गङ्गाजमुना माई मेला २०८३ मंसिर ३ गते, राष्ट्रिय तथा स्थानीय कलाकारको विशेष प्रस्तुति रहने

धादिङ । धादिङको गङ्गाजमुना क्षेत्रमा धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्त्व बोकेको गङ्गाजमुना माई मेला २०८३ साल मंसिर ३ गते आयोजना हुने भएको छ। मेलालाई भव्य र सभ्य रूपमा सम्पन्न गर्ने तयारीसँगै आयोजकले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई मेलामा सहभागी हुन हार्दिक निमन्त्रणा गरेको छ।
यस वर्षको मेलामा विशिष्ट राष्ट्रिय कलाकार, स्थानीय कलाकार, लाइभ म्युजिक, स्थानीय सांस्कृतिक झाँकी, महिला पञ्चेबाजा तथा भजनलगायत विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने आयोजकले जनाएको छ।
मेलामा चर्चित गायिका शान्ता रानी परियार, निर्जला गुरुङ, मनमाया वाइबा, सागर बिसी र सरोज सिम्खडालगायत कलाकारको विशेष प्रस्तुति रहनेछ। साथै विकास परियारको लाइभ म्युजिक टोलीसहित अन्य स्थानीय कलाकारहरूले पनि आफ्नो प्रस्तुति दिनेछन्।
त्यसैगरी, गङ्गाजमुना गाउँपालिकाका सातवटै वडाबाट स्थानीय सांस्कृतिक झाँकी प्रदर्शन गरिनेछ। महिला पञ्चेबाजा, भजन तथा अन्य मौलिक सांस्कृतिक प्रस्तुतिले मेलाको आकर्षण थप्ने अपेक्षा गरिएको छ।
गङ्गाजमुना माई मेला धार्मिक आस्था र परम्परासँग मात्र नभई स्थानीय कला, संस्कृति, पर्यटन तथा पहिचानसँग पनि जोडिएको महत्त्वपूर्ण पर्व हो। यसले स्थानीय कलाकारको प्रतिभा उजागर गर्नुका साथै नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति र परम्परासँग जोड्न सहयोग पुर्याउने विश्वास गरिएको छ।
गङ्गाजमुनाको विकास, संरक्षण र सांस्कृतिक पहिचानको पुस्तान्तरण सबैको साझा दायित्व भएको उल्लेख गर्दै आयोजकले मेलालाई सफल बनाउन सम्पूर्ण सरोकारवाला, स्थानीयवासी, बुद्धिजीवी, समाजसेवी तथा देश–विदेशमा रहेका गङ्गाजमुना क्षेत्रका नागरिकलाई उपस्थितिका लागि आग्रह गरेको छ।
‘गङ्गाजमुनाको विकास गर्नु हाम्रो साझा दायित्व हो। आउनुहोस्, यसको संरक्षण, विकास र पुस्तान्तरणमा हातेमालो गरौँ’ भन्ने सन्देशसहित आयोजना हुन लागेको यस मेलाले धार्मिक पर्यटन प्रवर्द्धन र स्थानीय सांस्कृतिक एकता अभिवृद्धिमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।

















