रमेश लम्साल/नारायण ढुङ्गाना
काठमाडौँ : विदेशमा बस्ने नेपालीमाथि एउटा आरोप लाग्ने गर्छ, ‘आफ्नै देशमा पसिना बगाउनु पर्नेमा विदेश पलायन भए।’ यो वास्तविकता पनि हो। अथाह स्रोत साधन भएको देश छाडेर सामान्यभन्दा सामान्य काम गर्न विदेशिने युवाको कमी छैन। स्नातकोत्तर गरेका थुप्रै युवा सामान्य कामका लागि पनि विदेशिएका छन्।
नेपाल विपे्रषणले नै धानेको देश भनेर चर्चा पनि हुन्छ तर विदेशमा बसेर आफ्नो देशको विकासमा अहोरात्र खटिनेको पनि समाजमा कमी छैन। विदेशमा बसेर नेपालको गाउँठाउँको विकासमा लाग्ने गैरआवासीय नेपाली प्रशस्तै छन्। यस्तै एउटा उदाहरणीय व्यक्ति हुन् धादिङ बुढाथुमका लोकप्रसाद दाहाल।
गैरआवासीय नेपाली सङ्घ बेल्जियमका अध्यक्ष दाहाल आफ्नो गाउँ धादिङको गङ्गाजमुना गाउँपालिका–७ बुढाथुम र बसेरी आसपासका गाउँको विकासमा निरन्तर लागेका छन् ।
गाउँको विकासका लागि भूकम्पपछि रु एक करोड ५० लाखभन्दा बढी रकम भित्र्याउनुभएका उनले विदेशमा आफ्नै परियोजनाबाट कमाएको रकमसमेत लगानी गरेका छन्। बेल्जियमका विभिन्न सङ्घसंस्था गुहारेर सङ्कलित रकमले गाउँको मुहारमा चमक भर्न उनी लागहेका छन्।
गाउँको स्वास्थ्य, शिक्षा, खानेपानीलगायत क्षेत्रमा व्यक्तिगत रुपमा रु ३३ लाखभन्दा बढी खर्च भइसकेको विवरण अध्यक्ष दाहाल दिन्छन्। उनले स्थानीय महालक्ष्मी मावि, कन्या स्कूल, लापुडाँडा र सोती खानेपानी आयोजना, बसेरीमा मन्दिर निर्माणमा पनि सहयोग गरेका छन्।
बेल्जियममा होटल व्यवसाय गर्दै आएका उनले विसं २०७२ को भूकम्पपीडितका लागि तत्कालै व्यवसायबाट आएको एक दिनको कमाइ रु १३ लाख उपलब्ध गराएर जन्मथलोमा सामाजिक काम थालेका छन्।
त्यसपछि ठाउँठाउँमा भूकम्पपीडितका लागि खाद्यान्न, लत्ताकपडा, खानेपानी, विद्यालयमा लाखौँ रूपैयाँ बराबरको भौतिक सहयोग गर्दै आउनुभएका उनको यो क्रम अहिले पनि जारी छ।
गाउँको बद्रिविशाल माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि हालैमात्र रु २० हजार यूरो (करीब रु २६ लाख) रकम विद्यालयलाई हस्तान्तण गरेका छन्। सो विद्यालयमा यसअघि रु ४५ लाख खर्च भइसकेको छ।
उक्त विद्यालयको भवन निर्माणका लागि लाग्ने रु ७२ लाखमध्ये यो अन्तिम किस्ता भएको बताएका अध्यक्ष दाहालले निकट भविश्यमै जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति उपलब्ध गराउन रु तीन लाखको अक्षय कोष स्थापना गर्ने घोषणासमेत गरेका छन्। “मेरो गाउँ बनाउने अभियान जारी रहन्छ”, स्थानीयवासीलाई आश्वासन दिँदै उनले भनेका छन्।
दाहालमार्फत उक्त गाउँको विभिन्न सामाजिक क्षेत्रमा मात्रै रु एक करोड ६१ लाख खर्च भइसकेको छ। विद्यालयको भवन निर्माणमा बेल्जियमको सामाजिक क्षेत्रमा लागेका चिकित्सकको संस्था ‘फ्रम पिपुल टु पिपुल’ले पनि सहयोग गरेको र उक्त रकमबाट अहिले आठ कोठे भवन निर्माण भइरहेको छ।
स्थानीयवासी तथा पर्यटन व्यवसायी सरोज न्यौपाने भूकम्पपछि रोइरहेका स्थानीयवासीको घाउमा मलम लगाएकाले उनको त्यो योगदानको जति प्रशंसा गरे पनि नपुग्ने बताउँछन्।
विद्यालय निर्माणका लागि अध्यक्ष दाहालले खर्चको जोहो गरेपछि स्थानीयवासी अहिले क्याम्पस सञ्चालनका लागि हौसिएका छन्। आवश्यक खर्च उनीबाट आउने आशा रहेको बताउँदै क्याम्पस व्यवस्थापन तदर्थ समितिका संयोजक कृष्णबहादुर दाहाल पनि हरेक अभावलाई पूर्ति गर्ने गाउँकै धरोहर भएको बताउँछन्।
उक्त माविका प्रधानाध्यापक चूडामणि अधिकारी पनि अध्यक्ष दाहालको योगदानलाई भुल्नुहुन्न । विद्यालय भूकम्पले क्षतविक्षत भएका बेला बेल्जियमबाट प्राप्त रकम जोहो गरी विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर वृद्धिमा गरेको योगदान अविस्मरणीय रहेको उनी बताउँछन्।
अहिले भवनका चार कोठा निर्माण भइसकेको र दोस्रो तलाको काम थालिएको छ । भवन निर्माण समितिका संयोजक भीमबहादुर अधिकारी पारदर्शी रुपमा काम भएको भन्दै विदेशबाट आएको पैसा अलिकति पनि तलमाथि गर्न नदिइएको जिकिर गर्छन्।
विद्यालयमा कक्षा १ देखि १२ सम्म पढ्ने ४२५ विद्यार्थी छन् । बेल्जियममा बसेर अध्यक्ष दाहालले गाउँमा गरेको योगदान प्रशंसनीय रहेको भन्दै सोही क्षेत्रका प्रतिनिधिसभा सदस्य खेमप्रसाद लोहनी अझै गाउँको विकासमा लाग्न आग्रह गर्छन्।
बुढाथुम गाउँपालिकाको केन्द्र बनाउने पूर्वाधार रहे पनि विगतमा आफूहरुको प्रयास सफल हुन नसकेको उनको गुनासो छ।
“हामीले हाम्रो पछाडिका पुस्तालाई आधुनिकतासँग प्रतिस्पर्धी बनाउन सक्ने बनाउनुपर्छ, यसका लागि मुख्य कडी शिक्षा नै हो, शिक्षामा सबैको लगानी जरुरी भएकाले मेरातर्फबाट सहयोग रोकिन्न”, सांसद लोहनी भन्छन्।
हरेकले यसैगरी आफू जन्मेको ठाउँलाई माथि उठाउने प्रयास गर्ने हो भने गाउँको मुहार फेरिने विश्वास गरेका उनी क्याम्पस बनाउने कुरामा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्छन्।
“पाँच वर्षभित्रमा बुढाथुममा पिच बाटो पुग्छ, ढुक्क हुनुहोस्, तपाईहरुको पनि पहल हुनुपर्छ, हामी बाहिर बस्नेले के गर्नुपर्छ गर्न तयार छौँ”, स्थानीयवासीलाई सांसद लोहनी सुझाव दिन्छन्। – रासस