आज : २०२६-१०-०४, आइतबार

दसैँपछि ९ जना राजदूत नियुक्ति हुदै

परराष्ट्र मन्त्रालयले बाँकी रहेका ९ देशका लागि दसैँपछि राजदूत नियुक्त गर्ने भएको छ। सरकारले यसअघि विज्ञतर्फबाट विभिन्न १३ वटा देशका लागि १३ जनाको नाम सिफारिस गरिसकेको छ।

अब बाँकी रहेका ९ देशका राजदूत नियुक्त गर्ने प्रक्रिया सुरु गरेको छ। रसिया, अष्ट्रेलिया, ओमान, स्पेन, बंगलादेश, ब्राजिल, म्यानमार, बहराइन र इजिप्टका नेपाली दूतावासमा राजदूतको पद रिक्त छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोबहादुर क्षेत्रीले राजदूत नियुक्तिको प्रक्रिया अघि बढिरहेको बताए।

‘दसैँपछि नै हुनसक्छ। तर अहिले यति मात्र भन्न सकिन्छ, राजदूत नियुक्तिको कार्य प्रक्रियामा रहेको छ,’ उनले बताए। यी ९ वटै दूतावासमा कर्मचारीतर्फबाट राजदूत थिए। त्यसमध्ये रसिया, अष्ट्रेलिया, ओमान र स्पेन अहिले खाली नै छन्।

बंगलादेश, ब्राजिल, म्यानमार, बहराइन र इजिप्टमा रहेका नेपाली राजदूतको म्याद सकिए पनि वालेन्द्र शाह नेतृत्वको सरकारले उनीहरूलाई अर्को व्यवस्था नभएसम्मका लागि म्याद थप गरेर राखेको छ।

म्याद थपिएका राजदूतहरूमा बंगलादेशका घनश्याम भण्डारी, ब्राजिलका निर्मलराज काफ्ले, म्यानमारका हरिश्चन्द्र घिमिरे, बहराइनका तीर्थराज वाग्ले र इजिप्टका सुशील लम्साल रहेका छन्। उनीहरूको म्याद सकिएपछि सरकारले फिर्ता बोलाइसकेको थियो। त्यस ठाउँमा असार दोस्रो हप्ता मन्त्री खनालले कुमार खरेल, भृगु ढुंगेल, गणेश ढकाल, दिलिप पौडेल र विष्णु गौतमको नाम सिफारिस गरेका थिए।

तर पछि राजदूत फिर्ता नबोलाई उनीहरूकै म्याद थप गरिएको थियो। दसैँपछि नयाँ राजदूतको नाम सिफारिस भएपछि उनी पाँचै जना राजदूत फर्केर आउने छन्। विज्ञबाट सिफारिस गरिएका नाम संसदीय समितिमा गएको छ।

भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डे, चीनका लागि प्रस्तावित राजदूत डा. कल्याणराज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित राजदूत चिरनजंग थापा, संयुक्त अधिराज्य (यूके)का लागि प्रस्तावित राजदूत पूर्वप्रधानसेनापति गौरव शमशेर जंगबहादुर राणा (अवकाशप्राप्त), जापानका लागि प्रस्तावित राजदूत जिग्यान कुमार थापा, इजरायलका लागि प्रस्तावित राजदूत सुरेशकुमार कर्ण र स्पेनका लागि प्रस्तावित राजदूत प्राप्ति शेरचनको नाम सिफारिस गरेको छ।

त्यस्तै, जर्मनीका लागि प्रस्तावित राजदूत शारू जोशी, ओमानका लागि प्रस्तावित राजदूत डा. पद्माक्षी राणा, मलेसियाका लागि प्रस्तावित राजदूत चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रस्तावित राजदूत प्रा.डा. संगम श्रेष्ठ, श्रीलंकाका लागि प्रस्तावित राजदूत डा. मञ्चला झा र साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारका नाम सिफारिस भएका छन्।