News Portal

  • युएईमा नेपाली चेलीको दुविधा : आममाफी त पाइयो, जागिर कसरी जोगाउने ?

    हिमाली संचार संवाददाता
    ५८० पटक

    रुपेश अधिकारी
    युएई – नेपाल सरकारले खाडीका मुलुकमा घरेलु महिला कामदारमाथि प्रतिबन्ध लगाएपछि भोजपुर साङपाङकी सरिता थापा (नाम परिवर्तन) खाईपाई आएको जागिर जाने डरले युएईबाट नेपाल फर्कन पाएकी थिइनन् ।

    साउन १६ गतेदेखि युएई सरकारले सुरु गरेको आममाफी प्रकरणले भने उनको घर फर्कने बाटो सुनिश्चित गरेको छ ।

    युएईमा हाल काम गरिरहेको ठाउँबाट बाहिर निस्कन पनि सरितालाई समस्या थियो । एक त घरेलु कामदार, दोस्रो, आफूसँग राहदानी र बसोबास गरिरहेको ठाउँको प्रमाण खुल्ने कागजात नभएका कारण उनी घरबाट बाहिर निस्कन सकेकी थिइनन् ।

    दलालले झुक्याएर युएई ल्याए

    दुई वर्षअघि काठमाण्डौँस्थित एक मेनपावरले सरितालाई नेपालकै विमानस्थलबाट भिजिट भिसामा युएई ल्याएको हो । मेनपावरको नाम भने उनलाई हेक्का छैन ।

    होटलमा काम लगाइदिने आश्वासन दिएर यहाँ ल्याएको भएता पनि उनले त्यो अनुसारको काम पाइनन् । युएईको अजमानमा अनिता नाम गरेकी एक एजेन्टको रोहवरमा उनलाई राखियो ।

    त्यहाँ उनी एक रात बसिन् । धेरै वातावरण बुझ्न त पाइनन् । तर, सरिता भन्छिन्–‘दलालको अखडा रहेछ त्यहाँ । काम लगाइदिने भनेर नेपालबाट ल्याएर नेपाली युवतीहरुलाई राख्ने ठाउँ नै त्यहीँ हो । एकजना दिदीले तीन महिनादेखि त्यहीँ रहेको गुनासो गरिन् ।’

    युएई सरकारले घोषणा गरेको आममाफीको सुविधा कात्तिक १४ सम्म रहनेछ । अवैध बसेका नेपालीलाई दूताबासले ट्राभल डकुमेन्ट उपलब्ध गराइरहेको छ । एक सातादेखि सञ्चालन भइरहेको शिविरबाट दैनिक ४५/५० जना नेपालीले सेवा लिइरहेका छन्

    युइए आएको भोलिपल्ट अनिताले केही मानिसहरुकहाँ लगेर सरितालाई अन्तरवार्ता दिन लगाइन् । सरिताको अरबी भाषामा राम्रो दख्खल भएकाले उनलाई एक घरमा काम मिल्यो ।

    काम दिने साहुले एजेन्ट (अनिता) लाई १२ हजार दिराम ( करिब ३ लाख ५० हजार रुपैयाँ ) बुझाए ।

    त्यस घरमा केही समय काम गरेपछि साहुबाट विभिन्न यातना दिएका कारण सरिताले त्यहाँको जागिर छाडिन् ।

    काम लगाइदिने एजेन्टलाई बारबार खबर गरेता पनि वेवास्ता गरेपछि आफन्तले अर्को एक घरमा काम लगाइदिए । तर, उनको राहदानी पहिले काम गरिरहेको ठाउँमै रहेकाले नदिएकाले उनी अवैधानिक भएर काम गर्न बाध्य भइन् ।

    राहदानी दिलाइदिन एजेन्टलाई पटक–पटक आग्रह गर्दा १२ हजार दिराम दिए मात्रै राहदानी फिर्ता आउने जवाफ पाएको सरिता बताउँछिन् ।

    घर फर्किए परिवार पाल्न समस्या

    युएईको सरकारले अवैधानिकरुपमा बसोबास गरिरहेका नेपालीसहित अन्य मुलुकका नागरिकलाई वैधानिक बन्न अथवा आवश्यक कानुनी प्रकृया पूरा गरी आफ्नो मुलुक फर्कन आग्रह गर्‍यो । यो जानकारी नजिकका साथीहरुबाट पाएपछि सरिता नेपाली दुतावासमा पुगिन् ।

    अहिले उनको नेपाल फर्कन चाहिने कागजात बनिसकेको छ ।

    युएईमा घरेलु कामदार भए तापनि सरिताको कमाइ राम्रो छ । यहीँको कमाइले नेपालमा रहेका श्रीमान र एक छोराको गुजारा चलिरहेको छ । तर, उनीसँग राहदानी छैन । यसकारण उनलाई फेरि युएईमा फर्केर काम गर्न सहजता छैन ।

    नेपाल आएपछि राहदानी बनाउने र पुनः काम गर्न युएई फर्कने सरिताको इच्छा छ । हाल काम गरिहेको ठाउँमा नै उनलाई राख्ने भएका छन् । तर, भविश्यमा नेपाल आवत–जावत गर्न समस्या नआओस् भनेर उनी वैधरुपमा काम गर्न चाहान्छिन् ।

    नेपाल फर्किएर राहदानी बनाएपछि पुनः उनलाई खाईपाई आएको जागिरमा लगाइदिने केही एजेन्टले आश्वासन पनि दिएका छन् । तर, सरकारको नीतिअनुसार उनी युएई फर्कन सक्ने अवस्था छैन ।

    सरिता भन्छिन्, ‘एजेन्टहरुले फेरि भिजिट भिसामा ल्याएर काममा लगाइदिने भन्नुभएको छ । तर, अब आउन पाइनँ भने त नेपालमै बसेर परिवार पाल्न समस्या हुन्छ । म नेपालमा राहदानी बनाएर युएई नै आइहाल्ने हो ।’

    भिजिट भिसामा आएर काम गर्नेहरु नेपाल फर्कन तयार छन् । तर, फेरि युएईमा आएर जागिरमा लाग्न दलालहरुकै भर पर्नुपर्ने डर छ उनीहरुलाई ।

    भिजिट भिसामा आएका सबैको अवस्था उस्तै

    युएईमा कार्यरत सरिता त एक प्रतिनिधिपात्र मात्रै हुन् । उनीजस्ता जस्तै धेरैै नेपाली चेलीहरु खाडीका मुलुकमा यस्तै प्रकृतिको समस्या झेलिरहेका छन् ।

    नेपालमा बिदा सकेर परदेश फर्कने समयमा लिनुपर्ने श्रम स्वीकृति नेपाल सरकारले नदिने भएपछि कतिपय स्वदेश फर्कनै चाहँदैनन् । फर्केकाहरु पनि काममा फर्कनका लागि दलाललाई पैसा खुवाउन बाध्य छन् ।

    युएई सरकारले दिएको आममाफी प्रकृयामा सहभागी हुने नेपालीहरुको संख्या बढिरहेको छ । दूतावासमै पुगेर सेवा दिन असहज हुनेहरुका लागि दुतावास अबुधाबीले युएईका विभिन्न स्थानमा घुम्ती शिविरमार्फत सेवा दिइरहेको छ ।

    अबुधाबीको अलशामा एम्नेस्टी सेन्टर, दुबईको अलअबिर इमिग्रेसन र सारजहाको सारजहा इमिग्रेसनबाट विभिन्न विषयमा परामर्श दिनुका साथै दूताबासले ट्राभल डकुमेन्ट तत्काल उपलब्ध गराइरहेको छ ।

    दुतावासको मुख्य कार्यालय र तीन स्थानमा एक सातादेखि नियमित सञ्चालन भइरहेको शिविरबाट दैनिक ४५/५० जना नेपालीहरुले सेवा लिइरहेको कार्यवाहक राजदुत सागरप्रसाद फुयाँलले अनलाइनखबरलाई बताए ।

    फुँयालका अनुसार भिजिट भिसामा युएई आएर ओभरस्टे भएकाहरुको समस्या धेरै आउने गरेको छ । अहिले भने घरेलु महिला कामदार र मेनपावरको माध्यमबाट आउनेको समस्या केही कम पाइएको छ ।

    तर, सम्झौता अनुसारको काम र सेवा नपाएर वीचैमा अन्यत्र काम खोजेर अवैधानिक बस्नेहरुको समस्या छिटफुट भेटिने गरेको उनले बताए ।

    आममाफी प्रक्रियामा सहभागी हुने धेरैले नेपाल फर्किन भन्दा पनि बैध भएर यहीँ काम गर्ने इच्छा जनाएको देखिएको छ । तर, गैरकानूनीरुपमा यहाँ बसोबास गरिरहेका नेपालीलाई तीन महिनाको आममाफीमार्फत स्वदेश फर्कन दिइएको समयभित्रै उनीहरुलाई स्वदेश फर्काउन दुतावासले सहजीकरण गरेको दूताबासका अधिकारीहरु बताउँछन् ।

    सेवाग्राहीको उपस्थिति र आवश्यकता अनुसार यस्तो शिविर अन्य राज्यमा पनि सञ्चालन गर्ने दुतावासले जनाएको छ । आफ्नो देश फर्कन चाहने नागरिकले विनाजरिवाना फर्कन पाउने र भविश्यमा निश्चित समयावधि पार गरेर पुनः युएई आउन सक्नेछन् ।

    युएई सरकारले घोषणा गरेको आम माफीको सुविधा कात्तिक १४ गतेसम्म रहनेछ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कुवेतबाट कृष्ण सुनार पक्राउ

    काठमाडौं, मानव बेचबिखन तथा ओसार पसार  मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी सुर्खेत...

    वीरगञ्जमा झाडापखाला र हैजाका बिरामी ५ सय नाघे

    वीरगञ्ज, भदौ ११ – वीरगञ्जमा झाडापखाला र हैजाको प्रकोप नियन्त्रणभन्दा बाहिर फैलिँदै गएको छ। पछिल्लो...

    प्रिन्सिपलद्वारा विद्यार्थीमाथि कुटपिट, अभिभावकले प्रहरीमा उजुरी

    दोलखा, भदौ ११ – दोलखाको वैत्येश्वर गाउँपालिका–३, खानीगाउँस्थित आँकुरा इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल अजितकुमार चौधरीमाथि...

    रौतहटकी रुबी साह हत्या प्रकरणका आरोपीको उपचारकै क्रममा मृत्यु

    रौतहट, भदौ ११ – रौतहटकी रुबीकुमारी साह हत्या प्रकरणमा संलग्न भनिएका आरोपी लक्ष्मण पासवानको उपचारकै...

    रास्वपा सभापति रवि लामिछानेको मुद्दामा उच्च अदालतले झिकायो कैफियत प्रतिवेदन

    बुटवल, भदौ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग सम्बन्धित सहकारी ठगी...