आज : २०२६-१०-१६, शुक्रबार

रतुवामाईमा प्रहरीको गोली लागेर एक घाइते, गाँजासहित दुई भारतीय नागरिक पक्राउ

मोरङ — मोरङको रतुवामाई नगरपालिका–५, गोविन्दपुरस्थित बक्राहा खोलाको बगरमा प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका छन्। प्रहरीले गाँजासहित दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा भारतको अररिया जिल्लाका ३९ वर्षीय प्रमोद चौधरी र ५० वर्षीय राजेन्द्रप्रसाद यादव रहेका छन्।

इलाका प्रहरी कार्यालय सिजुवाका अनुसार प्रहरीको नियन्त्रणमा आउने क्रममा भाग्न खोजेपछि उनीहरूलाई रोक्न प्रहरीले दुई राउन्ड हवाई फायर गरेको थियो। त्यसपछि थप एक राउन्ड हवाई फायर गरी दुवै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका प्रमोद चौधरीको घुँडामुनि गोली लागेको छ। घाइते चौधरीलाई उपचारका लागि रंगेली अस्पताल लगिएको छ।

प्रहरीले पक्राउ परेका दुवै जनासँगै करिब १०० केजी गाँजा पनि बरामद गरेको जनाएको छ।

बरामद गाँजा र पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय सिजुवामा राखेर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सिजुवाका प्रमुख कैलाश लिम्बूले जानकारी दिए।