युवा शक्ति कुवेतकाे सरसफाई अभियान भव्य दूतावासको भने अनुपस्थिति

कुवेत । युवा शक्ति कुवेतको आयोजनामा कुवेतको महाबुला ब्लक–२ स्थित समुद्री किनार क्षेत्रमा शुक्रबार बिहान वृहत् सरसफा अभियान सम्पन्न भएको छ।
पर्यावरण संरक्षण, स्वच्छ वातावरण निर्माण तथा सामाजिक उत्तरदायित्वप्रतिको चेतना अभिवृद्धि गर्ने उद्देश्यले बिहान ७ बजेदेखि ९ बजेसम्म सञ्चालन गरिएको अभियानमा करिब ७० देखि ७५ जना नेपालीको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा कुवेतमा क्रियाशील विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि, एनआरएनएका पदाधिकारी, सामाजिक अभियन्ता, बुद्धिजीवी तथा नेपाली श्रमिक दाजुभाई तथा दिदीबहिनीहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले महाबुला ब्लक–२ आसपासको समुद्री किनार तथा सार्वजनिक क्षेत्रमा सरसफाई गरेका थिए।
विदेशी भूमिमा रहेर पनि आफ्नो समुदाय, समाज र वातावरणप्रतिको जिम्मेवारी निर्वाह गर्दै आएको युवा शक्ति कुवेतले यस अभियानमार्फत सरसफाइप्रतिको जनचेतना फैलाउनुका साथै नेपाली समुदायबीच आपसी एकता, सद्भाव र सहकार्यको सन्देश दिएको छ।
यसैबीच, कार्यक्रमका लागि युवा शक्ति कुवेतले नेपाली राजदूतावास कुवेतलाई औपचारिक पत्राचार गरी कार्यक्रममा उपस्थितिका लागि निमन्त्रणा गरेको भए पनि दूतावासबाट कुनै पनि प्रतिनिधिको सहभागिता नरहेको जानकारी प्राप्त भएको छ।
कुवेतमा नेपाली समुदायले आयोजना गर्ने विभिन्न कार्यक्रम तथा समारोहमा उपस्थिति जनाउँदै आएको नेपाली दूतावास वातावरण संरक्षण र सामाजिक उत्तरदायित्वसँग जोडिएको यस सरसफाइ अभियानमा भने सहभागी नहुनुलाई आयोजक पक्षले चासोका रूपमा लिएको छ। विदेशमा रहेका नेपाली समुदायले आयोजना गर्ने यस्ता सकारात्मक सामाजिक अभियानमा दूतावासको उपस्थिति र प्रोत्साहनले थप हौसला मिल्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा एनआरएनएलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिताले अभियानलाई थप उत्साहपूर्ण बनाएको थियो।
कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण संघसंस्थाका प्रतिनिधि, सामाजिक अभियन्ता तथा सहभागी महानुभावहरूप्रति युवा शक्ति कुवेतले हार्दिक आभार व्यक्त गरेको छ।

विदेशी भूमिमा पनि सामाजिक एकता, वातावरण संरक्षण र सेवाभावलाई प्राथमिकता दिँदै युवा शक्ति कुवेतले आगामी दिनमा समेत यस्ता सामाजिक तथा मानवीय अभियानलाई निरन्तरता दिने जनाएको छ।

















