रास्वपामा गुटगत राजनीति हावी भएको आरोप लगाउँदै गोमा तामाङ सलिनद्वारा पार्टी परित्याग

काठमाडौं, – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तथा कोशी प्रदेश सभापति पदकी प्रत्याशी गोमा तामाङ सलिनले पार्टी परित्याग गरेकी छन्। कोशी प्रदेश अधिवेशनमा सभापति पदमा पराजित भएपछि उनले सामाजिक सञ्जालमार्फत पार्टी र राजनीतिबाट बिदा भएको घोषणा गरेकी हुन्।
तामाङले फेसबुकमा लेखेकी छन्, “आजदेखि राजनीतिबाट बिदा मारेँ। मतदाता सम्पूर्ण साथीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु।”
कोशी प्रदेश अधिवेशनमा सभापति पदका उम्मेदवार चन्द्र राई २८० मतसहित विजयी भएका छन् भने तामाङले १४१ मत प्राप्त गरिन्। अन्य प्रत्याशी खगेन्द्र कटुवालले ४१ र चन्द्रकुमार गौलीले २७ मत प्राप्त गरेका थिए।
निर्वाचनपछि तामाङले पार्टीभित्र गुटगत राजनीति मौलाएको आरोप लगाएकी छन्। आफूले इमानदार राजनीति गर्न खोजे पनि पार्टीभित्रको अवस्था सहन नसकेपछि पार्टी छाड्न बाध्य भएको उनको भनाइ छ।
खबरहबसँगको कुराकानीमा तामाङले भनिन्, “मलाई बदमासीको राजनीति गर्नु छैन। मैले बेइमानको राजनीति गर्न सकिनँ। हरेक पाइलामा गुटगत राजनीतिले खेदाएपछि मैले हार स्वीकारेँ।”
उनले निर्वाचन प्रक्रियामाथि प्रत्यक्ष रूपमा प्रश्न नउठाए पनि परिणाम केवल औपचारिक प्रक्रिया मात्र भएको संकेत गरेकी छन्। “निर्वाचन त प्रक्रिया मात्रै थियो। इमानको राजनीति हुँदाहुँदै बिदा भएँ,” उनले भनिन्।
रास्वपाको स्थापना कालदेखि सक्रिय रहेकी तामाङले कोशी प्रदेशमा पार्टी विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्। विशेषगरी आदिवासी जनजाति समुदायलाई पार्टीमा आबद्ध गराउन उनको उल्लेखनीय योगदान रहेको बताइन्छ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सुनसरी–१ बाट उम्मेदवार बनेकी तामाङले उल्लेखनीय मत प्राप्त गरेकी थिइन्। यद्यपि उनी स्वतन्त्र उम्मेदवार तथा हालका धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङसँग पराजित भएकी थिइन्।
पार्टीभित्र आदिवासी जनजाति समुदायको प्रतिनिधित्व, समानुपातिक समावेशिता तथा नेतृत्व चयन प्रक्रियाबारे उनले पटक–पटक असन्तुष्टि जनाउँदै आएकी थिइन्। निकटवर्तीहरूका अनुसार पछिल्लो समय पार्टीभित्र बढ्दो गुटगत प्रभावका कारण उनी असहज महसुस गर्दै आएकी थिइन्।
तामाङले तत्काल कुनै अन्य राजनीतिक दलमा जाने योजना नरहेको बताउँदै राजनीति नै छाड्ने निर्णय गरेको स्पष्ट पारेकी छन्। “इमानदार भएर राजनीति गर्ने मन थियो। बेइमानीहरूसँग सकिनँ,” उनले भनिन्।















