रंगेलीमा विभिन्न दलका ११५ जना रास्वपामा प्रवेश

मोरङ । मोरङको रंगेली नगरपालिका–५ मा विभिन्न राजनीतिक दलमा आबद्ध ११५ जना नेता तथा कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा आबद्ध नेता तथा कार्यकर्ता रास्वपामा प्रवेश गरेका हुन्।
पार्टी प्रवेश गर्नेमा जसपा नेपालका पूर्व केन्द्रीय सदस्य तथा रंगेली नगर अध्यक्ष नरेशकुमार मण्डल, नगर उपाध्यक्ष रञ्जिता देवी मण्डल, सचिव कुन्दन मण्डल, सहसचिव नवीन मण्डललगायत मानोदेवी मण्डल, शंकर मण्डल, जयनारायण मण्डल, आरतीदेवी मण्डल, दर्शन मण्डल, जगन्नाथ मण्डल, नारायण मण्डल, भिरालाल मण्डल, अन्जुदेवी मण्डल, सोङ्कर मण्डल, नरेश मण्डललगायतका नेता तथा कार्यकर्ता रहेका छन्।
त्यसैगरी नेकपा माओवादी केन्द्रबाट जोगेन्द्रप्रसाद मण्डल, अशोक मण्डल र अम्बिका देवी मण्डल तथा नेपाली कांग्रेसबाट सञ्जीव मण्डललगायतका कार्यकर्ता पनि रास्वपामा आबद्ध भएका छन्।
पार्टी प्रवेशपछि जसपा नेपालका पूर्व केन्द्रीय सदस्य तथा रंगेली नगर अध्यक्ष नरेशकुमार मण्डलले पुरानै राजनीतिक शैलीबाट जनताको अपेक्षा पूरा गर्न कठिन हुँदै गएको बताए। लामो समय राजनीतिक दलमा रहेर काम गर्दा जनताको अपेक्षा र स्थानीय समस्यालाई नजिकबाट बुझ्ने अवसर पाएको भन्दै उनले नयाँ राजनीतिक विकल्पको आवश्यकता महसुस गरेर रास्वपामा आबद्ध भएको बताए।
त्यस्तै, नेपाली कांग्रेसबाट रास्वपामा प्रवेश गरेका सञ्जीव मण्डलले आफ्नो राजनीतिक अनुभवलाई नयाँ यात्रामा प्रयोग गर्ने बताए। “पार्टी परिवर्तन गर्नु मात्र हाम्रो उद्देश्य होइन। जनताको आवाजलाई प्राथमिकतामा राखेर काम गर्ने राजनीतिक संस्कार आवश्यक छ। यही अपेक्षासहित रास्वपामा आबद्ध भएका हौँ,” उनले भने।
कार्यक्रममा सहभागी रास्वपाका महाधिवेशन प्रतिनिधि गणेश आचार्यले विभिन्न दलबाट आएका नेता तथा कार्यकर्ताको प्रवेशले रंगेलीमा पार्टीको संगठनात्मक गतिविधिलाई थप विस्तार गर्न सहयोग पुग्ने बताए।
रंगेलीमा विभिन्न दलमा सक्रिय रहेका नेता तथा कार्यकर्ताको सामूहिक रूपमा रास्वपामा प्रवेशलाई स्थानीय राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।
कार्यक्रममा रास्वपाका मोरङ जिल्ला सभापति भरत कँडेल, महाधिवेशन प्रतिनिधि गणेश अर्याल, बजरङ्ग अग्रवाल, नगर सभापति हरेन्द्र बराल, वडा सभापति निरोज मण्डललगायत स्थानीय समाजसेवी, बुद्धिजीवी तथा पार्टीका नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो।


















