गुलेश्वरी प्राथमिक विद्यालयलाई लुम्बिनी विकास बैंकद्वारा कम्प्युटर तथा प्रिन्टर सहयोग

मोरङको सुनवर्षी नगरपालिका–५ स्थित गुलेश्वरी प्राथमिक विद्यालयलाई लुम्बिनी विकास बैंक लिमिटेड, रंगेली शाखाले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत कम्प्युटर तथा प्रिन्टर सहयोग गरेको छ।
रंगेली–७ स्थित बैंक शाखाले आयोजना गरेको कार्यक्रममा विद्यालयलाई एक थान कम्प्युटर र एक थान प्रिन्टर हस्तान्तरण गरिएको हो। बैंकका अध्यक्ष दुर्गेश रौनियारले विद्यालयको शैक्षिक तथा प्रशासनिक कार्यलाई सहज बनाउने उद्देश्यले करिब ४५ हजार रुपैयाँ बराबरका सामग्री उपलब्ध गराइएको जानकारी दिए।
कार्यक्रममा सुनवर्षी नगरपालिकाका शिक्षा अधिकृत बेगबहादुर काफ्लेले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि निजी क्षेत्रको सहयोग महत्वपूर्ण हुने बताए। उनले बैंकले उपलब्ध गराएको सामग्रीले विद्यालयको प्रशासनिक तथा शैक्षिक गतिविधिलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
त्यस्तै इन्जिनियर कमलेश्वर ठाकुरले प्रविधिमैत्री शिक्षण वातावरण निर्माणका लागि कम्प्युटर तथा प्रिन्टरजस्ता सामग्री आवश्यक रहेको बताए। वडा अध्यक्ष योगेश्वर ठाकुरले विद्यालयको आवश्यकता पहिचान गरी प्रदान गरिएको सहयोगले विद्यालयलाई ठूलो राहत पुगेको उल्लेख गर्दै सामुदायिक विद्यालयको विकासका लागि स्थानीय सरकार, निजी क्षेत्र र समुदायबीच सहकार्य आवश्यक रहेको धारणा राखे।
विद्यालयका प्रधानाध्यापक प्रदीप यादवले कम्प्युटर तथा प्रिन्टरको अभाव रहेको अवस्थामा प्राप्त सहयोगले विद्यालयको दैनिक प्रशासनिक तथा शैक्षिक कार्य सञ्चालनमा सहजता ल्याउने बताए। विगतमा विभिन्न कामका लागि अन्यत्र जानुपर्ने बाध्यता रहेको स्मरण गर्दै उनले अब धेरै काम विद्यालयमै सम्पन्न गर्न सकिने बताए। साथै विद्यालयको आवश्यकता बुझेर सहयोग गरेकोमा उनले लुम्बिनी विकास बैंकप्रति आभार व्यक्त गरे।
कार्यक्रममा शाखा प्रमुख दुर्गेश रौनियार, कर्मचारी सन्तोष मेहता, छविलाल पोखरेल, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभावक, समाजसेवी तथा स्थानीय बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो। सहभागी वक्ताहरूले सामुदायिक विद्यालयको शैक्षिक सुधारमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको धारणा व्यक्त गरेका थिए।
सोही अवसरमा विद्यालयको तर्फबाट बैंकका अध्यक्ष दुर्गेश रौनियारलाई सम्मानपत्रसहित सम्मान गरिएको थियो। विद्यालय व्यवस्थापन समितिले प्राप्त सामग्रीले विद्यालयको सेवा प्रवाह तथा शिक्षण–सिकाइ प्रक्रियामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै बैंकप्रति धन्यवाद ज्ञापन गरेको थियो।











