आज : २०२६-१०-०१, बिहीबार

रास्वपाद्वारा रंगेलीमा जितिया महोत्सव आयोजना

रंगेली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रंगेली नगरपालिका–५ वडा कार्यसमितिको आयोजनामा जितिया पर्वको अवसर पारेर विशेष जितिया पर्व महोत्सव तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।

रंगेली–५ आमगाछीमा आयोजित कार्यक्रममा स्थानीय महिला, बालबालिका, समाजसेवी, बुद्धिजीवी तथा रास्वपाका नेता–कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा रास्वपा कोशी प्रदेश सहमहामन्त्री मञ्जरी घिमिरे प्रमुख अतिथि तथा महाधिवेशन प्रतिनिधि भुवनेश्वर साह विशिष्ट अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा प्रदेश सदस्य सम्झना पण्डित, महाधिवेशन प्रतिनिधि बजरङ्ग अग्रवाल, नगर सभापति हरिन्द्र बराल, उपसभापति बसन्त मण्डल, वडा सभापति निरोज मण्डल, केन्द्रीय सहकारी विभाग सदस्य वीरेन्द्र साह, जिल्ला प्रतिनिधि परमेश्वर प्रसाद साह, महेश खनाल, सुरेन्द्र मण्डललगायत स्थानीय समाजसेवी, महिला तथा बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मञ्जरी घिमिरेले जितिया पर्वको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्वबारे चर्चा गर्दै पुस्तौंदेखि चलिआएको मौलिक परम्परा र संस्कृतिको संरक्षणमा सबैको भूमिका महत्वपूर्ण रहेको बताइन्। नयाँ पुस्तालाई समेत आफ्नो मौलिक संस्कृति र परम्परासँग जोड्न यस्ता सांस्कृतिक कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।

विशिष्ट अतिथिहरूले जितिया पर्व धार्मिक आस्थासँग मात्र सीमित नभई पारिवारिक सुख, सन्तानको दीर्घायु तथा समुदायबीचको आपसी सद्भावसँग जोडिएको महत्वपूर्ण पर्व भएको बताए। आधुनिकताको प्रभावसँगै मौलिक संस्कृति तथा परम्परा हराउँदै जान नदिन नयाँ पुस्तालाई यसको महत्व बुझाउनुपर्नेमा उनीहरूले जोड दिए।

कार्यक्रममा स्थानीय बालबालिकाले जितिया पर्वसँग सम्बन्धित विभिन्न गीतमा आकर्षक नृत्य तथा सांस्कृतिक प्रस्तुति दिएका थिए। बालबालिकाको सहभागिताले नयाँ पुस्तामा समेत मौलिक संस्कृति र परम्पराप्रति रुचि बढाउन सहयोग पुग्ने आयोजकको विश्वास रहेको थियो।

त्यसैगरी कार्यक्रममा हण्डीफोर लगायतका मनोरञ्जनात्मक तथा सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो। कार्यक्रमले जितिया पर्वको मौलिकता, धार्मिक विश्वास र सामाजिक महत्वलाई समुदायस्तरमा प्रचार–प्रसार गर्न सहयोग पुर्‍याउनुका साथै महिला, बालबालिका तथा युवापुस्तालाई आफ्नो संस्कृति र परम्परासँग जोड्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ।