आज : २०२६-११-२१, शनिबार

गङ्गाजमुना माई मेला भव्य रूपमा सम्पन्न, भाषणमा राजनीति र रातभर सांस्कृतिक कार्यक्रम

धादिङ/ गङ्गाजमुना गाउँपालिकामा धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको प्रसिद्ध गङ्गाजमुना माई मेला भव्य रूपमा सम्पन्न भएको छ।

गङ्गाजमुना गाउँपालिका उपाध्यक्ष रामेश्वर सिम्खडाको सभापतित्वमा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगर प्रमुख अतिथिका रूपमा उपस्थित थियोे । प्रमुख अतिथि मुख्यमन्त्री थापामगरले पानसमा दीप प्रज्वलन गरी मेलाको औपचारिक उद्घाटन गरेका थिए।

आयोजकले बिहान ११ बजेका लागि तय गरेको कार्यक्रम प्रमुख अतिथि मुख्यमन्त्रीको ढिलाईका कारण दिउँसो करिब २ बजे मात्र सुरु भएको थियो। राष्ट्रिय गान, दीप प्रज्वलन तथा स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता कुमारबहादुर अधिकारी र शिक्षा शाखामा कार्यरत कुमार अधिकारीले संयुक्त रूपमा गरेका थिए। कार्यक्रममा स्वागत नृत्यसमेत प्रस्तुत गरिएको थियो।

मेलाको अवसरमा शुभकामना मन्तव्य राख्ने क्रममा केही राजनीतिक दलका नेताहरूले धार्मिक तथा सांस्कृतिक महत्त्वको चर्चा गर्नुभन्दा राजनीतिक विषयलाई बढी प्राथमिकता दिएका थिए। उनीहरूले आफूले गरेका कामको चर्चा गर्दै एकअर्काप्रति आरोप–प्रत्यारोपसमेत गरेका थिए।

यसै क्रममा गाउँपालिका अध्यक्ष भक्तबहादुर लामाले आफ्नो कार्यकाल सकिन लाग्दासमेत गाउँपालिकामा एक इन्च पनि सडक कालोपत्रे हुन नसकेको भन्दै मुख्यमन्त्रीसमक्ष गुनासो राख्नुभएको थियो। उहाँले गाउँपालिकाको विकास तथा पूर्वाधार निर्माणका विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएको थियो।

कार्यक्रम निर्धारित समयभन्दा ढिलो सुरु भए पनि औपचारिक कार्यक्रम र नेताहरूका मन्तव्यपछि साँझदेखि सांस्कृतिक कार्यक्रमले गति लिएको थियो। राष्ट्रियस्तरका कलाकारहरूको प्रस्तुतिले मेलामा सहभागी दर्शकलाई रातभर मनोरञ्जन प्रदान गरेको थियो। चिसो मौसमको प्रवाह नगरी स्थानीयवासी तथा मेलामा आएका दर्शकहरू गीत–संगीत र नाचगानमा रमाएका थिए।

यद्यपि, मेलाको सांस्कृतिक र धार्मिक महत्त्वका बीच केही व्यक्तिहरू भने नाचगानमा भन्दा जुवातास खेल्नमै व्यस्त देखिन्थे।

समग्रमा, समय व्यवस्थापनमा केही कमजोरी र औपचारिक कार्यक्रममा राजनीतिक आरोप–प्रत्यारोप देखिए पनि गङ्गाजमुना माई मेला धार्मिक आस्था, सांस्कृतिक प्रस्तुति र मनोरञ्जनका दृष्टिले उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।्