पुर्ख्यौली पेसा जोगाउन जुटे रंगेलीका ६० परिवार

मोरङको रंगेलीमा छठ पर्व नजिकिँदै जाँदा पर्वमा प्रयोग हुने बाँसका सामग्री बनाउन माझी तथा मल्लिक समुदायका परिवारलाई भ्याइनभ्याइ भएको छ। छठ पूजामा सुप्पा, ढक्की, कोनिया, ढाला तथा ढक्ना बनाउन उनीहरू अहिले दिनरात खटिन थालेका छन्। रंगेली ६ स्थित माझी टोल तथा मल्लिक टोलमा बसोबास गर्दै आएका करिब ६० घरपरिवार यतिबेला बाँसका सामग्री निर्माणमा व्यस्त हुन थालेका छन्।
तराई क्षेत्रमा पाइने बाँसबाट चोया निकालेर परम्परागत सीप र प्रविधिको प्रयोग गर्दै उनीहरूले छठ पर्वमा आवश्यक सामग्री तयार पारिरहेका छन्। कुनै समय यही पेसाबाट राम्रो आम्दानी गर्दै आएका स्थानीयको रोजगारी अहिले भने संकटमा परेको छ। खुला सीमाका कारण भारतीय बजारबाट सस्तो मूल्यमा बाँसका सामग्री नेपाल भित्रिएर बिक्री हुन थालेपछि आफूहरूको व्यापार प्रभावित भएको स्थानीय बिजय मल्लिकले बताए। उनका अनुसार पुर्खौंदेखि अपनाउँदै आएको पेसा भएकाले आर्थिक अवस्था सहज नभए पनि उनीहरूले यसलाई निरन्तरता दिँदै आएका छन्। बाँसको मूल्यसमेत महँगिँदै गएको र सामग्री बनाउँदा हातखुट्टामा चोट लाग्ने तथा काँडा बिझ्ने समस्याले काम थप कठिन बनेको उनीहरूको भनाइ छ।
स्थानीयले उत्पादन गरेका सामग्री रंगेली, कर्सिया, दोहमाना र डाइनिया बजारसम्म पुर्याएर बिक्री गर्ने गरेका छन्। एक दिनमा एक जनाले करिब ८ देखि १० वटासम्म सुप्पा बनाउन सक्ने उनीहरूले बताए । एउटा बाँसबाट पाँचदेखि छ वटासम्म सामग्री तयार हुने गरेको छ। उनीहरूले छठ पर्वका लागि सुप्पा प्रतिगोटा १५० रुपैयाँ, ढक्की ३०० देखि ३५० रुपैयाँसम्म र ढक्ना आकारअनुसार बिक्री गर्दै आएका छन्। छठ पर्व नजिकिएसँगै बजारमा बाँसका सामग्रीको माग बढ्न थालेको छ। स्थानीय परिवारहरू पनि पर्वका लागि आवश्यक सामग्री उत्पादनसँगै बिक्रीवितरणको तयारीमा जुटेका छन्।
छठ पर्वमा प्रयोग हुने सुप्पा, ढक्की र कोनिया केवल पूजाका सामग्री मात्र होइनन्, यी स्थानीय समुदायको पुर्ख्यौली सीप, संस्कृति र जीविकोपार्जनसँग जोडिएका पहिचान पनि हुन्। तर सस्तो आयातित सामग्रीसँग प्रतिस्पर्धा गर्नुपर्दा स्थानीय उत्पादनकर्ता निराश बन्न थालेका छन्।
पुर्ख्यौली सीप र पेसालाई जोगाउँदै आएका यी परिवारको मेहनतलाई संरक्षण गर्न स्थानीय सरकार तथा सम्बन्धित निकायले स्वदेशी उत्पादनको प्रवर्द्धन, बजार व्यवस्थापन र उचित मूल्य सुनिश्चित गर्न ध्यान दिनुपर्ने देखिन्छ। अन्यथा पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको बाँसका सामग्री बनाउने कला र यसमा आश्रित परिवारको रोजीरोटी संकटमा पर्न सक्छ।

















