आज : २०२६-१०-३०, शुक्रबार

संसारीमाई मन्दिर परिसरमा मदिरा तथा सुर्तीजन्य पदार्थको बिक्री रोक्न हिन्दू सम्राट सेनाको पुनः माग

 मोरङ- मोरङको रंगेली नगरपालिका–७ स्थित श्री संसारीमाई मन्दिर अगाडि भइरहेको मदिरा बिक्री तथा मन्दिर परिसरभित्र सुर्तीजन्य पदार्थको बिक्री वितरण रोक्न हिन्दू सम्राट सेना, रंगेलीले पुनः माग गरेको छ।

यसअघि पनि मदिरा बिक्री तथा सुर्तीजन्य पदार्थको कारोबार रोक्न माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङ, रंगेली नगरपालिका र इलाका प्रहरी कार्यालय रंगेलीमा लिखित निवेदन बुझाइएको भए पनि हालसम्म कुनै कारबाही नभएको हिन्दू सम्राट सेनाको भनाइ छ।

यसै विषयलाई लिएर हिन्दू सम्राट सेना, रंगेलीको टोलीले रंगेली नगरपालिकाका प्रशासकीय अधिकृत सृजना तिवारी र उपप्रमुख भुमा पराजुलीसँग भेट गरी समस्याबारे थप जानकारी गराएको जनाएको छ। टोलीले मन्दिर परिसरभित्रै सुर्तीजन्य पदार्थको बिक्री वितरण भइरहेको विषयमा समेत नगरपालिकाको ध्यानाकर्षण गराएको थियो।

धार्मिक आस्थाको केन्द्रका रूपमा रहेको श्री संसारीमाई मन्दिरको पवित्रता कायम राख्न, मन्दिर परिसरलाई मर्यादित बनाउन तथा सनातन धर्मावलम्बीहरूको धार्मिक भावनाको सम्मान गर्न आफूहरूले पटक–पटक आवाज उठाउँदै आएको हिन्दू सम्राट सेनाले जनाएको छ।

मन्दिर अगाडि मदिरा बिक्री तथा परिसरभित्र सुर्तीजन्य पदार्थको कारोबार भइरहेको विषयलाई सम्बन्धित निकायले गम्भीरतापूर्वक लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाउनुपर्ने सेनाको माग छ।

यस विषयमा रंगेली नगरपालिका, जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित सुरक्षा निकायबाट यथाशीघ्र उचित निर्णय र प्रभावकारी कदम चालिने अपेक्षा हिन्दू सम्राट सेनाले गरेको छ।