News Portal

  • गाउँले बोलेनन्, जनप्रतिनिधिको सहयोगले प्रहरीलाई सफलता

    हिमालीसंचार संवाददाता
    ३४१ पटक

    किशोर बुढाथोकी/अनिष विष्ट,
    संखुवासभा। संखुवासभाको मादी नगरपालिका–१ उम्लिङको खोला गाउँका २५ वर्षीय लोकबहादुर कार्की ३ पटक विदेश पुगेर फर्किए। वैदेशिक रोजगारीका लागि वि.सं. २०७१ र २०७३ सालमा मलेसिया गएका उनी २०७६ सालमा कतार पनि पुगे। तर ३ पटक नै उनी सफल हुन सकेनन्। कमाई नभएपछि घर फर्किए। कतारबाट फर्कदा उनमा मानसिक समस्या देखियो।

    विदेश जाँदाको ऋण तिर्न नसकेको तनाव छँदै थियो। २०७७ चैत २६ गते आमा देवीमाया कार्कीको निधन भयो। त्यसपछि घरमा उनीसहित बुवा रणबहादुर र भाइ अम्बरबहादुर बस्थे। देवीमाया ५ महिनाअघि पारिवारिक नाताभित्रका जेठाजु तेजबहादुर कार्कीको घरमा लडेर घाइते भइन्। लड्दा अगाडिका दुईवटा दाँत फुस्किए। उपचारकै क्रममा देवीमायाको निधन भएपछि लोकबहादुर झन पीडामा परे।

    प्रहरीका अनुसार लोकबहादुरको मनमा बडिबुवा तेजबहादुरको परिवारका कारण आमाको मृत्यु भएको भन्ने परेछ। लोकबहादुर विदेश जाँदादेखि देवीमायाको उपचार र किरिया खर्चको प्रबन्ध भने तेजबहादुरले मिलाइदिएका रहेछन्। खर्च भएको ५ लाख रूपैयाँ २५ रोपनी जग्गा बेचेर बुवा रणबहादुरले तिरिदिए। हजुरबुवा लालबहादुरको ६ वर्षअघि मृत्यु भएको थियो। आर्थिक अवस्था कमजोर रहेका उनका छोरा रणबहादुरमा कान कम सुन्ने, बोली लटपटिने समस्या छ। तेजबहादुर लालबहादुरको आफ्नै भाइका छोरा हुन्। गाउँकै सहयोगी तेजबहादुरलाई लालबहादुरले मर्नुअघि आफ्ना परिवारको रेखदेख र सहयोगका लागि आग्रह गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

    काकाले भने अनुसार नै तेजबहादुरले भाइ (काकाका छोरा) रणबहादुर र उनका छोराहरुलाई सल्लाह, सुझाव र अर्ति दिने गरेको बताइन्छ। रणबहादुरले पनि दाजु तेजबहादुरलाई अविभावक मान्थे। ‘भतिजो लोकबहादुरलाई बेलाबेला गाली पनि गर्दा रहेछन्। मानसिक समस्यामा रहेका लोकबहादुरको मनमा नराम्रो छाप बसेछ,’ प्रहरी स्रोतले भन्यो, ‘त्यहाँमाथि तेजबहादुरको घरमा लडेको ५ महिनापछि आमाको मृत्यु भयो। सबै समस्या नै तेजबहादुरले गर्दा भएको भन्ने लोकबहादुरलाई परेछ।’

    त्यही कुण्ठा पालेर बसेका लोकबहादुरले अन्ततः अभिभावकको रूपमा रहेका तेजबहादुरको परिवारका ४ पुस्ता सखाप बनाइदिए। लोकबहादुर आफूसँग नकारात्मक बनेका छन् भन्ने उनले पत्तो पाउनै सकेनन्। लोकबहादुरले ६ जनाको सामूहिक हत्या गरेर पारिवारिक नाताभित्रै दर्दनाक एवं बीभत्स घटना गराएको संखुवासभा प्रहरी प्रमुख डीएसपी लालध्वज सुवेदीले बताए।

    उनका अनुसार आमाको मृत्युपछि अविभावकका रूपमा तेजबहादुरले भाइ रणबहादुरको परिवारलाई सम्झाउँदै लोकबहादुरलाई तँ काम नगर्ने अल्छि, पागलजस्तो मान्छे भनेर हप्काउने गरेकाले भड्किएर उनले नरसंहार मच्चाएको पाइएको छ। एकाबिहानै लोकबहादुरको घरमा धान गोड्ने खेताला यकिन गर्न तेजबहादुर पुग्दा उनी सुतिरहेको पाइएको डीएसपी सुवेदीको भनाइ छ। उनका अनुसार लोकबहादुरले आफ्नो घरबाट फर्कने क्रममा पछाडिदेखि चिर्पट दाउराले हानेर सहयोगी अविभावक तेजबहादुरको हत्या गर्दै उनको ४ पुस्ता स्वाहा बनाइदिएको खुलेको छ।

    प्रहरीका अनुसार चिर्पट प्रहार भएपछि तेजबहादुरले ‘मलाई लोकेले मार्‍यो, बचाउ’ भन्दै चिच्याएको सुनेपछि पत्नी कमला र बुहारी रञ्जना घटनास्थलमा पुगेछन्। बडिबुवाको हत्या गरिसकेका तेजबहादुरले त्यसपछि बडिआमा कमलालाई चिर्पट प्रहार गरे। घटना देख्नासाथ बेहोस भएर ढलेकि भाउजू रञ्जनालाई पनि आक्रमण गरे। घटना देखेपछि भाग्दै गरेका बालबालिका दीपेन र गोमालाई समेत लखेटीलखेटी मारेको खुलेको सुवेदीको भनाइ छ। उनका अनुसार घरको पछाडि खोले पकाउँदै गरेकी काकी हजुरआमा पार्वता कार्कीको टाउको पटक–पटक भित्तामा ठोक्काएर हत्या गरेपछि लोकबहादुर घरतर्फ फर्किएको पाइएको छ।

    बडिबुवा तेजबहादुरलाई मार्ने योजना भएपनि घटना देखेकाले प्रमाण लुकाउन अरुको समेत हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। आफ्नो परिवारलाई आडभरोसा दिइरहेका अभिभावककै परिवारमा लोकबहादुरले नरसंहार मच्चाएको प्रहरीको भनाइ छ। लोकबहादुरले ८४ वर्षीया पार्वता, ५८ वर्षीय तेजबहादुर, ५२ वर्षीया कमला, ३२ वर्षीया रञ्जना, ११ वर्षीय दीपेन र ७ वर्षीया गोमा कार्कीको हत्या गरेको प्रहरीले जनाएको छ।

    हिँडडुल गर्न डराए स्थानीय

    घटनापछि जनप्रतिनिधिकै अनुरोधमा प्रहरी सुरक्षा दिएर गाउँमै बसिरहेकाले जनजीवन सामान्य बन्दै गएको मादी नगरपालिकाका मेयर विदुरकुमार लिङ्थेपले बताए। झलझली आँखैमा आउने घटनाले हिँडडुल गर्न पनि स्थानीय डराउने भएकाले तत्काललाई प्रहरी टोलीलाई गाउँमै राख्न आग्रह गरिएको उनको भनाइ छ। नगरपालिकाको सहयोगमा गाउँमा सुरक्षा उपस्थितिले जनजीवनलाई पहिलेकै अवस्थामा फर्कन सहयोग गरिरहेको लिङ्थेपले बताए। अनुसन्धानमा ४९ जना प्रहरी खटिएका थिए। अझै पनि १० को टोली घटनास्थलमै छ।

    घटनाको अनुसन्धानदेखि गाउँको सुरक्षा प्रबन्ध मिलाउन सबै खालका सहयोग गरिएको वडाध्यक्ष खेमनाथ कटुवालको भनाइ छ। प्रहरी गाउँमै बसिदिएकाले स्थानीयले ठूलो राहत महसुस गरेको उनले बताए। ‘खोला गाउँकै घरमा मृतकको काजकिरिया चलिरहेको छ,’ कटुवालले भने। डीएसपी सुवेदीले अनुसन्धान जारी रहेसँगै घटनास्थल छाड्न नमिल्ने हुँदा प्रहरी टोली गाउँमै रहेको बताए।

    लोकबहादुरका भाइमाथि पनि अनुसन्धान हुँदै 

    प्रहरीले लोकबहादुरका भाइ नरेशमाथि पनि अनुसन्धान गरिररहेको छ। पछिल्लो विकसित घटना क्रमसँगै नरेशमाथि पनि सोधपुछ भइरहेको हो। दाजु लोकबहादुरले हत्या गरेकी रञ्जनाको मोबाइल उनले लुकाएको पाइएको प्रहरी स्रोतले बतायो।

    डीएसपी सुवेदी घटनाको अनुसन्धान जारी रहेका कारण केही व्यक्तिमाथि सोधपुछ भइरहेको बताउँछन्। दाजु लोकबहादुरले ६ जनाको हत्या गरेको नरेशले देखेको हुनसक्ने प्रहरी आशंका छ। तर संखुवासभा प्रहरीले घटनामा संलग्न १ जनाबाहेक अरुलाई पक्राउ नगरिएको जनाएको छ। प्रहरीले घटनास्थलमा खानतलासी, सोधपुछ र प्रमाण संकलनलगायतका काम भइरहेको जनाएको छ।

    साविती बयानमा लोकबहादुरले भने घटना स्वीकार गरिसकेको सुवेदीको भनाइ छ। अझै पनि तथ्यको पर्खाइमा रहेर अरु प्रमाण जुटाउने काम भइरहेको उनले बताए।

    जनप्रतिनिधिको सहयोगले सफलता 

    अनुसन्धानको नेतृत्व लिन घटनास्थल पुगेका प्रदेश १ प्रहरी प्रमुख डीआईजी अरुणकुमार बीसीले सामूहिक हत्याको अनुसन्धानमा जनप्रतिनिधिको ठूलो सहयोगले सफलता मिलेको बताए। ‘भौगोलिक विकटता लगायतले हत्यामा संलग्नको पहिचान गर्न गाह्रो भयो,’ उनले भने, ‘घटनाको अनुसन्धानमा खटिएको टोली मृतकको घरबाट लगभग २ सय ५० मिटरमाथिको खड्गबहादुर कार्कीको घरमा बसेको थियो।’ उनका अनुसार भीडभाड अत्याधिक हुँदा दिउँसो हत्यारा खोज्ने र राति घटनाको अनुसन्धान गर्ने गरिन्थ्यो।

    ‘दिउँसो होहल्ला र भीडभाडले सम्भव नभएपछि राति सुरु हुने अनुसन्धान बिहान ४ बजेसम्म चल्थ्यो,’ बीसीले भने, ‘प्राविधिक विश्लेषणलगायतका अनुसन्धान उपलब्धिविहीन बनेपछि गाउँभित्रकै व्यक्तिले घटना गराएको निस्कर्ष निकालियो।’ प्रहरीले गाउँभित्र केरकार गर्दा लोकबहादुर प्रहरीको शंकाको घेरामा थिएनन्। किनभने मारिएकाहरु उनकै पारिवारिक नाताभित्रका थिए। अझ लोकबहादुरले अनुसन्धानमा खटिएका प्रहरीलाई ३/४ दिनसम्म खाना बनाइदिनेलगायतका सहयोग गरिरहे।

    गाउँलेले उनीमाथि नै शंका गरेपनि प्रहरीसँग आधार थिएन। ‘सोधपुछ गर्दा बयान फेर्न थालेपछि मात्रै उनी प्रहरीको ‘नोटिस’मा परेका हुन्,’ डीआईजी बीसी भन्छन्, ‘त्यसपछि घर खानतलासी गर्दा घटनाका बेला लगाएको टी–सर्ट र रगत लागेको हाफपेन्ट भेटियो। ’उनका अनुसार हाफपेन्ट सुरुमा लोकबहादुरले भाइ नरेशको हो भने। दाजुभाइलाई सँगै राखेर सोधपुछ गरेपछि ‘मलाई फसाउन खोज्छस् भन्दै’ दाइप्रति भाई आक्रोसित बनेको उनले बताए।

    दाजुभाइलाई राख्दा तेजबहादुरले लोकबहादुरलाई गाली गर्ने र पागल भन्दै हेप्ने गरेको खुल्यो।  नरेशले नै दाजु र बडिबुवाको सम्बन्ध राम्रो नभएको बताए।  भाइलाई राखेर कुरा गर्न र सोधपुछ थाल्दा झर्को मान्न थालेका लोकबहादुरले ‘प्रमाण छ भने समात्नु’ भन्दै प्रहरीलाई चुनौती दिए।  चिर्पट आगोमा बालिसकेको र हाफपेन्ट धोएर प्रमाण नष्ट गरिसकेका कारण लोकबहादुर पक्राउ नपर्नेमा ढुक्क देखिएको बीसीको भनाइ छ।

    ‘घटना थाहा भइसकेकाले गाउँलेले आक्रमण गर्छन् भनेपछि उनी डराए।  सजाय कम गर्ने आवश्वासन दिएपछि मध्यरातमा घटना स्वीकार गरे,’ डीआईजी बीसीले भने, ‘भोलिपल्ट जनप्रतिनिधिलाई साक्षी राख्दै घटनास्थलमा लगेर ‘ब्रिफिङ’ गर्न लगाइयो। घटना यसरी गराएँ भनेर लोकबहादुरले सबै देखाए।’ सुरुमा मन भारी बनाएका लोकबहादुरको मुहार घटनामा संलग्नता स्वीकार गरेपछि ‘फ्रेस’देखिएको उनको भनाइ छ। उनका अनुसार हाफपेन्टमा देखिएको दाग परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला पठाइएको छ।

    घटनामा तेजबहादुरले गुहार माग्दा गाउँलेले सुनेपनि मुख नखोलेको बीसीको भनाइ छ। गाउँलेले घटना नै नसुनेको बताए। ‘मृतकको घरबाट २ सय ५० मिटर दूरीमा बसेको प्रहरी टोलीले बोलेको नै सबै सुन्थ्यो। हत्या भएका बेला चिच्याएर गुहार माग्दा अरुले नसुनेको मान्नै सकिँदैन,’ उनी भन्छन्, ‘वरपर घर भएका स्थानीयले घटना सुनेर पनि बोल्न चाहेनन्। जसका कारण अनुसन्धान कठिन भयो।’ तर घटनाका विषयमा नबोले पनि स्थानीयले अनुसन्धानमा खटिएका प्रहरीलाई तरकारीका लागि आआफ्ना बारीबाट हरियो सागसब्जी दिए। खाना पकाउने, खाने भाँडाकुडा पनि उपलब्ध गराए।

    घटनास्थल फरक–फरक भएका कारण एकै व्यक्तिले हत्या गरेको भन्ने टुंगोमा पुगिएको बीसीको भनाइ छ। घटनास्थल ४ ठाउँमा थियो। शवहरु ४ ठाउँमा भेटिएका थिए। उनका अनुसार जनप्रतिनिधिको सहयोग नपाएको भए अनुसन्धान झन् जटिल बन्ने थियो। घटनाको विश्लेषण गर्न र प्राविधिक पक्षबाट अनुसन्धान अघि बढाउन मेयर लिङ्थेपले वाईफाई जडान गरेर इन्टरनेटको व्यवस्था गरिदिएको बीसीले बताए।

    घटनाको सुरुवाति अनुसन्धानदेखि हालसम्म सुरक्षाकर्मीका लागि खाना, यातायात, इन्टरनेट, फोटोकपी पेपर, शव बोक्ने ट्याक्टर लगायतको व्यवस्था गर्दा नगरपालिकाले १ लाख ५० हजार रूपैयाँभन्दा बढी खर्च गरेको जानकारी मेयर लिङ्थेपले दिए। सुरुदेखि नै घटनास्थलमा रहेका उनी र वडाध्यक्ष खेमनाथ कटुवालले प्रहरीलाई आवश्यक सबै सहयोग गरे। प्रहरीकै साथमा रहेर उनीहरुले सहयोग गरे। ‘इन्टरनेट, खानपिनदेखि प्रहरीलाई अनुसन्धानमा आवश्यक पर्ने सबै सहयोग गरियो,’ मेयर लिङ्थेप भन्छन्, ‘पोस्टमार्टमाका लागि लैजानलाई शव उठाउन नदिनेभन्दै स्थानीय विरोधमा उत्रिएपछि सम्झाईबुझाई गरेर अवस्था सामान्य बनाइयो।’

    प्रतिकृया दिनुहोस्

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    अप्रिल २५ देखि नेपाली चलचित्र “महाजात्रा” कुवेतमा रिलिज हुँदै

    कुवेत– कुवेतमा भोली एप्रील २५ बिहीबारबाट नेपाली सिनेमा “महाजात्रा” प्रदशनमा आउने भएको छ। कुवेत फाहाहीलको...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal