News Portal

  • भारतसँग चाँडै नै बिजुली ऐँचोपैँचो ! धेरै हुँदा दिने, कम हुँदा लिने

    ६१५ पटक

    अर्जुन पोख्रेल/काठमाडाैं – नेपालमा उत्पादित बिजुली वर्षा याममा धेरै हुने, हिउँदमा कम हुने अवस्था अन्त्यको लागि भारतसँग इनर्जी बैंकिङ अर्थात ऐँचोपैँचो चाँडै नै कार्यान्वयन हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले अबको एक वर्षभित्रै भारतसँग इनर्जी बैंकिङ अर्थात ऐँचोपैँचो कार्यान्वयन गर्ने गरी दुवै पक्षबाट काम भैरहेको जनाएको छ ।

    नेपालले धेरै पहिलेदेखि विभिन्न बैठकमा इनर्जी बैंकिङको प्रस्ताव राखे पनि गएको वैशाखमा भएको प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको बेला यो विषयले प्राथमिकता पाएको थियो । दुई प्रधानमन्त्रीबीच कुरा भए अनुसार नै भारतसँग कुरा भैरहेको प्राधिकरणले जनाएको छ ।

    गएको असार २२ र २३ गते भारतमा नेपाल र भारतका अधिकारी सम्मिलित ‘पावर एक्सचेन्ज’ समितिको बैठक बसेको थियो । त्यो बैठकमा भारतले नेपाललाई बेच्दै आएको बिजुलीको मूल्य बढाउने प्रस्ताव गरेको थियो । तर नेपालले यसलाई अस्वीकार गरेपछि भारत पुरानै मूल्यमा नेपाललाई बिजुली उपलब्ध गराउन सहमत भएको थियो ।

    पावर एक्सचेन्जकै बैठकमा नेपालले मूल्य नबढाउने सम्झौतासहित इनर्जी बैंकिङको महत्वपूर्ण विषयमा भारतलाई सहमतिमा ल्याएको थियो । असार २२ र २३ गते भारतको केन्द्रीय विद्युत प्राधिरकरण र नेपाल विद्युत प्राधिकरणका पदाधिकारीबीच इनर्जी बैंकिङको विषयलाई कसरी अघि बढाउने विषयमा खास कुरा भएको थियो ।

    आउँदो वर्षदेखि नै इनर्जी बैंकिङ कार्यान्वयन हुने सम्भावना

    नेपालमा उत्पादन हुने बिजुली नै आउँदो वर्षको वर्षायामदेखि धेरै भएर खेर जाने अवस्था देखिएको छ । नेपालका धेरैजसो आयोजना रन अफ दि रिभर प्रणालीमा आधारित भएकाले हिउँदमा क्षमताको आधा पनि बिजुली उत्पादन हुँदैन । तर वर्षायाममा भने पूर्ण क्षमतामा सञ्चालन हुने हुँदा आउँदो वर्षायामदेखि नेपालमा उत्पादन हुने बिजुली नै धेरै हुने भएकाले भारतसँग इनर्जी बैंकिङको विषय कार्यान्वयनको तयारी भैरहेको प्राधिकरणले जनाएको छ ।

    ‘आउँदो वर्षायामदेखि नै हामी बिजुलीमा आत्मनिर्भर हुन्छौं, त्यसपछि हाम्रो बिजुली खेर जान्छ, त्यसैले हामीले सन् २०१९÷२० देखि नै इनर्जी बैंकिङ कार्यान्वयन गरौं भनेर भारतलाई भनेका छौं’ प्राधिकरणका एक कर्मचारीले भने, ‘आर्थिक वर्ष सन् २०२५/२६ सम्म पनि हिउँदमा भारतबाट बिजुली आयात गर्नुपर्ने अवस्था रहन्छ, त्यसैले ५ वर्षको लागि भारतसँग इनर्जी बैंकिङ सम्झौता हुने सम्भावना रहेको छ ।’

    सन् २०२५/२६ सम्म इनर्जी बैंकिङ आवश्यक पर्ने भए पनि त्यसपछि सन् २०२६/२७ देखि नेपाललाई हिउँदको समयमा पनि बिजुली धेरै हुने भएकाले बिक्रिको लागि प्रस्ताव गर्ने नेपालको तयारी रहेको छ ।

    भारतीय पक्षले सन् २०२५÷२६ सम्मको बिजुली उत्पादन र खपतको स्पष्ट खाका मागेकोमा नेपालले आवश्यकता, योजना र तथ्याङ्कसहित भारतलाई बुझाइ सकेको छ । असार २२ र २३ गते प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको नेपाली टोलीलाई भारतको केन्द्रीय विद्युत प्राधिकरणका पदाधिकारीले चाँडै नै नेपालसँग हुने इनर्जी बैंकिङ सम्झौताको मस्यौदा पठाउने आश्वासन पनि दिएका थिए ।

    ‘भारतले इनर्जी बैंकिङ सम्बन्धी विधि र प्रारुप बारेको मस्यौदा चाँडै नै टुंग्याउने भनेको छ, नेपाल विद्युत प्राधिकरण र भारतको केन्द्रीय विद्युत प्राधिकरणविच चाँडै हुने अर्को बैठकले त्यसलाई टुंग्याउनेछ’ प्राधिकरण स्रोतले जनायो ।

    भारतमा अहिले पनि वर्षायाममै बिजुलीको अभाव हुँदै आएको छ । विशेषगरी सिँचाइको समय भएकाले भारतमा वर्षायाममा धेरै बिजुलीको माग रहेको छ, भारतले पनि नेपालसँग इनर्जी बैंकिङ सम्झौता गरेर वर्षायामको माग केही भए पनि पूर्ति गर्न इच्छा देखाएको छ ।

    सवस्टेशनमा सुरक्षा उपकरण राख्ने तयारी

    इनर्जी बैंकिङ कार्यान्वयन गर्न भारतले नेपालका सव स्टेशनमा सुरक्षा उपकरण अर्थात प्रोटेक्सन इक्विपमेन्ट राख्न भनेको छ । एउटा सब स्टेशनमान खराबी आएमा त्यसले धेरै सवस्टेशन र लाइनमा क्षति पुर्‍याउने भएकाले भारतले सुरक्षा उपकरण राख्न भनेको हो ।

    भारतको सुझाव अनुसार संयुक्त सञ्चालन समितिको बैठकमा नेपाल विद्युत प्राधिकरणले उपकरण राख्ने तयारी भएको जनाएको छ । गएको वैशाखमा बनाइएको संयुक्त सञ्चालन समितिमा ६ जना सदस्य  रहेका छन् । नेपालमा रहेका सवस्टेशनमा सुरक्षा जडानको अध्ययन गर्न भारतीय प्राविधिक नेपाल आउने सहमति पनि भएको थियो ।

    आर्थिक वर्ष २०७५/७६ मा निर्माण पूरा हुने आयोजना

    नेपाल विद्युत प्राधिकरणले आउँदो वर्ष  ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनासहित ६ सय मेगावाट भन्दा धेरै क्षमताका आयोजना सम्पन्न हुने जनाएको छ । वर्षायाममा धेरैजसो आयोजना पूर्ण क्षमतामा चल्ने भएकाले आउँदो वर्षदेखि नै वर्खामा नेपाल बिजुलीमा आत्मनिर्भर भएर भारतलाई पैंचो अर्थात इनर्जी बैंकिङ कार्यान्वयनको अवस्थामा पुग्ने प्राधिकरणको दावी छ ।

    विभिन्न आयोजना र उत्पादन क्षमता 

    माथिल्लो तामाकोशी, दोलखा – ४ सय ५६ मेगावाट
    खानीखोला १ आयोजना, दोलखा – ४० मेगावाट
    दोर्दीखोला आयोजना, लमजुङ – २७ मेगावाट
    माथिल्लो दोर्दी ए, लम्जुङ – २५ मेगावाट
    सोलुखोला आयोजना, सोलुखुम्बु – २३ मेगावाट ५ सय किलोवाट
    बागमती खोला सानो आयोजना, मकवानपुर – २२ मेगावाट
    माथिल्लो चाकु ए, सिन्धुपाल्चोक – २२ मेगावाट २ सय किलोवाट
    माथिल्लो सोलु आयोजना, सोलुखुम्बु – १८ मेगावाट
    माथिल्लो साञ्जेन आयोजना, रसुवा – १४ मेगावाट ८ सय किलोवाट
    माथिल्लो मैलुङ ए आयोजना, रसुवा – ६ मेगावाट ४ सय २० किलोवाट
    कापडीगाड आयोजना, डोटी – ३ मेगावाट, ३ सय ३३ किलोवाट
    गेलुन आयोजना, सिन्धुपाल्चोक – ३ मेगावाट २ सय किलोवाट

    उज्यालो अनलाइनबाट

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एमाले ललितपुर अध्यक्ष आचार्य मानव तस्करी प्रकरणमा मुछिए, सिआईबीको अनुसन्धान सुरु

    काठमाडौं, साउन ११ – नेकपा एमाले ललितपुर जिल्ला कमिटीका अध्यक्ष पुरुषोत्तम आचार्य गम्भीर मानव तस्करीको...

    चितवनमा लोडसेडिङ होइन, मर्मत कार्यका कारण अस्थायी विद्युत् अवरोध : प्राधिकरण

    काठमाडौं, साउन ११ – चितवन जिल्लामा लोडसेडिङ सुरु भएको भन्ने चर्चाबारे नेपाल विद्युत् प्राधिकरणका कार्यकारी...

    माछापोखरीमा महिलाको सुनको सिक्री लुटपाट गर्ने दुई जना समातिए, घटनास्थलबाटै पक्राउ

    काठमाडौं, साउन ११ – शनिबार साँझ राजधानीको व्यस्त क्षेत्र माछापोखरीमा एक महिलाको गलाबाट सुनको सिक्री...

    चितवनमा विद्युत अवरुद्ध हुने सूचना लोडसेडिङसँग सम्बन्धित होइनः ऊर्जामन्त्री खड्का

    चितवन, साउन ११ – चितवनमा लोडसेडिङ सुरु भएको भन्ने हल्लालाई ऊर्जामन्त्री दीपक खड्काले प्रस्ट रूपमा...

    आज २०८२ साल साउन ११ गतेको राशिफल

    आज साउन ११, २०८२ (जुलाई २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...