News Portal

  • कुवेतमा खद्दामाको काम गर्ने सविता आमा भएर फर्किइन्

    हिमाली संचार संवाददाता
    ५४९ पटक

    सन्जिता देवकोटा
    ‘सबिता तिमी तयार हौ है, तिमीले काम पायौ, तिमीलाई लिन आएका छन्,’ कुवेतमै रहेकी नेपाली एजेन्टले सबिता राईलाई बोलाइन् । घरबाट विदेश हिँडेको एक महिनापछि काम पाएकोमा मोरङकी सबिता फुरुँग हुनुभयो । नयाँ लुगा लगाउनुभयो । झोलामा सबै लुगाफाटा हालेर हतारिंदै निस्कनुभयो, कोठाबाट बाहिर ।

    बाहिर अर्कै खालका मान्छे थिए । शरीरमा कालो लुगा, त्यो पनि शीरदेखि पाउसम्म ढाक्ने खालको । केटा हुन् कि केटी छुट्याउनै मुश्किल । यसअघि आफूले कहिल्यै नदेखेको लुगा लगाएका मानिस पो लिन आएछन् । आफूलाई लिन आएका मानिस देखेपछि सबिताको मनमा चिसो पस्यो ।

    उनीहरुले के बोले, बुझ्नुभएन । उनीहरुले गाडीमा बस्न इसारा गरे । गाडीतिर लम्किँदै गर्दा दुईमध्ये एक महिलाले कुवेतमा आफूलाई काम खोजीदिने नेपाली महिलालाई पैसाको बिटो दिए । त्यसपछि सबिताको पाइला रोकियो ।

    ‘आफ्नै आँखा अगाडि पैसा दिएको देख्दा कस्तो नराम्रो लाग्यो, गाउँमा बस्तुभाउ किनेझैं गरेर पैसा दिएको देख्दा डरले खुट्टा लुगलुग काँप्यो, मलाई त नेपालीले नै बेचिहाले अब लगेर मार्ने हुन् कि झैं लाग्यो,’ सबिताले कुवेतमा आफू बेचिँदाको क्षण सुनाउनुभयो ।

    त्यो क्षण सबिताले आफूलाई जीवनमै पहिलो पटक पशुसँग तुलना गर्नुभयो । ‘मलाई त घरका गाईबाख्रा बेचेझैं बेचिदिए भनेर रुन मन लाग्यो’ सबिताको आँखा रसाए। त्यो बेला मात्रै सबितालाई बन्द आँखाले दलालमाथि गरेको विश्वास र विदेशमा धेरै कमाइ हुने लोभले गाउँमा छाडेको जागिर सम्झेर पछुतो लाग्यो ।
    साहुनीले आफ्नै आँखा अगाडि पैसाको बिटो दिएको देखेपछि सबिताले आफ्ना सपना र सुखका दिन सकिएको अड्कल काट्नुभएको थियो । सुरुवाती दिनमा भाषा र काम नजान्दा दुःख त भयो, तर सबिताको मेहनत र सघर्षले उहाँलाई खद्दामा (काम गर्ने मानिस, घरेलु कामदार) बाट कुवेतमा आमा बनायो ।

    खद्दामाबाट आमा !

    सबिताले काम गर्ने घरमा साहु थिएनन् । पाँच जनाको परिवार थियो । तीन छोरी । सात वर्षका एक छोरा र साहुनी । उहाँले त्यो घरमा काम गर्न थालेपछि साहुनीकी जेठी छोरीको बिहे भयो । साहुनी काममा जाने भएकाले घरको व्यवस्थापनदेखि सानो छोराको जिम्मा सबिताकै थियो ।

    ‘मेरो नाम सबिता भए पनि मलाई त्यहाँ सबिता भन्न नजानेर सनिता भन्ने, साहुनीको बुढा बितेको रहेछ, मैले राम्रोसँग घर सम्हाल्दै गएपछि साहुनीले मलाई तिमी चाहिँ यो घरको बाबा म चाहिँ मामा भन्थिन्,’ सबिता काम गर्दा साहुनीले गरेको माया सम्झनुहुन्छ ।
    दुई तलाको घरको रेखदेख र खटनपटन सबिताकै भयो । घरका बालबच्चा सबितासँग नै धेरै रमाए । ‘सनिता अप भन्ने, साहुनीको छोरो र जेठी छोरीको बच्चा जन्मिए पछि त मैले मलाई त्यो घर आफ्नै जस्तो लाग्यो,’ सबिता भन्नुहुन्छ, ‘मैले त बिस्तारै आफ्नो गाउँघर र बुवाआमा नै भुलेकी थिएँ ।

    काम र भाषा जानेपछि सबितालाई साहुको घरमा माया र इज्जत मिल्यो । कामदार भए पनि सबिता घरको आमा हुनुभयो । तर उहाँलाई साहुनीले मायाले आमाको दर्जा दिएकी होइनन् । उहाँको व्यवहार, संघर्ष र कामले नै विश्वास बढायो ।

    ‘पछिपछि त त्यो घर मेरै इशारामा चल्थ्यो, २/४ वर्षपछि मलाई म त्यो घरमा कामदार हुँ भन्ने लाग्न छाडेको थियो,’ घरेलु कामको सुखद अनुभुति सुनाउनुहुन्छ, सबिता।

    घरमा आउन उहाँलाई रोकछेक थिएन । सुरुवाती दिनहरुमा ४० अर्थात झण्डै १० हजार रुपैयाँ थियो मासिक तलब । वर्षहरु बढ्दै जाँदा तलब पनि बढ्दै गयो । सबिताको पनि काम र साहुको घरसँग माया बस्दै गयो । आठ वर्ष त पत्तै नपाइ बित्यो ।

    आठ वर्षको अवधिमा उहाँ तीन पटक घर आवतजावत गर्नुभयो । आठौं वर्षमा तेस्रो पटक घर बिदामा आएपछि भने उहाँलाई फर्किन मन लागेन ।

    विदेशबाट घर आउँदा बाटोमै भेटिए जीवनसाथी !

    आठ वर्ष विदेशमा बस्दा र तीन पटक आवतजावत गर्दा जीवनमा धेरै कुरा मिल्यो । यो  अबधिमा कति कमाएँ भन्ने हिसाब छैन उहाँसँग । तर घरको चुल्हो उहाँकै कमाइले बल्यो । बहिनीहरुले सुखैले पढ्न पाए । अलिअलि जग्गा पनि जोड्नुभयो । अनि जीवनसाथी पनि भेट्नुभयो ।

    ‘म दोस्रो पटक छुट्टीमा आउँदा नाइट बस चढेर घर गएकी थिएँ, त्यो बेला श्रीमानसँग भेट भएको हो, उहाँ गाडी चलाउनुहुन्थ्यो, चिनजान भयो, पछि बिहे पनि गर्यौं,’ सबिता सुनाउनुहुन्छ । घर बिदामा आउँदा गाडीमा भेटिएका चालकसँग बसेको माया सबिता विदेश छँदा पनि मरेन । मायामा छँदा सबितालाई लागेको थियो – कतै परिवारले नमान्ने हो कि !

    जातभातका कुरा गर्लान् भन्ने डर थियो । राई परिवारकी छोरीलाई सप्तरीका मण्डल परिवारले बुहारीका रुपमा स्वीकार गर्ने हुन् कि होइनन् भन्ने चिन्ता थियो । तर त्यसो भएन । परिवारकै सहमतिमा विदेशबाट फर्किएको एक वर्षपछि २०६९ सालमा लगन गाँठो कस्नुभयो ।

    बिहेपछि पनि श्रीमानले गाडी चलाए  । सबिताले घर चलाउनुभयो । श्रीमानका बुवाआमा बितिसकेका थिए । यता सबिताको माइतमा दाजुभाइ नभएकाले बुवाआमा र बहिनीहरुकोे जिम्मेवारी उहाँकै काँधमा थियो । त्यसैले उहाँ माइतीनै बस्नुभयो । त्यसमा श्रीमानको पनि सहयोग थियो ।

    भूकम्पपछि भारतको नाकाबन्दीको असर गाडीमा पनि पर्‍यो । गाडीबाट राम्रो आम्दानी नभएपछि घरसल्लाहमै सविताका श्रीमान् पैसा कमाउन साउदी लागे ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    कुलिङ पिरियड प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने गगन थापाको माग

    काठमाडौं, असार १७ – निजामती सेवा सम्बन्धी विधेयकमा देखिएको विवादका कारण प्रतिनिधिसभाको गरिमा र सांसदहरूको...

    एनसीसी लगायतका विषयमा एनआरएनएले औपचारिक धारणा सार्वजनिक गर्दै

    काठमाडौं, असार १७ – गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) ले पछिल्लो...

    कुलिङ पिरियड प्रावधानमा अनधिकृत हेरफेर : सांसद शाहीको कडा आपत्ति, दोषीलाई कारबाहीको माग

    काठमाडौं, असार १७ – निजामति सेवा विधेयकमा राखिएको ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्था अनधिकृत रूपमा फेरबदल...

    तीन बालिका तस्करीको प्रयासमा चार जना पक्राउ

    बुटवल, असार १७ – भारतसँग सिमाना जोडिएको रूपन्देही जिल्लाबाट तीन नाबालिकालाई तस्करी गरी भारत लैजान...

    मकवानपुरमा कोइला लोड भएको ट्रक पल्टिँदा चालकको ज्यान गयो, सहचालक अस्पतालमा उपचाररत

    मकवानपुर, असार १७ — पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे नजिकै मंगलबार बिहान कोइला...