आज : २०२६-११-०३, मङ्गलबार

फुर्केखोलाको पुलबारे छलफल गर्न मन्त्रालय पुगेका पूर्वमुख्यमन्त्री पाण्डेसहितको टोली मन्त्रीलाई नभेटी फर्कियो

धादिङ । फुर्केखोलामा पुल निर्माणको विषयमा छलफल तथा ज्ञापनपत्र बुझाउन बागमती प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको नेतृत्वमा धादिङका पूर्वसांसदसहितको टोली भौतिक पूर्वाधार विकास मन्त्रालय पुगे पनि मन्त्रीलाई भेट्न नपाई फर्किएको छ।

पूर्वाधार विकासमन्त्री सुनील लम्सालसँग भेट गरी फुर्केखोलाको पुल निर्माणका विषयमा छलफल गर्ने र ज्ञापनपत्र बुझाउने उद्देश्यले टोली मंगलबार मन्त्रालय पुगेको थियो।

पूर्वमुख्यमन्त्री पाण्डेका अनुसार सोमबार पूर्वाधार विकासमन्त्रीका सल्लाहकार सन्तोष पाण्डेलाई भेटेर मन्त्रीसँग भेट्ने समय लिइएको थियो। सल्लाहकार पाण्डेले मंगलबार बिहान ११:३० देखि १२ बजेसम्म भेट्ने समय निर्धारण गरेको जानकारी दिएका थिए।

तर, मंगलबार मन्त्रालय पुग्दा मन्त्रीका सल्लाहकार सन्तोष पाण्डेले आफूले मन्त्रीका निजी सचिव (पीए) प्रतीक श्रेष्ठलाई भेटको व्यवस्था मिलाउन खबर गरेको भन्दै टोलीलाई मन्त्रीको कार्यकक्षतर्फ पठाएका थिए। कार्यकक्षमा पुगेपछि प्रतीक श्रेष्ठले भने मन्त्रीसँग भेट्ने समय नै नलिएको भन्दै अस्वाभाविक व्यवहार देखाएको पूर्वमुख्यमन्त्री पाण्डेको भनाइ छ।

टोलीले मन्त्रीलाई भेटाइदिन आग्रह गर्दा मन्त्री कार्यकक्षमा नरहेको र बाहिरिसकेको जवाफ पाएको पाण्डेले बताउनुभयो।

बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मन्त्रालय परिसरमा रहेर पनि मन्त्रीसँग भेट हुन नसकेपछि आफूहरू सिंहदरबारबाट बाहिरिएको पाण्डेले जानकारी दिनुभयो।

फुर्केखोलाको पुल निर्माणसँग जोडिएको महत्वपूर्ण विषयमा छलफल र ज्ञापनपत्र बुझाउन मन्त्रालय पुगेको टोलीले मन्त्रीसँग भेटसमेत गर्न नपाएपछि असन्तुष्टि व्यक्त गरेको छ।