जनताको करमा विदेश भ्रमण, छलफलमा भने नेता ढाल्ने रणनीति!

काठमाडौं -नेपालले पछिल्लो समय ठूलो राजनीतिक तथा सामाजिक मूल्य चुकाएको छ। देशले युवा गुमाएको छ, राष्ट्रिय सम्पत्ति खरानी भएको छ, जनताले ठूलो पीडा भोगेका छन् र राजनीतिक सत्ता तथा नेतृत्वमा परिवर्तनसमेत आएको छ। तर यति ठूलो क्षतिपछि पनि राजनीतिक नेतृत्व र जनप्रतिनिधिहरूको सोचमा अपेक्षित परिवर्तन नआउनु दुःखद पक्ष हो।
जनताले खोजेको राजनीति कसलाई हटाउने र कसलाई स्थापित गर्ने भन्ने होइन, देशलाई कसरी अघि बढाउने भन्ने हो। जनताले निर्वाचित गरेर पठाएका प्रतिनिधिहरूले व्यक्तिगत स्वार्थ, पार्टीगत प्रतिशोध र आन्तरिक शक्ति सङ्घर्षभन्दा माथि उठेर राष्ट्रिय हितलाई प्राथमिकता दिनुपर्छ।
चीन भ्रमणमा रहेका सांसदहरूलाई एउटा प्रश्न छ—विदेश गएर पनि पुरानै राजनीतिक खेल खेल्ने हो भने नयाँ कुरा सिक्न विदेश जानुको अर्थ के रह्यो?
देशलाई अब भाषण होइन, दृष्टिकोण चाहिएको छ। सत्ता परिवर्तन मात्र होइन, सोच र संस्कारमा परिवर्तन आवश्यक छ। किनकि देश बदल्नुअघि राजनीति गर्नेहरूको सोच बदलिनुपर्छ।
चीनमा सांसदहरूको राजनीतिक संवाद सार्वजनिक भएपछि रास्वपाभित्रै असन्तुष्टि, अडियो कसरी बाहिरियो भन्ने प्रश्न पनि उठ्यो।
चीन भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूबीच भएको राजनीतिक संवादको अडियो तथा भिडियो सार्वजनिक भएपछि पार्टीभित्रै असन्तुष्टि र आलोचना सुरु भएको छ। सार्वजनिक सामग्रीमा अन्य राजनीतिक दलका शीर्ष नेताहरू, उनीहरूको पार्टीभित्रको विवाद र त्यसबाट रास्वपालाई हुन सक्ने राजनीतिक लाभबारे सांसदहरूले छलफल गरेको सुनिन्छ।
सार्वजनिक संवादमा नेपाली कांग्रेसको आधिकारिकता शेरबहादुर देउवा पक्षले पाउनुपर्ने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता महेश बस्नेत अझ चर्को रूपमा प्रस्तुत हुनुपर्ने तथा त्यसबाट आफूहरूलाई राजनीतिक फाइदा पुग्न सक्ने आशयका अभिव्यक्ति सुनिएका छन्। उक्त संवाद सार्वजनिक भएपछि राजनीतिक वृत्तमा विभिन्न प्रतिक्रिया आउन थालेका छन्।
घटनालाई लिएर रास्वपाकै केही नेताहरू तथा सांसदहरूले असन्तुष्टि व्यक्त गर्न थालेका छन्। पार्टीका एक नेताले अरू राजनीतिक दलका नेताहरूलाई लक्षित गर्दै यस प्रकारको राजनीतिक चलखेल र टिप्पणी गर्नु उचित नभएको धारणा राखेका छन्। अध्ययन, प्रविधि र विकासका नयाँ अनुभव हासिल गर्न विदेश गएको टोलीले भ्रमणको उद्देश्यभन्दा बाहिर गएर राजनीतिक विषयमा यसरी छलफल गर्नु राम्रो सन्देश नभएको उनको भनाइ रहेको बताइएको छ।
त्यसैले भ्रमणका क्रममा भएको राजनीतिक संवादको विषयसँगै त्यसको गोपनीयता, सार्वजनिक गर्ने प्रक्रिया र सांसदहरूको जिम्मेवारीबारे उठेका प्रश्नको स्पष्ट जवाफ आउनु आवश्यक देखिन्छ।



















