आज : २०२६-११-२३, सोमबार

नोबेलको बेडमा रोशनको जीवनसँग संघर्ष, घरमा दिदी र हजुरआमा पाँच दिनदेखि भुजा–चिउराको भरमा

मोरङ / मोरङको रंगेली नगरपालिका–७, पिपल चोकका रोशन सहनी यतिबेला विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको बेडमा जीवन र मृत्युसँग संघर्ष गरिरहेका छन्। टाउकोमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएका उनको अवस्था गम्भीर रहेको परिवारले जनाएको छ। आर्थिक अभावका कारण थप उपचार खर्च जुटाउन नसक्दा सहनी परिवार यतिबेला गहिरो संकटमा परेको छ।

रोशनका बुबा चलित्र सहनीका अनुसार उपचारका क्रममा अहिलेसम्म करिब एक लाख रुपैयाँ खर्च भइसकेको छ। चिकित्सकको सल्लाहअनुसार थप उपचार आवश्यक रहे पनि दैनिक करिब २५ हजार रुपैयाँ खर्च लाग्ने भएपछि परिवारलाई उपचार खर्च जुटाउन निकै कठिन भएको रोशनका काका रामचन्द्र सहनीले बताए।

उपचारका क्रममा रोशन अहिले होसमा आए पनि थप उपचारका लागि आवश्यक आर्थिक सहयोग जुट्न नसक्दा परिवार चिन्तित बनेको छ।

अस्पतालको बेडमा रोशन जीवनका लागि संघर्ष गरिरहँदा घरमा रहेका उनकी दिदी र हजुरआमाको अवस्था पनि उत्तिकै पीडादायी बनेको छ। आर्थिक अभावका कारण उनीहरू पाँच दिनदेखि भुजा र चिउराको भरमा दिनरात बिताउन बाध्य भएको परिवारले जनाएको छ। केही छिमेकीले भात उपलब्ध गराएर सहयोग गरिरहेका भए पनि घरको खाद्यान्न अभाव भने टर्न सकेको छैन।

एकातिर अस्पतालमा उपचाररत छोराको जीवन बचाउने चिन्ता, अर्कोतिर घरमा खाद्यान्नको अभाव। सहनी परिवार अहिले दोहोरो संकटसँग जुधिरहेको छ। उपचार खर्च जुटाउन नसक्दा बिरामीको थप उपचार नै प्रभावित हुने अवस्था आएको परिवारको भनाइ छ।

परिवारले सहयोगी मन भएका व्यक्ति, संघसंस्था, समाजसेवी तथा देश–विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूसमक्ष आर्थिक सहयोगसँगै खाद्यान्न उपलब्ध गराइदिन हार्दिक अपिल गरेको छ।

अस्पतालको बेडमा जीवनका लागि संघर्ष गरिरहेका रोशनको उपचारमा सहयोग पुर्‍याउनुका साथै घरमा भोकसँग संघर्ष गरिरहेका उनका परिवारका सदस्यलाई खाद्यान्न सहयोग गरिदिन परिवारले सबैमा मानवीय अपिल गरेको छ।

तपाईंको सानो सहयोग कसैको जीवन बचाउने ठूलो आधार बन्न सक्छ।