News Portal

दलित समुदायका किशोरी विद्यालय जानबाट वञ्चित

हिमालीसंचार संवाददाता
४११ पटक

मेनुका ढुंगाना,
अछाम। अछामको मंगलसेन नगरपालिका–७ पीपल गाउँकी नवीना विक १६ वर्षकी भइन्। उनले अहिलेसम्म आफ्नो नाम लेख्न जानेकी छैनन्। कसैले कतिमा पढ्छ्यौ भनेर सोध्दा उनी जवाफ दिनै लजाउँछिन्। ‘हामी ५ दिदीबहिनी कसैले पनि स्कुल देखेका छैनौं,’ उनले भनिन्, ‘छोरी मान्छेले पढ्नु पर्दैन, घरको काम सिक्ने हो भनेर बुबाआमाले स्कुल भर्ना गरिदिएनन्। अहिले जता जाँदा पनि पढाइ सोध्छन्। आफूले अक्षर चिनेकै छैन।’

पीपल गाउँ दूरदराजको बस्ती होइन। अछाम सदरमुकाम मंगलसेन नगरपालिकाभित्रको एउटा गाउँ हो, जहाँ ठूलो संख्यामा दलित समुदायका किशोरी विद्यालय जानबाट वञ्चित छन्। पीपल गाउँमा दलित समुदायका ३० भन्दा बढी किशोरीले विद्यालय टेक्नै पाएका छैनन्। १६ वर्षको उमेरसम्म विद्यालय जान नपाएकी नवीनाका दुई दाजुभाइ भने स्कुल जान्छन्। ‘दाजुभाइ जस्तै हामीलाई पनि पढ्ने रहर छ तर पढाइदिने कोही छैन,’ नवीनाले भनिन्।

गाउँका अधिकांश दलित बस्तीका दिदीबहिनीले विद्यालय जान नपाएको उनले बताइन्। छोरालाई पढाउनैपर्ने बुझेका पीपल गाउँका दलित समुदायले छोरीलाई भने अक्षर चिन्न सक्नेसम्मको अवसर पनि दिएका छैनन्। गरिबीका कारण उनीहरूका बुबाआमा रोजगारीका लागि भारत जाने गरेका छन्। छोरीले घरव्यवहार सम्हाल्नुपर्ने हुन्छ। उनीहरू दाजुभाइ विद्यालय गएको टुलुटुलु हेर्न विवश छन्।

यहाँको दलित समुदायभित्र छोरीलाई विद्यालय नपठाउने परम्परा जस्तै बनेको छ। मंगलसेन–७ की १५ वर्षीया लक्ष्मी विकले पनि अहिलेसम्म अक्षर चिन्न पाएकी छैनन्। उनी ७ वर्ष पुग्दा बुबाको मृत्यु भएपछि घरको अवस्था डामाडोल हुन पुग्यो। घरायसी अवस्थाले उनी विद्यालय जान पाइनन्। उनकी आमाले दुई छोरालाई जसोतसो विद्यालय पठाइन्। ‘बुबाको मृत्युपछि परिवारमा कमाइ गर्ने कोही भएन, गुजारा चलाउनै मुस्किल भयो,’ लक्ष्मीले भनिन्, ‘उसै पनि छोरीलाई स्कुल नपढाउने अवस्थामा बुबा नै गुमाएका हामी दिदीबहिनी कसरी पढ्न पाउनू ?’ पढाउन सक्ने अवस्था भएकाहरूले पनि छोरीलाई स्कुल नपठाउने गरेको उनी बताउँछिन्।

निर्मला विक विद्यालय जाने उमेरदेखि नै सधैं घरको काम र खेतीबारीमा व्यस्त देखिन्छिन्। उनका बुबाआमा र दाजु मुम्बईमा काम गर्छन्। दिदीले १७ वर्षको उमेरमै बिहे गरिन्। घरमा भाइसँग छिन् उनी। ‘गाई, भैंसी, एक हल गोरु र सातवटा बाख्रा छन्। तिनैलाई घाँसपात, स्याउला सोतर गर्दै दिन बित्छ,’ उनले भनिन्, ‘सकिनसकी काम गरिरहेकी छु। स्कुल जान्छुभन्दा घरबाट दिएनन्। अक्षर मात्रै चिन्न पाए हुन्थ्यो भन्ने जहिल्यै मनमा लागिरहन्छ।’

सरकारले विपन्न एवं टुहुरा विद्यार्थीलाई सहयोग गर्ने भने पनि भर्ना अभियानदेखि पढाइमा दिइने सहुलियतमा उनीहरूको पहुँच पुग्न सकेको छैन। कतिपय परिवारले छोराहरूलाई जेनतेन पढाइरहेका भए पनि छोरीलाई पनि उनीहरू सरह शिक्षादीक्षा दिनुपर्छ भन्ने चेतना देखिन्न। नगरभित्रै धेरै किशोरी विद्यालयबाहिर रहेको कुरा कार्यपालिका बैठकमा उठाए पनि उनीहरूलाई समेट्न कुनै योजना बन्न नसकेको मंगलसेन–७ का वडाध्यक्ष सिद्धराज ढुंगानाले बताए।

‘यसअघि विद्यालय व्यवस्थापन समिति, शिक्षक र जनप्रतिनिधिले विद्यालय भर्ना अभियान नै सञ्चालन गरेका हौं। प्रत्येक घरघरमा पुगेका पनि हौं। त्यतिखेर धेरैलाई विद्यालयमा भित्र्याउन सफल भयौं,’ उनले भने, ‘उमेर धेरै भएका तर सानो कक्षामा पढ्न अप्ठ्यारो मान्नेहरूका लागि प्रौढ शिक्षा ल्याउने सल्लाह गरिरहेका छौं।’ – कान्तिपुरबाट।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...