विश्वप्रकाशको ५ शीर्ष नेतालाई ध्यानाकर्षण पत्र, ७ बुँदे प्रस्तावमा चिया बैठकको प्रस्ताव

काठमाडौं – नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्मा ले पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधानका लागि संवाद र छलफल आवश्यक रहेको भन्दै पाँच जना वरिष्ठ नेताहरूलाई ध्यानाकर्षण पत्र पठाएका छन्।शर्माले डा. शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र डा. शशांक कोइराला लाई सम्बोधन गर्दै आफूले अघि सारेको ७ बुँदे प्रस्तावमाथि छलफल अघि बढाउन आग्रह गरेका हुन्।
उनले गत जेठ १६ गते निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का समक्ष उक्त प्रस्ताव पेश गरेको उल्लेख गरेका छन्। तर, प्रस्तावबारे एक सातासम्म कुनै छलफल नभएपछि जेठ २२ गते खड्कालाई भेटेरै धारणा बनाउन ध्यानाकर्षण गराएको शर्माको भनाइ छ।
शर्माका अनुसार, निरन्तर छलफलको प्रयास भइरहेकै बेला जेठ २४ गते खड्काले फेसबुकमार्फत संवाद नभइरहेको संकेत दिने गरी स्टाटस लेखेपछि आफू आश्चर्यचकित भएका थिए। त्यसपछि जेठ २६ गते उनले पाँचै वरिष्ठ नेतालाई ७ बुँदे प्रस्ताव ह्वाट्सएपमार्फत पठाएका थिए।
ध्यानाकर्षण पत्रमा शर्माले प्रस्तावबारे न छलफल भएको, न कुनै प्रतिक्रिया प्राप्त भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
‘आवेगबिना शान्त चित्तले अध्ययन गरौँ’
पत्रमा शर्माले पार्टीभित्र विवाद समाधानको लोकतान्त्रिक माध्यम भेटघाट, संवाद र लिखित प्रस्ताव भएको उल्लेख गर्दै प्रस्तावलाई शान्त र सकारात्मक ढंगले अध्ययन गर्न आग्रह गरेका छन्।
उनले प्रस्तावमा आवश्यक परिमार्जन, थपघट वा सुझावका लागि वरिष्ठ नेताहरूबीच चाँडै नै ‘चिया बैठक’ आयोजना हुने विश्वास व्यक्त गरेका छन्।
संस्थापन इतर समूहका एक नेताले विश्वप्रकाश शर्माले पठाएको ध्यानाकर्षण पत्र तथा ७ बुँदे प्रस्ताव प्राप्त भएको पुष्टि गरेका छन्।


















