
काठमाडौं। काठमाडौंबाट १ सय २६ किलोमिटर मात्रै टाढा, तर विकासका उज्याला किरणहरू अझै नपुगेको एउटा भूगोल। यो कुनै टाढाको कथा होइन, तर राज्यको आँखा नपरेको चेपाङ समुदायको यथार्थ हो। यहाँका बासिन्दाहरू शिक्षाबाट बञ्चित छन्।
विद्यालय टाढा छ, किताब किन्न पैसा छैन, अनि पढ्नुपर्ने समय जंगलमा फलफूल खोज्न बित्छ। शिक्षा पाउनका लागि तिर्नुपर्ने मूल्य यति भारी छ कि कतिपयले “पढ्न पैसा पर्दैन” भन्ने सुन्दा हाँसो होइन, आँसु झार्छन्।
मानिसहरूले चेपाङ भन्नासाथ “जंगली” सम्झन्छन्, “बनैमा बस्छन्” भनेर बुझ्छन्। तर उनीहरूको पनि सपना छन्, उनीहरूलाई पनि भविष्य देख्न मन छ। घरका छानाहरू फुसका भए पनि मनमा चाहनाहरू ठूला छन्। कसैले एउटा बाख्रा पाल्न चाहन्छ, कसैले आफ्ना छोराछोरीलाई स्कूल पठाउन। तर त्यहाँ अभावको भारी यति गह्रौँ छ की सपना पूरा गर्नु परीकथा जस्तै लाग्छ।
यो कथा केवल चेपाङहरूको मात्र होइन। यो हाम्रो शासन व्यवस्थाको कथा हो, जसले कतै ध्यानै दिएन। यो हाम्रो चेतनाको कथा हो, जसले चेपाङलाई हेर्ने दृष्टिकोण नै गलत बनायो। अब प्रश्न उठ्छ— यो कथा कहिले बदलिन्छ ? चेपाङहरू कहिले “जंगली” होइन, मेहनती नागरिकको रूपमा चिनिन्छन्। सपना देख्न पाइन्छ, तर सपनालाई यथार्थ बनाउन हात चाहिन्छ। हात तपाईंको, हाम्रो, सबैको।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
