News Portal

डलरको भाउ बढ्दा आयल निगमलाई मासिक ६० करोड घाटा

हिमाली संचार संवाददाता
५८६ पटक

२ भदौ, काठमाडौं । नेपाल आयल निगमले अमेरिकी डलरको भाउ बढ्दै गएकाले पेट्रोलियम पदार्थको आयातमा करोडौं घाटा व्यहोर्नुपर्ने अवस्था आएको जनाएको छ । डलरको विनिमयदरमा एक रुपैयाँ प्रति डलर वृद्धि हुँदा मात्रै पनि मासिक करिव १५ करोड अतिरिक्त भार थपिने दावी निगमले गरेको छ ।

पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजार मूल्यसँग समायोजन गरिए पनि निरन्तर उकालो लागिरहेको डलरका कारण मासिक ६० करोड लागत भार थपिएको नेपाल आयल निगमका प्रवक्ता विरेन्द्र गोइतले बताए । पछिल्लो दुई महिनामा डलरको नेपाली विनिमयदर ४ डलर बढेको छ ।

अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार समायोजन गरिए पनि अमेरिकी डलरसँग भारतीय मुद्रा (भारु) र नेपाली मुद्रा कमजोर हुँदै गएकाले घाटा बढ्ने निगमको प्रक्षेपण छ । पेट्रोलियम पदार्थको आयातमा नेपाल भारतसँग निर्भर छ र डलरसँग भारतीय मुद्रा समेत कमजोर हुँदै गएको छ ।

डलरको भाउ बढेपछि भारतीय आयल कर्पोरेशन (आईओसी)ले पनि मूल्य समायोजन गरेर नेपाल आयल निगमलाई पत्र पठाएको छ । अगष्ट १ र १६ तारिखमा आईओसीबाट प्राप्त पत्रअनुसार १५ दिनमा करिब २५ करोड घाटा व्यहोर्नुपर्ने देखिएको गोइतले बताए ।

उनका अनुसार कुल कारोबारको ८० प्रतिशत हिस्सा आगटेको डिजेलमा प्रतिलिटर २ रुपैयाँ ३६ पैसा र एल.पी. ग्यासमा प्रतिसिलिण्डर २८० रुपैयाँ ६४ पैसा घाटा व्यहोर्दै आएकोमा हवाई इन्धनबाट हुने केही मुनाफाले घाटा घटाएको छ ।

हवाई इन्धनमा अर्धमासिक ११.३५ प्रतिशत निगमलाई मुनाफा हुन्छ । तर आईओसीको नयाँ मूल्य अनुसार डिजेल र एलपी ग्यासमा मात्रै १५ दिनमा झण्डै ५० करोड घाटा हुने प्रवक्ता गोइतले जानकारी दिए ।

पछिल्लो पटक साउन ३ गते समायोजन गरिएको नयाँ मूल्यअनुसार सबैभन्दा बढी एलपी ग्यासमा १५ दिनमा २०.४१ प्रतिशत घाटा हुने स्थिति रहेको उनले बताए ।

नेपालमा सस्तो हुँदा भारततर्फ तस्करी !

भारतमा भन्दा नेपालमा इन्धन सस्तो हुँदा सीमा क्षेत्रमा तस्करी हुने गरेको छ । वीरगञ्ज-रक्सौल नाकामा पेट्रोल प्रतिलिटर २४.९७ र डिजेल २७.३३, रुपैयाँ छ । पानीट्यांङ्की-काँकडभिट्टा नाकामा पेट्रोल प्रतिलिटर १९.८९, डिजेल प्रतिलिटर २३.२५ पैसा नेपालतर्फ नै इन्धनको मूल्य सस्तो छ ।

यस्तै जोगबनी-वीराटनगर नाकामा पेट्रोल प्रतिलिटर २६.१७, डिजेल २९.९, जलेश्वर-भित्तामोड नाकामा पेट्रोल २६.१७, डिजेल २८.४२, सुनौली-भैरहवामा पेट्रोल १६.९७, डिजेल १९.६६, रुपैडिया-नेपालगन्ज नाकामा पेट्रोल १६.८६, डिजेल १९.६६ र गौरीफन्टा-धनगढी नाकामा पेट्रोल १६.७९, डिजेल १९.६० पैसा प्रतिलिटर नेपालतर्फ सस्तो रहेको प्रवक्ता गोइतले जानकारी दिए ।

नेपालतर्फ सस्तो हुँदा खुला सीमाका कारण भारततर्फ तस्करी हुने र व्यवस्थापन चुनौतिपूर्ण हुनसक्ने खतरा निगमले औंल्याएको छ ।

खपत बढ्यो, भण्डारण क्षमता बढेन

निगमले इन्धन भण्डारण क्षमता कमजोर रहेको गुनासो छ । दिनप्रतिदिन पेट्रोलियम पदार्थको खपत बढ्दै गएको भन्दै निगमले तत्काल भण्डारण क्षमता बढाउनुपर्ने जनाएको छ । वि.स. २०७२ असोजमा संविधान जारी भएपश्चात भारतले नाकाबन्दी लगाउँदा नेपालमा पेट्रोलियम पदार्थको हाहाकार मच्चिएको थियो ।

त्यस बेलादेखि नै इन्धन भण्डारणका विषयमा बहस हुँदै आएपनि प्रगति देखिएको छैन । भौगोलिक कारणले पनि एक-दुई दिन मात्रै पेट्रोलियम पदार्थको आयात तथा ढुवानी रोकिए आपूर्ति व्यवस्थापन चुनौतिपूर्ण हुने स्थिति विद्यमान छ । काठमाडौंसहित विराटनगर, नेपालगन्ज, जनकपुर, अम्लेखगन्ज, भैरहवा, धनगढी, सुर्खेत र दिपायलमा निगमले पेट्रोलियम पदार्थ भण्डारण गर्दै आएको छ ।

निगमका अनुसार हाल पेट्रोल ५ दिन, डिजेल करिब ८ दिन र हवाई इन्धन करिब १० दिनका लागि स्टक गर्न सकिने अवस्था छ । अझ खाना पकाउने एल.पी. ग्यास त भण्डारण नै हुने गरेको छैन । आयातित इन्धनको उपभोग बढ्दै जाँदा भण्डारणतर्फ पनि ध्यान दिन निगमले सरकारको ध्यानाकर्षण गराएको छ । आर्थिक वर्ष २०७३/७४ भन्दा गत आर्थिक वर्ष २०७४/७५ मा २० प्रतिशतले पेट्रोलियम पदार्थको बिक्री बढेको निगमले जनाएको छ ।

हेर्नुहोस् पछिल्लो दुई आर्थिक वर्षको तथ्यांक

आ.व.पेट्रोल(कि.ली.)डिजेल (कि.ली.)मट्टितेल (कि.ली.)हवाई इन्धन (कि.ली.)एल.पी.जी. (मे.टन)
२०७४/७५४, ८४७८११५, ९७, ५५१२२, ३१११, ९४, ३५८३,७०, ५६०
२०७३/७४४,०२,२७८१२,९७,०६६१९,४५९१,६४,२९९३,१२,९२८
बिक्री वृद्धि२० प्रतिशत२३ प्रतिशत१५ प्रतिशत१८ प्रतिशत१८ प्रतिशत
स्रोतः नेपाल आयल निगम

 

प्रतिकृया दिनुहोस्

देउवा दम्पतीमाथि पक्राउ आदेश जारी

काठमाडौं, चैत २५ — हिमाली सञ्चार संवाददाताका अनुसार पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा र उनकी पत्नी...

आज २०८२ साल चैत २५ गतेको राशिफल

आज चैत २५, २०८२ ( अप्रिल ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेलीमा आगलागीबाट तीन घर जलेर नष्ट

रविन्द्र बराल –मोरङको रङ्गेली नगरपालिका–९, फर्साडाँगीस्थित शान्तिटोलमा मंगलबार दिउँसो भएको आगलागीबाट तीन वटा घर जलेर...

आवश्यक परे सवारीमा जोर–बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारले थप कडाइका उपायहरू...

पेट्रोलियम पदार्थको आयातमा कर छुट : मूल्य नियन्त्रणका लागि सरकारको कदम

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको बढ्दो मूल्यलाई नियन्त्रणमा राख्ने उद्देश्यले सरकारले आयातमा लाग्ने करमा...