सशस्त्र प्रहरीद्वारा तीन महिनामा ४७ लाख राजस्व सङ्कलन, सीमा तस्करी नियन्त्रणमा भने चुनौती

मोरङ । मोरङको दक्षिणी सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीका नौवटा सीमा सुरक्षा इकाइ (बीओपी) रहे पनि तस्करी नियन्त्रण प्रभावकारी हुन नसकेको गुनासो बढ्दै गएको छ। सशस्त्र प्रहरीले तीन महिनाको अवधिमा ४७ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भए पनि सीमावर्ती क्षेत्रबाट हुने अवैध आयात तथा पशु तस्करी नियन्त्रण अझै चुनौतीपूर्ण देखिएको छ।
मोरङको रंगेली, धनपालथान, रतुवामाई, सुनवर्षी र जहदा क्षेत्रका विभिन्न नाकाबाट दैनिकजसो खाद्यान्न, लत्ताकपडा तथा सुर्तीजन्य सामग्री भारतबाट अवैध रूपमा नेपाल भित्रिने गरेको स्थानीयको भनाइ छ। सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरीका बीओपी तथा नेपाल प्रहरीका चौकीहरूले अपेक्षाअनुसार तस्करी नियन्त्रण गर्न नसकेको स्थानीयको गुनासो छ।
रंगेलीस्थित चोप्राह, धनपट्टी, सिट्टी, चुनीबारी र खरेबारीलगायतका सीमा नाकामा सुरक्षाकर्मीको उपस्थिति रहे पनि अवैध कारोबार नियन्त्रणमा उल्लेखनीय सुधार हुन नसकेको बताइएको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण मुख्यालय कंकालिनीअन्तर्गतका नौवटा सीमा सुरक्षा इकाइको तीन महिनाको विवरणअनुसार बीओपी सिक्टीले सबैभन्दा बढी राजस्व सङ्कलन गरेको छ। कात्तिक २६ गतेसम्मको विवरणअनुसार बीओपी सिक्टीले २१ लाख ९५ हजार ७५० रुपैयाँ राजस्व सङ्कलन गरेको छ।
त्यस्तै, सशस्त्र प्रहरी गुल्म सोराभागले ५ लाख ४२ हजार ४५० रुपैयाँ, गुल्म बरडंगाले ५ लाख १६ हजार ५६९ रुपैयाँ र बीओपी नोचाले ४ लाख ६४ हजार ६५५ रुपैयाँ सङ्कलन गरेका छन्।
यसैगरी, बीओपी धनपट्टीले ३ लाख ६४ हजार ८२५ रुपैयाँ, बीओपी डोरियाले २ लाख ९८ हजार ६४५ रुपैयाँ, बीओपी रंगेलीले १ लाख ५६ हजार ७३५ रुपैयाँ, बीओपी तारिगामाले १ लाख ३२ हजार ८१० रुपैयाँ र बीओपी मिर्चाडाँगीले ३५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेका छन्।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण मुख्यालय कंकालिनीका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीका अनुसार नौवटा सीमा सुरक्षा इकाइबाट तीन महिनाको अवधिमा कुल ४७ लाख ७ हजार ४३९ रुपैयाँ राजस्व सङ्कलन भएको छ।
अवैध रूपमा भारतबाट नेपाल भित्र्याइएका सामग्री बरामद गरी सशस्त्र प्रहरीले राजस्व सङ्कलनमा योगदान पुर्याए पनि नेपालबाट भारततर्फ हुने गाईगोरु तस्करी नियन्त्रणमा भने प्रश्न उठ्न थालेको छ।
स्थानीयका अनुसार रतुवामाई नगरपालिका–४ स्थित सिधारी, चौकीघाट र बालुवारी हुँदै नेपाल–भारत सीमामा रहेको थलगाछी नाकाबाट गाईगोरु भारततर्फ तस्करी हुने गरेको छ। गाई चराउने बहानामा समेत पशुहरू सीमापार लैजाने गरिएको स्थानीयको दाबी छ।
उक्त क्षेत्रमा बीओपी डोरिया तथा सशस्त्र प्रहरीको बेस क्याम्प रहे पनि पिकअप भ्यानमा ठूलो सङ्ख्यामा गाईगोरु भारततर्फ लैजाने गतिविधि नियन्त्रणमा प्रभावकारी भूमिका नदेखिएको स्थानीयको गुनासो छ। यस विषयमा सशस्त्र प्रहरीले पर्याप्त निगरानी नगरेको उनीहरूको आरोप छ।
सशस्त्र प्रहरीको तीन महिनाको अभिलेखअनुसार बीओपी डोरियाले कात्तिक २७ गतेसम्म जम्मा २ लाख ९८ हजार ६४५ रुपैयाँ राजस्व सङ्कलन गरेको देखिन्छ।
सीमावर्ती क्षेत्रमा सुरक्षा इकाइ स्थापना भए पनि अवैध कारोबार नियन्त्रण र राजस्व सङ्कलनमा अपेक्षित उपलब्धि हासिल हुन नसकेको देखिन्छ। सीमा सुरक्षा इकाइका प्रमुखहरूको नियमित सरुवा, प्रभावकारी अनुगमनको अभाव तथा सुरक्षा निगरानी कमजोर हुँदा तस्करी नियन्त्रण थप चुनौतीपूर्ण बनेको स्थानीयको बुझाइ छ।
सरकारले राजस्व चुहावट नियन्त्रणलाई प्राथमिकतामा राख्दै आए पनि सीमावर्ती क्षेत्रमा हुने अवैध कारोबार रोक्न सम्बन्धित सुरक्षा निकायको थप सक्रियता, नियमित अनुगमन र जिम्मेवार पदाधिकारीको जवाफदेहिता आवश्यक देखिएको छ।



















