आज : २०२६-०६-०५, शुक्रबार

रंगेलीमा अत्याधुनिक शीतभण्डार निर्माण अन्तिम चरणमा, कृषि क्षेत्रमा नयाँ आशा

 मोरङको रंगेलीमा निर्माणाधीन अत्याधुनिक शीतभण्डार (कोल्डस्टोरेज) परियोजना अन्तिम चरणमा पुगेको छ। लामो समयदेखि शीतभण्डारको अभाव झेल्दै आएका स्थानीय किसानका लागि यो परियोजना कृषि उत्पादन संरक्षण तथा बजार व्यवस्थापनमा महत्वपूर्ण उपलब्धि बन्ने अपेक्षा गरिएको छ।

कोशी प्रदेश सरकारको साझेदारीमा निर्माण भइरहेको उक्त कोल्डस्टोरेजका लागि प्रारम्भिक लागत अनुमान ७ करोड ४ लाख ४ हजार १३४ रुपैयाँ गरिएको थियो। तर ठेक्का प्रक्रिया मार्फत दाप्सा सिम्पाने जेभी, चार्लीकोट दोलखासँग ४ करोड ९६ लाख ६६ हजार ४५८ रुपैयाँमा सम्झौता भएको थियो। निर्माण कम्पनीले म्याद थप माग गरेपछि परियोजनाको लागत करिब ५० लाख रुपैयाँले वृद्धि भएको जनाइएको छ।

रंगेली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप कुमार साहका अनुसार निर्माण कार्य अन्तिम चरणमा पुगेको छ र आगामी असारभित्र सञ्चालन प्रक्रिया अघि बढाइने तयारी गरिएको छ। उनका अनुसार शीतभण्डारको कुल भण्डारण क्षमता ६ सय मेट्रिकटन रहेको छ।

साहले नयाँ संरचनामा आधुनिक प्रविधिको प्रयोग गरिएको जानकारी दिँदै पुराना शीतभण्डारमा जस्तो एउटै हलमा सबै सामग्री राख्नुपर्ने बाध्यता नरहेको बताए। “यस शीतभण्डारमा तीन कम्पार्टमेन्टभित्र छ वटा छुट्टाछुट्टै चेम्बर निर्माण गरिएको छ। आवश्यकताअनुसार एउटा मात्र चेम्बर सञ्चालन गरेर बाँकी बन्द राख्न सकिने भएकाले सञ्चालन खर्चमा उल्लेख्य बचत हुनेछ,” उनले भने। प्रत्येक चेम्बरको क्षमता ५० मेट्रिकटन रहेको छ।

रंगेली–७ का कृषक रामनरेश महतोले उत्पादन भएको तरकारी तत्काल बिक्री गर्न नसक्दा विगतमा ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको स्मरण गर्दै शीतभण्डार सञ्चालनमा आएपछि उत्पादन सुरक्षित राख्न र उचित मूल्यको प्रतीक्षा गर्न सहज हुने विश्वास व्यक्त गरे।

लामो समयदेखि अधुरो रहेको शीतभण्डार परियोजना सम्पन्न हुने चरणमा पुगेपछि रंगेली तथा आसपासका क्षेत्रका किसानहरू उत्साहित बनेका छन्। कृषि उत्पादनको संरक्षण, मूल्य स्थिरता तथा बजार व्यवस्थापनमा यसले महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।