१५ दिन बित्दा पनि घरमाथि खसेको वरको रुख हटेन, पीडितको गुनासो

मोरङ- सुनवर्षी नगरपालिका–५ रमनपुर नजिक रहेको करिब ५० वर्ष पुरानो वरको रुख हावाहुरीका कारण स्थानीय विजयकुमार दासको घरमाथि खसेको १५ दिन बितिसक्दा पनि हटाउन पहल नभएको भन्दै पीडित परिवारले गुनासो गरेका छन्।
पीडित दासका अनुसार रुख घरको छानामाथि खसेपछि घरको छानो क्षतिग्रस्त भएको छ भने वर्षायाम सुरु भएसँगै पानी चुहिने समस्या बढेको छ। उनले सम्बन्धित वडा कार्यालय र नगरपालिकालाई जानकारी गराए पनि हालसम्म कुनै ठोस कदम नचालिएको बताए।
“यदि रुख सार्वजनिक बाटोमा खसेको भए तत्काल हटाएर आवतजावत सहज बनाइन्थ्यो होला, तर मेरो घरमाथि खसेको रुख भने अहिलेसम्म हटाइएको छैन,” दासले दुखेसो पोख्दै भने।
यस विषयमा टेलिफोनमार्फत प्रतिक्रिया दिँदै सुनवर्षी नगरपालिकाका नगर प्रमुख श्याम राजवंशीले उक्त घटनाबारे आफूलाई शुक्रबार मात्रै जानकारी भएको बताए। उनले सार्वजनिक सडकमा रुख ढलेको अवस्थामा नगरपालिका आफैंले हटाउने जिम्मेवारी लिने भए पनि निजी घरमा ढलेको अवस्थामा घरधनीले नै पहल गर्नुपर्ने धारणा राखे।
नगर प्रमुख राजवंशीले जनप्रतिनिधिहरूको समन्वयमा रुख कटान तथा हटाउने काम अघि बढाइए त्यसमा लाग्ने खर्च नगरपालिका व्यहोर्न तयार रहेको पनि बताए। “सानोतिनो कुरा सबै नगरपालिकाले मात्रै गर्न सम्भव हुँदैन,” उनले भने।
स्थानीय भालेश्वरप्रसाद दासले भने आफूले नगर प्रमुखलाई फोन गरेर समस्या जानकारी गराउँदा “जनताको घरमा परेको हो भने आफैंले व्यवस्थापन गर्नुपर्छ” भन्ने जवाफ पाएको दाबी गरे।
घरमाथि खसेको विशाल वरको रुखका कारण परिवार त्रासपूर्ण अवस्थामा बस्न बाध्य भएको छ। पीडित परिवारले तत्काल रुख हटाइ घर सुरक्षित बनाउने व्यवस्था मिलाइदिन सम्बन्धित निकायसँग माग गरेका छन्।

















