News Portal

कालोबजारी धन्दाले प्रहरी हिरासत पुगे अर्बपति अग्रवाल

गौरव पोखरेल
६५८ पटक
चैत २५, २०७६ मंगलबार

काठमाडौं : नेपाल एयरलाइन्सको चार्टर्ड विमान स्वास्थ्य सामग्री लिनका लागि शनिबार चीनको ग्वान्झाओतर्फ उड्यो। प्रारम्भमा विमानले २२ टन स्वास्थ्य सामग्री ल्याउने भनिए पनि फर्किँदा ७.५ टन सामान मात्र आयो।

जसमा मंगलबार दिउँसो पक्राउ परेका शंकर ग्रुपका मालिक सुलभ अग्रवालसहित चौधरी ग्रुप, नर्भिक अस्पताल र अन्य मेडिकल सप्लायर्सका सामग्री थिए। यद्यपि, अधिकांश सामग्री शंकर ग्रुपकै थियो। ती सामग्री आउने बित्तिकै कालोबजारी गरेर बिक्री हुनसक्ने आशंका सुरक्षासम्बद्ध अधिकृतहरुले गरेका थिए। जसअनुसार प्रहरीका विभिन्न इकाइ चनाखो बनेका थिए।

यहीबीच आइतबार महानगरीय अपराध अनुसन्धान महाशाखाले शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई नयाँ नम्बरबाट सम्पर्क गरेर “थर्मल गन” खरिदका लागि प्रस्ताव गर्‍यो। अग्रवालले “ग्रीन सिग्नल” दिएपछि महाशाखाले प्रहरी उपरीक्षक (एसपी) हृदय थापाको कमाण्डमा एउटा टोली नै तयार गर्‍यो। जसले हाइप्रोफाइल व्यवसायीको कालो बजारी धन्दाको पटाक्षेप गरेको छ।

टोलीकै कोभर्ट अपरेशन (छद्म भेषमा गरिने प्रहरी कारबाही) पछि अग्रवाल अहिले हिरासतमा पुगेका छन्। उनको साथबाट प्रहरीले ६८ वटा थर्मल गन (थर्मोमिटर) बरामद गरेको महाशाखाका प्रमुख एसएसपी सहकुल बहादुर थापा बताउँछन्।

अग्रवालको घर र कार्यालयमा पनि छापा हानिए पनि केही भेटिएन थापाले बताए। नक्कली परिचय पत्रको भर पर्दा सामान बिक्री गर्ने संकेत पाएर व्यापारीको भेषमा डिल गर्न थालेका प्रहरीसँग प्रारम्भमा अग्रवालले शंका गरेका थिए।

छद्म भेषधारी प्रहरीले विभिन्न गाउँपालिका र नगरपालिकाका लागि स्वास्थ्य सामग्री चाहिएको भनेका थिए तर, अग्रवाल सजिलै आश्वस्त भएनन्। उनले स्वास्थ्य सामग्री विक्रेता भएको आधार मागे।

अनुसन्धान अधिकृतले पनि केहीवेरमै कम्प्युटरबाट “मेडिकल किट सप्लायर्स” लेखिएको परिचय पत्र डिजाइन गरे। ह्वाट्स एपमा परिचय पत्र पठाएपछि अग्रवालसँग खरिदकर्ताको भेषमा प्रहरीले थप बार्गेनिङ थालेका थिए। उनले फोनमै १६ हजारको दरले थर्मल गन दिने बताएका थिए तर, भुक्तानी नगदमै हुनुपर्ने अग्रवालको भनाइ थियो।

हामीले महँगो भयो भनेपछि एक हजार रुपैयाँसम्म घटाउन सक्ने भनेका थिए, अनुसन्धानमा संलग्न एक अधिकृतले भने, त्यसपछि सामानको कम्पनी, प्रकृति र स्याम्पल फोटो पनि मागेका थियौँ। उनका अनुसार प्रारम्भमा चेकमार्फत रकम दिने भनिएको थियो तर, अग्रवालले मानेनन्।

त्यसैले, सोमबार हुने भनिएको खरिद प्रहरीले मंगलबारलाई सारेको श्रोत बताउँछ। एक सय वटा थर्मल गन मागे पनि पर्याप्त नगद देखाउन नसकेकाले प्रहरीको अपरेसन रोकिएको थियो।

श्रोतका अनुसार मंगलबार १० लाख रुपैयाँ जम्मा गरेर प्रहरी अधिकृतले थप रकम चेकमा दिने गरी बार्गेनिङ गरेका थिए तर, अग्रवालले स्वीकार गरेनन्। अन्तिममा ६८ वटा मात्र थर्ममिटर खरिद गर्ने टुंगो लाग्यो। एक सय वटा खरिदका लागि अग्रवालले १५ लाख रुपैयाँ मागेका थिए।

अग्रवालले हामीलाई नक्साल बाल मन्दिर अगाडि बोलाए। उनको कार्यालय पनि त्यहीँ थियो महाशाखा श्रोतले भन्यो, हामी पनि सिभिल गाडीमा प्लस चिन्ह लगाएर मेडिकल सप्लायर्स लेखेर गएका थियौँ।

अग्रवालभन्दा अगाडि प्रहरी उनले बोलाएको ठाउँमा पुगिसकेको थियो। जब उनले थर्मल गन निकाले तब अधिकृतहरुले प्रहरी भएको बताएपछि अग्रवाल झस्किए।

हडवडीमा उनले आफू कुटनीतिक नियोगको मानिस भएको बताउँदै आफूलाई प्रहरीले कारबाही गर्न नसक्ने बताए। प्रहरीलाई गाली गर्न थाले। त्यसक्रममा प्रहरी अधिकृत आएको गाडीको सिसा पनि उनले फुटाइदिएको अनुसन्धान अधिकृतहरु बताउँछन्।

गलत व्याख्या गरेर नीलो नम्बर प्लेटको दुरूपयोग !

अग्रवालसँग डिलिङ भइरहँदा उनी कुटनीतिक नियोगसँग पनि सम्बन्धित व्यक्ति हुन् भन्ने थाहा नभएको अनुसन्धान अधिकृतहरुको दाबी छ। उनी नीलो नम्बर प्लेटमा २०९ एचसीसी १ लेखिएको गाडीमा चढेर आउलान् भन्ने पनि अधिकृतले कल्पना गरेका थिएनन्।

सामान्यतयाः कुटनीतिक नियोगको गाडीमा सुरक्षाकर्मीले चेकजाँच गर्दैनन्। यही कुराको फाइदा उठाएर उनले नीलो नम्बर प्लेटको गाडीबाटै कालोबजारी गर्ने प्रयास गरेका थिए तर, एउटा कानुनी प्रावधानमा भने प्रहरी पनि जानकार देखिँदैनन्।

परराष्ट्र मन्त्रालयका ‘चिफ अफ प्रोटोकल’ गहेन्द्रराज भण्डारीका अनुसार अवैतानिक वाणिज्य दूत भनेको सम्बन्धित राष्ट्रले सिफारिस गरेर दिने पद हो। र, यो पदधारण गरेका व्यक्तिले वाणिज्य दूत जस्तो सुविधा पाउँदैनन्।

उनका अनुसार गाडीमा एचसीसी (अनरी) लेखिएको सवारी चलाउनले व्यक्तिले कुनै कूटनीतिक छुट प्राप्त गर्दैनन्। निजी सवारीसाधनलाई नै आफ्नो कार्य अवधिसम्म एचसीसी लेखेर नीलो प्लेट राख्न पाइन्छ। पूर्ण कुटनीतिक सुविधा प्राप्त गर्नेको गाडीमा सीडी उल्लेख हुने भण्डारी बताउँछन्।

अग्रवाल भने एचसीसी लेखिएको नम्बर प्लेटको गाडी लकडाउनका वेला पनि सवारी पासविनै चलाइरहेका थिए।

परराष्ट्र स्रोतका अनुसार अग्रवाललाई कीर्गिस्तानले अवैतानिक महावाणिज्य दूतको पद दिएको सन् २०१९ अगस्ट १९ मा हो। उनलाई तीन वर्षे कार्यकालका लागि यो सुविधा दिइएको हो। यो पदको धारण गरेपछि उनले नेपालमा समस्यामा पर्ने कीर्गिस्तानी नागरिकलाई सहयोग र समन्वय गर्छन्।

नेपाल प्रहरीका अवकाश प्राप्त नायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल ठकुरी कुटनीतिक नियोगको गाडी दुरूपयोग भएको घटनाले विभिन्न आवरणमा हुने अपराधको एउटा प्रवृत्ति उजागर गरेको बताउँछन्।

‘यसले मुलुकका ठूलो व्यापारिक घरानाप्रति समाजको धारणा नकारात्मक त बनायो नै साथमा काउन्सिलरको छविलाई पनि धमिल्याएको छ’, ठकुरीले भने।

यसअघि २०६३ सालमा कुटनीतिक नियोगको नम्बर प्लेट प्रयोग गरेर रक्तचन्दन तस्करी हुने गरेको भेटिएको थियो। त्यसयता विभिन्न समयमा कुटनीतिक निकोगको गाडी दुरूपयोग हुनसक्ने आशंका गरिए पनि प्रहरीले यथेष्ट प्रमाण फेला पार्न सकेको थिएन। – अनलाइनखबरबाट

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...