आज : २०२६-११-२६, बिहीबार

रंगेलीमा विकासका नाममा बजेटको दुरुपयोग? घरअगाडि नाला कि पुल?

मोरङको रंगेली नगरपालिका–९ स्थित दोहमना–धन्जुवा जोड्ने सडकखण्डअन्तर्गत बगानटोलको ऋषिदेव बस्तीमा निर्माण गरिएका संरचनालाई लिएर स्थानीयवासीले प्रश्न उठाउन थालेका छन्। नाला निर्माणका नाममा घरघर अगाडि बनाइएका संरचना प्रयोगविहीनजस्तै देखिएपछि निर्माणको औचित्यमाथि नै प्रश्न उठेको हो।

उक्त सडक कालोपत्रे भएको करिब ६ महिना बितिसक्दा पनि सडकको दुवैतर्फ निर्माण गर्नुपर्ने नाला अझै पूर्ण हुन सकेको छैन। नगरपालिकाले पश्चिमतर्फ मात्रै नाला निर्माण गर्ने क्रममा लाखौँ रुपैयाँ खर्च गरे पनि काम अधुरै छाडिएको स्थानीयको भनाइ छ।

नाला निर्माणका क्रममा बस्तीका घरअगाडि करिब ५० देखि ५५ स्थानमा साना पुलजस्ता संरचना बनाइएको छ। तर ती संरचना नालाका लागि बनाइएका हुन् वा पुलका रूपमा निर्माण गरिएका हुन् भन्ने स्पष्ट हुन सकेको छैन। कतिपय स्थानमा एउटा साइकलसमेत सहज रूपमा वारपार गर्न नसकिने अवस्था रहेको स्थानीय बताउँछन्।

स्थानीयका अनुसार वर्षायाममा यस्ता संरचनाका कारण आवतजावतमा थप समस्या हुने गरेको छ। विशेषगरी साना बालबालिकालाई विद्यालय आउजाउ गर्न तथा सर्वसाधारणलाई दैनिक कामकाजका लागि हिँडडुल गर्न कठिनाइ हुने गरेको उनीहरूको गुनासो छ।

लाखौँ रुपैयाँ खर्च गरेर निर्माण गरिएका संरचनाबाट स्थानीयले सहज सुविधा पाउन नसकेपछि प्रश्न उठेको छ– यी संरचना साँच्चिकै स्थानीयको आवतजावत सहज बनाउन निर्माण गरिएका हुन् कि बजेट खर्च गर्न मात्रै?

सडक कालोपत्रे भइसकेको अवस्थामा पनि आवश्यक नाला निर्माण पूरा नहुनु र घरघर अगाडि बनाइएका संरचना उपयोग गर्न असहज हुनुका कारण निर्माणको डिजाइन, गुणस्तर, लागत र उपयोगिताबारे छानबिन हुनुपर्ने स्थानीयको माग छ।

विकास निर्माणका योजनाले स्थानीयको आवश्यकता सम्बोधन गर्नुपर्ने हो। तर निर्माण सम्पन्न भएका भनिएका संरचनाबाटै नागरिकले सास्ती खेप्नुपर्ने अवस्था आएपछि सम्बन्धित निकायले यसको अनुगमन गरी अधुरो काम पूरा गर्नुका साथै संरचना निर्माणको औचित्य र खर्चको विवरण सार्वजनिक गर्न आवश्यक देखिन्छ।