News Portal

  • हिमालपारि मुस्ताङको गुमनाम दसैं

    सुन्दरकुमार थकाली
    १०८० पटक

    मुस्ताङ : हिमालपारि मुस्ताङमा आसन्न दसैं पर्व गुमनामजस्तै भएको छ । यहाँका आदिवासी जनजाति तथा दलित समुदायले यो पर्व आंशिक मात्र मनाउने गरेका छन् । अधिकांश हिन्दू धर्ममा आस्थावान जिल्ला भएकाले पनि दसै पर्वको रौनक नदेखिएको हो । तल्लो मुस्ताङका स्थानीयले भने दसैं पर्व मिश्रित रूपमा मनाउने गरेको पाइएको छ ।

    उपल्लो मुस्ताङमा लोहा, गुरुङ र विष्ट समुदायका मानिसको बस्ती छ, मध्य मुस्ताङमा पुरै हिमाली गुरुङ समुदायका मानिस छन्, त्यसमा न्यून संख्यामा दलित समुदाय पनि छ । यस्तै, तल्लो मुस्ताङमा भने मिश्रित बस्ती छ । जसमा थकाली समुदायकै बढी बाहुल्यता छ । घरपझोङ गाउँपालिकाको जोमसोममा थकाली, गुरुङ र दलित समुदाय छ भने ठिनी, स्याङ, छैरो, चिमाङ्मा थकाली समुदायको बाक्लो बस्ती छ । मार्फाली थकालीको मार्फामा पुख्र्यौली थलै हो ।

    थासाङको टुकुचेलगायत केही स्थानमा थकाली बस्ती छ । थासाङ गाउँपालिकामा थकालीका साथै दलित, मगर र अन्य समुदायको बस्ती छ । थासाङ क्षेत्र थकाली चारचनहरूको उद्गमस्थल पनि हो । यहाँ दलित समुदायका साथै अन्यको पनि बसोबास छ । समग्र जिल्लाकै हिसाबले तुलना गर्ने हो भने यहाँका ८० प्रतिशत मानिसले बुद्ध धर्म नै मूल रूपमा मनाएको पाइन्छ । अन्य समुदायले भने हिन्दू र क्रिस्चियन धर्मलाई आत्मसाथ गरिरहेका छन् । उपल्लो मुस्ताङ र मध्यमुस्ताङका आदिवासी समुदायले ल्होसार र यार्तुङ पर्व विशेष रूपमा मनाउने गरेका छन् । त्यस्तै, मुस्ताङको तल्लो क्षेत्र जोमसोमदेखि घाँसासम्मका स्थानीय थकालीहरूले फागुपूर्णिमा तोरन्ल पर्व विशेष पर्वका रूपमा मान्दै आइरहेका छन् ।

    देशभरि दसैं पर्वको रौनक तातिएका बेला हिमालपारि मुस्ताङमा भने यसको प्रभाव कम भएको हो । असत्यमाथि सत्यको विजय प्रतीकका रूपमा मनाइने यस पर्वमा देश विदेशमा रहेका नेपालीहरू घर फर्कन्छन् । पर्वका बेला आपसमा भेट हुने, मीठो खाने, राम्रो लगाउने, देवीदेवताको मठमन्दिरमा पुगेर बलि दिने पौराणिक चलनचल्ती छ । तर यो परम्परालाई मुस्ताङवासीले अनौपचारिक रूपमा मनाउने गरेको पाइएको छ । यहाँ दसैंको टीका लगाउने र शक्तिपीठमा गएर बलि दिने चलन पनि छैन । मुस्ताङमा कुनै हिन्दू धर्ममा लक्षित शक्तिपीठ छैनन् । केवल बुद्ध गुम्बा र स्तुफा सयौं छन् ।

    केही दिनअघि दसैं लक्षित मुस्ताङमा भित्रिएका भेडा च्यांग्राको बथान र सोह्रश्राद्ध तिथिमा आएका तीर्थालुको आगमनले दसैं पर्व नजिकिएको संकेत गरे तापनि घटस्थापनापछि यो माहोल सेलाएर गएको छ । जिल्लाका करिब १२ प्रतिशत दलित र ८ प्रतिशत अन्य समुदायले परम्परागत रूपमा दसैं पर्व मनाउने गरेको पाइएको छ । उनीहरू आफन्तकहाँ जाने, घरमै भए पनि चौपायाको बलि दिने र मान्यजनकहाँ पुगेर दसैं टीका ग्रहण गर्ने चलन छ ।

    यस्तै, दसैं पर्व आफ्नो समुदायको मुख्य पर्व नभए पनि घरपझोङ गाउँपालिका थाकपाच गाउँमा बसोबास गर्ने थकाली र जोमसोमका स्थानीयहरूले ऐतिहासिक ठिनी गाउँको कोतघरमा टीका ग्रहण गर्ने चलन छ । समाजका ज्येष्ठ नागरिक, गाउँ मुखिया आदिले टीका ग्रहण गर्न आउनेलाई आशीर्वाद दिने चलन रहेको जनमुक्ति युवा क्लब ठिनीका अध्यक्ष नरेन्द्र थकालीले जानकारी दिए । ‘ठिनी कोतघरमा दसैंको टीका लगाउने प्रचलन पुरानै हो, टीका थाप्न र मान्यजनबाट आशीर्वाद ग्रहण गर्न इच्छुक व्यक्तिहरू आउँछन्,’ उनले भने ।

    विजयादशमीको दिन ठिनी कोतघरमा जस्तै प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिरमा पनि टीका ग्रहण गर्नेको भीड नै लाग्छ । जिल्लाका स्थानीय तथा घर जान नपाएका कर्मचारीहरू पनि मुक्तिनाथमा पुगेर पुजारीबाट टीका र आशीर्वाद लिने चलन रहेको छ ।
    दसैं पर्व टीका लगाउने, आशीर्वाद ग्रहण आदि कार्य भए पनि यहाँका आदिवासीहरूले अनौपचारिक रूपमा आफन्त भेट गर्ने, चेलीबेटीलाई खुवाउने र आर्चरी खेल्ने आदि गरेर रमाइलो गर्ने गरेको वडाध्यक्ष यमप्रसाद थकालीले बताए । उपल्लो मुस्ताङमा दसैं पर्वको प्रभाव शून्य रहे पनि तल्लो क्षेत्रका समुदायले दसैं पर्व आंशिक रूपमा मनाउने गरेको थकालीले जनाए । दसैं पर्व नेपाली घरआँगनमा नजिकिँदै गर्दा दसैंको किनमेलले सहर बजार ह्वात्तै बढेको छ । तर मुस्ताङ भने गुमनामजस्तै छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन १० गतेको राशिफल

    आज साउन १०, २०८२ (जुलाई २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    “मलाई पार्टीबाट रोक्न सकिँदैन” – भण्डारीको एमाले नेतृत्वलाई चुनौतीपूर्ण सन्देश

    काठमाडौं, साउन ९ – पार्टी सदस्यताको विषयमा नेकपा एमालेले लिएको पछिल्लो निर्णयप्रति गहिरो असन्तुष्टि जनाउँदै...

    एमालेलाई बलियो बनाउने अभियानमा विद्यादेवी भण्डारी : “मलाई पदको लालसा छैन”

    काठमाडौं, साउन ९ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) भित्र देखिएको विवादप्रति प्रतिक्रिया दिँदै आफूलाई...

    सार्वजनिक स्थानमा धूम्रपान गरे अब जरिवाना : काठमाडौं महानगरको कडाइ

    काठमाडौं, साउन ९ – काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा धूम्रपान गर्नेहरूमाथि अब कडा निगरानीसाथ जरिवाना गर्ने...

    इरानको जेलबाट मुक्त भए पाँच नेपाली, बिहीबार स्वदेश अवतरण

    काठमाडौं, साउन ९ – इरानको जेलमा महिनौँदेखि थुनामा रहेका पाँच जना नेपाली नागरिक अन्ततः रिहा भई...