आज : २०२६-०६-१४, आइतबार

दाना महँगो, दूध सस्तो : व्यवसाय जोगाउन संघर्षरत रंगेलीका पशुपालक किसान

मोरङ-  रंगेली क्षेत्रमा व्यावसायिक पशुपालन गर्दै आएका किसानहरूले उत्पादन लागत निरन्तर बढ्दै गए पनि दूधको मूल्य वर्षौंदेखि स्थिर रहँदा व्यवसाय संकटमा परेको बताएका छन्। दाना, पराल र हरियो घाँसको अभाव, महँगो उत्पादन लागत तथा सरकारी सहयोगको कमीका कारण पशुपालन व्यवसाय धरापमा पर्न थालेको उनीहरूको गुनासो छ।

सावित्री कृषि फर्मका सञ्चालक फडिन्द्र सुवेदीका अनुसार हाल किसानहरूले दूध प्रतिलिटर ५५ रुपैयाँमा बिक्री गर्न बाध्य छन्। तर उत्पादन लागतलाई आधार मान्दा प्रतिलिटर कम्तीमा ७० रुपैयाँ मूल्य हुनुपर्ने उनको भनाइ छ।

कृषकहरूका अनुसार गाईभैंसीका लागि अत्यावश्यक परालको अभाव बढ्दै गएको छ। धान तथा गहुँ भित्र्याएपछि खेतमै पराल जलाउने प्रवृत्तिका कारण पशुचौपायाका लागि आवश्यक आहार जुटाउन कठिन बन्दै गएको छ। अर्कोतर्फ दाना उद्योगी तथा व्यवसायीहरूले आफूखुसी मूल्य निर्धारण गर्दा लागत झन् बढिरहेको कृषक रूपनारायण निरौलाले बताए।

रंगेली क्षेत्रका अधिकांश व्यावसायिक कृषकहरूले २० देखि ३० वटा गाईभैंसी पालन गर्दै आएका छन्। उनीहरूले दैनिक १०० देखि २०० लिटरसम्म दूध उत्पादन गरे पनि उत्पादनअनुसार उचित प्रतिफल नपाउँदा व्यवसाय टिकाउन चुनौती थपिएको बताएका छन्।

सावित्री कृषि फर्मका सञ्चालक सुवेदीले सुरुमा खसीबाख्रा पालन गरे पनि मौसमी आम्दानीका कारण दुई वर्षअघि गाईपालन व्यवसायमा लागेको बताए। हाल उनको फर्ममा १५ वटा गाई छन् र दैनिक १०० देखि ११५ लिटरसम्म दूध उत्पादन हुन्छ। “उत्पादन लागतअनुसार मूल्य नपाउँदा व्यवसाय सञ्चालन गर्न गाह्रो भइरहेको छ,” उनले भने। सरकारले अनुदान तथा सहुलियत कार्यक्रम ल्याए पशुपालन व्यवसायलाई निरन्तरता दिन सहज हुने उनको अपेक्षा छ।

गृहणी लक्ष्मी कृषि फर्मका सञ्चालक चन्द्रबहादुर गौतमले ११ वर्षदेखि गाईपालन गर्दै आए पनि दूधको मूल्य नबढ्दा समस्या झन् गम्भीर बन्दै गएको बताए। “गाईको हेरचाहमा दैनिक चार हजार रुपैयाँसम्म खर्च हुन्छ, तर दूधको मूल्य उही छ। निकै संघर्ष गरेर परिवारको गुजारा चलाइरहेका छौं,” उनले गुनासो गरे।

कृषक हेमराज निरौलाले स्वदेशमै बसेर कृषि तथा पशुपालन गर्न चाहने युवाहरूलाई सरकारले विशेष सहुलियत र प्रोत्साहन दिनुपर्ने बताए। त्यस्तै कृषक रूपनारायण निरौलाले घाँस संरक्षणका लागि आवश्यक साइलेज बनाउने मेसिन सहुलियत दरमा उपलब्ध गराउन सरकारसँग माग गरे।

स्थानीय कृषकहरूका अनुसार पशुपालन व्यवसायले स्थानीय स्तरमा रोजगारी समेत सिर्जना गरिरहेको छ। गाईभैंसीको स्याहार, दूध संकलन तथा ढुवानीजस्ता कार्यमा स्थानीय युवाहरूले रोजगारी पाएका छन्। तर व्यवसायलाई दिगो बनाउन गोठ सुधार, घाँस खेती विस्तार तथा आधुनिक उपकरण खरिदका लागि सरकारी सहयोग अपरिहार्य रहेको उनीहरूको भनाइ छ।

सञ्जीवनी कृषि फर्मका सञ्चालक हेमचन्द्र अधिकारीले कृषि तथा पशुपालनमा लाग्न चाहने युवाहरूका लागि सरकारले विशेष प्रोत्साहन कार्यक्रम ल्याउनुपर्ने बताए। “सरकारले पर्याप्त अनुदान र सहुलियत उपलब्ध गराए युवाहरू विदेशिनु पर्दैन, बरु यहीँ बसेर व्यवसाय विस्तार गर्न सकिन्छ,” उनले भने।

कृषकहरूले प्रदेश सरकार तथा स्थानीय तहसँग घाँसको बीउ, कृषि सामग्री तथा पशुपालन प्रवर्द्धनका कार्यक्रम नियमित सञ्चालन गर्न माग गरेका छन्। उनीहरूका अनुसार प्रारम्भिक वर्षहरूमा केही अनुदान प्राप्त भए पनि पछिल्ला वर्षहरूमा सहुलियत नपाउँदा व्यवसाय सञ्चालन झन् कठिन बनेको छ।

सरकारले दूध उत्पादनमा आत्मनिर्भर बन्ने नीति अघि सारेको चर्चा भइरहेका बेला रंगेलीका पशुपालक किसानहरू भने उत्पादन लागत र बिक्री मूल्यबीचको असन्तुलनका कारण व्यवसाय नै छाड्नुपर्ने अवस्था आउन सक्ने भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराइरहेका छन्