पीडित परिवारलाई सद्भाव सहकारीको सहयोग, खाद्यान्न र शैक्षिक सामग्री हस्तान्तरण

मोरङ- रङ्गेली नगरपालिका–९, धनजुवाका महेन्द्र ऋषिदेवको परिवारलाई सद्भाव बचत तथा ऋण सहकारी संस्थाले खाद्यान्न तथा शैक्षिक सामग्री सहयोग गरेको छ।
सम्पर्कविहीन बनेका दुई छोराको अवस्था र आर्थिक अभावका बीच पाँच नातिनी र एक नातिको पालनपोषणको जिम्मेवारी सम्हाल्दै आएका महेन्द्रको परिवारलाई सहकारीले सहयोग गरेको हो। परिवारको दयनीय अवस्थाबारे विभिन्न अनलाइन सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि संस्थाले सहयोगका लागि पहल गरेको जनाएको छ।
सहकारीले परिवारलाई दाल, चामल, तेल र भुजालगायत खाद्यान्न सामग्री उपलब्ध गराएको छ। त्यस्तै, विद्यालय जाने दुई बालिकालाई स्कुल ब्याग, कापी र डटपेनसमेत हस्तान्तरण गरेको छ।
संस्थाका अध्यक्ष कमलेश्वर ठाकुर, श्रीप्रसाद ठाकुर, राजदेव यादव लगायतको उपस्थितिमा उक्त सामग्री परिवारलाई हस्तान्तरण गरिएको हो।
आर्थिक अभावसँग जुधिरहेको तथा घरायसी समस्या र जीविकोपार्जनका चुनौती सामना गरिरहेको ऋषिदेव परिवारलाई प्राप्त सहयोगले केही राहत पुग्ने अपेक्षा गरिएको छ।
पीडित परिवारलाई सहयोग गरेर सद्भाव बचत तथा ऋण सहकारी संस्थाले सामाजिक उत्तरदायित्व निर्वाह गर्नुका साथै मानवीय सेवाभावको उदाहरण प्रस्तुत गरेको छ। विपन्न तथा समस्यामा परेका परिवारलाई सहयोग गर्न समाजका अन्य संघसंस्था र सहयोगी मनहरू पनि अघि आउन सके यस्ता परिवारको जीवनयापनमा थप राहत पुग्ने देखिन्छ।


















