आज : २०२६-१०-२२, बिहीबार

युवा शक्ति कुवेतद्वारा बडादसैँ कार्यक्रम भव्य रूपमा सम्पन्न

कुवेत। नेपालीहरूको महान् पर्व बडादसैँ २०८३ को अवसरमा युवा शक्ति कुवेतले कुवेतको सालमियास्थित हिमालयन हाउसमा दसैँ विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

युवा शक्ति कुवेतकाे वरिष्ठ उपाध्यक्ष रुबी महर्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका सदस्य तथा कुवेतमा रहेका नेपालीहरूको सहभागिता रहेको थियो। कार्यक्रमको संयोजन करण राईले गरेका थिए।

कार्यक्रममा बडादसैँको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई आत्मसात् गर्दै सहभागीहरूले एकआपसमा टीका ग्रहण गरी दसैँको शुभकामना आदानप्रदान गरेका थिए। संस्थाका सदस्य वासुदेव धमला र आकाश विश्वकर्माले सहभागीहरूलाई दसैँको टीका लगाइदिएका थिए।

विदेशमा रहेर पनि नेपाली कला, संस्कृति, परम्परा र चाडपर्वको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा खानपानको समेत राम्रो व्यवस्था गरिएको थियो। टीका ग्रहणसँगै सहभागीहरू नेपाली गीतसङ्गीतमा रमाउँदै नाचगान गरेर उत्सवमा सहभागी भएका थिए।

सामाजिक सेवाका कार्यमा सक्रिय रहँदै आएको युवा शक्ति कुवेतले प्रवासमा रहेका नेपालीहरूबीच आपसी एकता, सद्भाव र भाइचाराको भावना अभिवृद्धि गर्ने उद्देश्यले दसैँ कार्यक्रम आयोजना गरेको हो। स्वदेशबाट टाढा रहे पनि नेपाली संस्कृति र परम्परालाई निरन्तरता दिँदै संस्थाले यस वर्षको बडादसैँलाई उल्लासमय वातावरणमा मनाएको छ।

कार्यक्रमले प्रवासमा रहेका नेपालीहरूबीच आत्मीयता, सामाजिक सद्भाव र सांस्कृतिक एकतालाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ।