबार ५० रुपैयाँ बोकेर खैनी किन्न आठ किलोमिटर टाढा रहेको कर्सिया बजारसम्म पैदल पुग्ने गरेका छन्। उनको दैनिक जीवन यस्तै सीमित गतिविधिमा बितिरहेको छ।
छोराको भविष्य सम्झेर वृद्ध बुवाको मन भारी
एक मात्र छोराको उपचारका लागि जीवनभरको कमाइ र सम्पत्ति खर्च गर्दा पनि छोरालाई सामान्य जीवनमा फर्काउन नसकेको पीडा कपिलको अनुहारमा प्रस्ट देखिन्छ। कुनै समय अरूको घरमा बसेर पशुपालन गरी परिवार पाल्ने गरेका उनी अहिले छोराको अवस्था र भविष्य सम्झेर चिन्तित छन्।
एकातिर छोराको मानसिक स्वास्थ्यसम्बन्धी समस्या, अर्कोतिर सुरक्षित आवासको अभाव। यी दुई समस्याबीच ऋषिदेव परिवारको जीवन गुज्रिरहेको छ। नरेशले आवश्यक मानसिक स्वास्थ्य उपचार र पारिवारिक तथा सामाजिक सहयोग पाएमा जीवनयापनमा सुधार आउन सक्ने आशा परिवारले गरेको छ। वृद्ध अवस्थामा पुगेका बुवाआमाको मनमा छोराको भविष्यको चिन्ता झन् गहिरिँदै गएको छ।
आर्थिक अवस्था कमजोर हुँदा परिवारले आफ्नै बलबुताले सबै समस्या समाधान गर्न सक्ने अवस्था छैन। समाजमा विकास, समृद्धि र मानवीय सेवाका कुरा भइरहँदा रंगेली नगरपालिका–३ पाठक गाउँको यो परिवार भने आधारभूत मानवीय सुविधाबाट समेत वञ्चितजस्तै अवस्थामा पुगेको छ।
नरेशलाई दया होइन, सम्मानपूर्वक बाँच्न पाउने वातावरण, आवश्यक मानसिक स्वास्थ्य उपचार र सुरक्षित आवासको खाँचो छ। स्थानीय सरकार, सामाजिक संघसंस्था, सहयोगी मन भएका व्यक्ति तथा सरोकारवाला निकायले यस परिवारको अवस्थाप्रति गम्भीर ध्यान दिन आवश्यक देखिन्छ।
नरेशको जीवनमा उज्यालो कहिले फर्किएला? छोराको उपचारका लागि आफ्नो सर्वस्व खर्चिएका वृद्ध कपिलको बाँकी जीवनको सहारा को बन्ला? यी प्रश्नले परिवारलाई निरन्तर पिरोलिरहेको छ।
यो एउटा परिवारको दुःखद कथा मात्रै होइन, आर्थिक अभाव र मानसिक स्वास्थ्य समस्याका कारण कठिन जीवन बिताउन बाध्य नागरिकप्रति समाज, स्थानीय सरकार र सरोकारवाला निकायको ध्यानाकर्षण गराउने एउटा गम्भीर विषय पनि हो।
सहयोगका लागि अपिल
नरेश ऋषिदेवको उपचार, सुरक्षित आवास तथा परिवारको जीवनयापनमा सहयोग गर्न इच्छुक सहयोगी दाताहरूलाई मानवीय सहयोगका लागि हार्दिक अपिल गरिन्छ।
सम्पर्क नम्बर: ९८४२०७७२२७
सानो सहयोगले पनि एउटा पीडित परिवारको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ।




















