रोटरी क्लबद्वारा सुनवर्षीका दुई अशक्त व्यक्तिलाई ह्विलचेयर वितरण

मोरङको सुनवर्षी नगरपालिका–५ मा लामो समयदेखि हिँडडुल गर्न नसक्ने दुई जना शारीरिक अशक्त व्यक्तिलाई ह्विलचेयर वितरण गरिएको छ।
रोटरी क्लब अफ विराटनगर मिड टाउनको आयोजनामा तथा सुनवर्षी नगरपालिका–५ का वडाध्यक्ष युगेश्वरप्रसाद ठाकुर र समाजसेवी कमलेश्वर ठाकुरको विशेष पहलमा ह्विलचेयर वितरण गरिएको हो।
लामो समयदेखि शारीरिक अशक्तताका कारण हिँडडुल गर्न कठिनाइ भोग्दै आएका ६४ वर्षीया विमला देवी ऋषिदेव र ६५ वर्षीय भिखन ऋषिदेवलाई ह्विलचेयर प्रदान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा रोटरी क्लब अफ विराटनगर मिड टाउनका अध्यक्ष रो. विनोदकुमार बोहरा, पूर्वअध्यक्षद्वय रो. रामअवतार अग्रवाल र रो. सुशीलप्रसाद रिजाल, रो. रानु गोयल, रो. विनोदकुमार शर्मा, क्लबका सहसचिव रो. राकेश दाहाल, रो. अमन साहलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागीहरूले ह्विलचेयर वितरणले अशक्त व्यक्तिहरूको दैनिक जीवन सहज बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे। यस्ता मानवीय तथा सामाजिक सेवाका कार्यक्रमले समाजमा सहयोग, सद्भाव र मानवीय भावनाको विकास गर्ने उनीहरूको भनाइ थियो।
ह्विलचेयर प्राप्त गरेपछि आवतजावत गर्न सहज हुने र परिवारका सदस्यलाई समेत केही राहत मिल्ने अपेक्षा लाभग्राहीले व्यक्त गरे।
क्लबका अध्यक्ष बोहराले सामाजिक उत्तरदायित्वअन्तर्गत आवश्यकतामा रहेका व्यक्तिलाई सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। उनले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य तथा मानवीय सेवाका क्षेत्रमा सहयोगका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
ह्विलचेयर वितरण कार्यक्रमले शारीरिक अशक्तता भएका व्यक्तिहरूको जीवन सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।


















