स्थानीयको माग पूरा गर्ने आश्वासनपछि बञ्चरेडाँडामा फोहोर फाल्न अनुमति

काठमाडौं, कार्तिक १६ – नुवाकोट र धादिङको सिमानामा पर्ने बञ्चरेडाँडा फोहोर व्यवस्थापन स्थलमा स्थानीय बासिन्दाले आजदेखि फोहोर फाल्न अनुमति दिएका छन्। सहरी विकास मन्त्री कुलमान घिसिङले उनीहरूको माग १५ दिनभित्र पूरा गर्ने आश्वासन दिएपछि यो सहमति भएको हो।
आज बिहान मन्त्री घिसिङले साइटमा पुगेर स्थानीयसँग छलफल गरेका थिए। ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङका अनुसार मन्त्रीले मौखिक रूपमा प्रतिबद्धता जनाएपछि स्थानीयले फोहोर फाल्न अनुमति दिएका हुन्। रोकिएका फोहोर बोकेका गाडीहरू अब बञ्चरेडाँडा तर्फ अघि बढेका छन्।
स्थानीयहरूले विगत केही दिनदेखि फोहोर फाल्न रोक्दै आएका थिए। उनीहरूको मुख्य माग फोहोर विसर्जनलाई वैज्ञानिक तरिकाले व्यवस्थित गर्ने, र अघिल्लो १८ बुँदे सहमति कार्यान्वयन गर्ने थियो। सो सहमतिमा रातको समयमा मात्रै फोहोर फाल्ने, दुर्गन्ध रोक्ने, लिच्चड नछुने व्यवस्था गर्ने लगायतका प्रावधानहरू थिए।
ककनी गाउँपालिका र धुनबेसी नगरपालिकाका बासिन्दाले सडकमा बसेर फोहोर बोकेका गाडी रोक्दै मेयर वा मन्त्रीले प्रत्यक्ष साइट भ्रमण गरेर माग सम्बोधन गर्नुपर्ने अडान लिएका थिए। मेयर बालेन साहको अनुपस्थितिमा मन्त्री घिसिङले आफैं आज बिहान बञ्चरेडाँडा पुगेर स्थानीयको चासो सम्बोधन गरेका हुन्।
















