सडकमा पुस्तक बेच्नेदेखि पुस्तक पसल र प्रकाशन गृहका सञ्चालकसम्म : राजेश गजुरेलको प्रेरणादायी यात्रा

काठमाडौं जीवनको यात्रा सधैँ सहज हुँदैन। सफलता प्राप्त गर्न संघर्ष, धैर्य, निरन्तर मेहनत र आत्मविश्वास आवश्यक पर्छ। यसको उदाहरणीय पात्र हुन् राजेश गजुरेल, जसले कुनै समय सडकमा पुस्तक बेचेर आफ्नो गुजारा चलाउँथे। आज उनी पुस्तक पसलका मालिक हुँदै प्रकाशन गृहका सञ्चालक बन्न सफल भएका छन्।
जीवनमा विभिन्न दुःख, पीडा, बाधा, अवरोध र असफलताहरू आउँछन्। तर ती परिस्थितिसँग नडराई निरन्तर आफ्नो कर्ममा लागिरहने व्यक्तिले नै सफलता हासिल गर्न सक्छ। आफूले गरेको कामप्रति माया, सम्मान र समर्पण राख्न सके असम्भवजस्तै लाग्ने सपना पनि पूरा गर्न सकिन्छ भन्ने उदाहरण राजेश गजुरेल बनेका छन्।
उनी भन्छन्, “कामप्रतिको लगाव, निरन्तरको मेहनत र परिश्रम नै सफलताको मुख्य आधार हो। सपना देखेर मात्र हुँदैन, त्यसलाई पूरा गर्न निरन्तर परिश्रम गर्नुपर्छ।”
कुनै समय आफूलाई आवश्यक पुस्तक खोज्दै पसल–पसल धाउने राजेश आज आफ्नै पुस्तक पसलका सञ्चालक बनेका छन्। न्युरोड बुक स्टोरका सञ्चालक गजुरेलले हाल काठमाडौंको न्युरोडमा दुईवटा पुस्तक पसल तथा पोखरामा एउटा पुस्तक पसल सञ्चालन गरिरहेका छन्।
पुस्तक बिक्रीमा मात्र सीमित नरही उनी प्रकाशन क्षेत्रमा समेत अघि बढेका छन्। हालसम्म तीनवटा पुस्तक प्रकाशन गरिसकेका उनले आफ्नो व्यवसायलाई देशव्यापी बनाउने लक्ष्य राखेका छन्। आगामी दिनमा नेपालका ७७ वटै जिल्लामा शाखा विस्तार गर्ने उनको योजना छ।
सडकमा पुस्तक बेचेर सुरु भएको यात्रा आज पुस्तक पसल र प्रकाशन गृहसम्म आइपुग्नु केवल व्यावसायिक सफलता मात्र होइन, यो निरन्तर संघर्ष, आत्मविश्वास र मेहनतको प्रेरणादायी कथा पनि हो। राजेश गजुरेलको यात्रा सपना देख्नेहरूका लागि एउटा सन्देश हो—सफलता एकैपटक प्राप्त हुँदैन, निरन्तरको प्रयासले नै गन्तव्यसम्म पुर्याउँछ।



















