उज्यालो नेपाल पार्टी प्रवास कमिटी कुवेतको नयाँ कार्यसमिति सर्वसम्मत चयन

कुवेत -उज्यालो नेपाल पार्टी प्रवास कमिटी कुवेतको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। शुक्रबार कुवेतको फर्वानियामा आयोजित विशेष भेलाले महेश लामाको संयोजकत्वमा २५ सदस्यीय प्रवास कमिटी गठन गरेको हो।
प्रवास विभाग प्रमुख उमेश कुमार पुडासैनी को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न राजनीतिक दल तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
भेलामा श्रम संस्कृति प्रवासी पार्टीकी अध्यक्ष इन्दिरा राई, उपाध्यक्ष पवल राई, उदयपुर मिलिजुली समाजका सचिव रमेश बि.क., नेपाली कांग्रेस रुपन्देहीका क्षेत्रीय प्रतिनिधि मोहम्मद इलियास तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास सम्पर्क विभाग प्रमुख मोहन लुइँटेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
नवनिर्वाचित संयोजक महेश लामा ले आफूलाई विश्वास गरी जिम्मेवारी प्रदान गर्ने सम्पूर्ण सदस्य, अतिथि तथा सहयोगीप्रति आभार व्यक्त गर्दै प्रवासी नेपालीहरूको हकहित, अधिकार र पार्टीका एजेन्डालाई प्रवासमा थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
भेलाले आगामी दिनमा संगठन विस्तार, प्रवासी नेपालीका समस्या समाधान तथा पार्टीको गतिविधिलाई कुवेतमा थप सशक्त बनाउने लक्ष्यसहित नयाँ कार्यसमितिलाई जिम्मेवारी प्रदान गरेको जनाएको छ।
















