
सन्जिता देवकोटा
‘सबिता तिमी तयार हौ है, तिमीले काम पायौ, तिमीलाई लिन आएका छन्,’ कुवेतमै रहेकी नेपाली एजेन्टले सबिता राईलाई बोलाइन् । घरबाट विदेश हिँडेको एक महिनापछि काम पाएकोमा मोरङकी सबिता फुरुँग हुनुभयो । नयाँ लुगा लगाउनुभयो । झोलामा सबै लुगाफाटा हालेर हतारिंदै निस्कनुभयो, कोठाबाट बाहिर ।
बाहिर अर्कै खालका मान्छे थिए । शरीरमा कालो लुगा, त्यो पनि शीरदेखि पाउसम्म ढाक्ने खालको । केटा हुन् कि केटी छुट्याउनै मुश्किल । यसअघि आफूले कहिल्यै नदेखेको लुगा लगाएका मानिस पो लिन आएछन् । आफूलाई लिन आएका मानिस देखेपछि सबिताको मनमा चिसो पस्यो ।
उनीहरुले के बोले, बुझ्नुभएन । उनीहरुले गाडीमा बस्न इसारा गरे । गाडीतिर लम्किँदै गर्दा दुईमध्ये एक महिलाले कुवेतमा आफूलाई काम खोजीदिने नेपाली महिलालाई पैसाको बिटो दिए । त्यसपछि सबिताको पाइला रोकियो ।
‘आफ्नै आँखा अगाडि पैसा दिएको देख्दा कस्तो नराम्रो लाग्यो, गाउँमा बस्तुभाउ किनेझैं गरेर पैसा दिएको देख्दा डरले खुट्टा लुगलुग काँप्यो, मलाई त नेपालीले नै बेचिहाले अब लगेर मार्ने हुन् कि झैं लाग्यो,’ सबिताले कुवेतमा आफू बेचिँदाको क्षण सुनाउनुभयो ।
त्यो क्षण सबिताले आफूलाई जीवनमै पहिलो पटक पशुसँग तुलना गर्नुभयो । ‘मलाई त घरका गाईबाख्रा बेचेझैं बेचिदिए भनेर रुन मन लाग्यो’ सबिताको आँखा रसाए। त्यो बेला मात्रै सबितालाई बन्द आँखाले दलालमाथि गरेको विश्वास र विदेशमा धेरै कमाइ हुने लोभले गाउँमा छाडेको जागिर सम्झेर पछुतो लाग्यो ।
साहुनीले आफ्नै आँखा अगाडि पैसाको बिटो दिएको देखेपछि सबिताले आफ्ना सपना र सुखका दिन सकिएको अड्कल काट्नुभएको थियो । सुरुवाती दिनमा भाषा र काम नजान्दा दुःख त भयो, तर सबिताको मेहनत र सघर्षले उहाँलाई खद्दामा (काम गर्ने मानिस, घरेलु कामदार) बाट कुवेतमा आमा बनायो ।
खद्दामाबाट आमा !
सबिताले काम गर्ने घरमा साहु थिएनन् । पाँच जनाको परिवार थियो । तीन छोरी । सात वर्षका एक छोरा र साहुनी । उहाँले त्यो घरमा काम गर्न थालेपछि साहुनीकी जेठी छोरीको बिहे भयो । साहुनी काममा जाने भएकाले घरको व्यवस्थापनदेखि सानो छोराको जिम्मा सबिताकै थियो ।
‘मेरो नाम सबिता भए पनि मलाई त्यहाँ सबिता भन्न नजानेर सनिता भन्ने, साहुनीको बुढा बितेको रहेछ, मैले राम्रोसँग घर सम्हाल्दै गएपछि साहुनीले मलाई तिमी चाहिँ यो घरको बाबा म चाहिँ मामा भन्थिन्,’ सबिता काम गर्दा साहुनीले गरेको माया सम्झनुहुन्छ ।
दुई तलाको घरको रेखदेख र खटनपटन सबिताकै भयो । घरका बालबच्चा सबितासँग नै धेरै रमाए । ‘सनिता अप भन्ने, साहुनीको छोरो र जेठी छोरीको बच्चा जन्मिए पछि त मैले मलाई त्यो घर आफ्नै जस्तो लाग्यो,’ सबिता भन्नुहुन्छ, ‘मैले त बिस्तारै आफ्नो गाउँघर र बुवाआमा नै भुलेकी थिएँ ।
काम र भाषा जानेपछि सबितालाई साहुको घरमा माया र इज्जत मिल्यो । कामदार भए पनि सबिता घरको आमा हुनुभयो । तर उहाँलाई साहुनीले मायाले आमाको दर्जा दिएकी होइनन् । उहाँको व्यवहार, संघर्ष र कामले नै विश्वास बढायो ।
‘पछिपछि त त्यो घर मेरै इशारामा चल्थ्यो, २/४ वर्षपछि मलाई म त्यो घरमा कामदार हुँ भन्ने लाग्न छाडेको थियो,’ घरेलु कामको सुखद अनुभुति सुनाउनुहुन्छ, सबिता।
घरमा आउन उहाँलाई रोकछेक थिएन । सुरुवाती दिनहरुमा ४० अर्थात झण्डै १० हजार रुपैयाँ थियो मासिक तलब । वर्षहरु बढ्दै जाँदा तलब पनि बढ्दै गयो । सबिताको पनि काम र साहुको घरसँग माया बस्दै गयो । आठ वर्ष त पत्तै नपाइ बित्यो ।
आठ वर्षको अवधिमा उहाँ तीन पटक घर आवतजावत गर्नुभयो । आठौं वर्षमा तेस्रो पटक घर बिदामा आएपछि भने उहाँलाई फर्किन मन लागेन ।
विदेशबाट घर आउँदा बाटोमै भेटिए जीवनसाथी !
आठ वर्ष विदेशमा बस्दा र तीन पटक आवतजावत गर्दा जीवनमा धेरै कुरा मिल्यो । यो अबधिमा कति कमाएँ भन्ने हिसाब छैन उहाँसँग । तर घरको चुल्हो उहाँकै कमाइले बल्यो । बहिनीहरुले सुखैले पढ्न पाए । अलिअलि जग्गा पनि जोड्नुभयो । अनि जीवनसाथी पनि भेट्नुभयो ।
‘म दोस्रो पटक छुट्टीमा आउँदा नाइट बस चढेर घर गएकी थिएँ, त्यो बेला श्रीमानसँग भेट भएको हो, उहाँ गाडी चलाउनुहुन्थ्यो, चिनजान भयो, पछि बिहे पनि गर्यौं,’ सबिता सुनाउनुहुन्छ । घर बिदामा आउँदा गाडीमा भेटिएका चालकसँग बसेको माया सबिता विदेश छँदा पनि मरेन । मायामा छँदा सबितालाई लागेको थियो – कतै परिवारले नमान्ने हो कि !
जातभातका कुरा गर्लान् भन्ने डर थियो । राई परिवारकी छोरीलाई सप्तरीका मण्डल परिवारले बुहारीका रुपमा स्वीकार गर्ने हुन् कि होइनन् भन्ने चिन्ता थियो । तर त्यसो भएन । परिवारकै सहमतिमा विदेशबाट फर्किएको एक वर्षपछि २०६९ सालमा लगन गाँठो कस्नुभयो ।
बिहेपछि पनि श्रीमानले गाडी चलाए । सबिताले घर चलाउनुभयो । श्रीमानका बुवाआमा बितिसकेका थिए । यता सबिताको माइतमा दाजुभाइ नभएकाले बुवाआमा र बहिनीहरुकोे जिम्मेवारी उहाँकै काँधमा थियो । त्यसैले उहाँ माइतीनै बस्नुभयो । त्यसमा श्रीमानको पनि सहयोग थियो ।
भूकम्पपछि भारतको नाकाबन्दीको असर गाडीमा पनि पर्यो । गाडीबाट राम्रो आम्दानी नभएपछि घरसल्लाहमै सविताका श्रीमान् पैसा कमाउन साउदी लागे ।
