News Portal

मासु र मदिरा सेवनमा होस पुर्‍याउनु उत्तम

हिमालीसंचार संवाददाता
५३३ पटक

काठमाडौं।
हाम्रो मुलुकमा दसैं तिहारताका सबैभन्दा बढी मदिरा र मासुको खपत हुन्छ। बर्सेनि दसैताका असोज महिनामा १४ लाख कार्टुन बियर, एक लाख ७३ हजार ३ सय ३३ कार्टुन मदिराको खपत हुने गरेको अनुमानित तथ्यांक छ।

‘दसैँतिहारताका सामान्य मदिराको खपतमा ४० देखि ५० प्रतिशतसम्म वृद्घि हुन्छ,’ मदिरा व्यवसायी महासंघका सल्लाहकार सन्तोष पाण्डे भन्छन्, ‘मदिरा सेवन गर्नेले यो समय आफ्नो मात्रा बढाउँछन् भने नखानेले समेत खाने गरेकाले यसको खपत बढेको हो।’

दसैंतिहारताका सामान्यतया सेवन नगर्ने आमनेपालीले पनि यसको उपभोग गर्ने गरेका छन्। मुलुकको पढेलेखेका व्यक्तिमा थोरै मात्रामा मदिरा सेवनले मुटुलाई फाइदा पुर्‍याउने मान्यतासमेत छ। यो सोचाइ विभिन्न ससाना अध्ययनका आधारमा भएको हो। तर मदिराले साँच्चै मुटुलाई फाइदा गर्छ वा गर्दैन भनेर हालसम्म विज्ञानले कुनै ठोस प्रमाण दिन नसकेको मुटुरोग विशेषज्ञ डा.ओममूर्ति अनिल बताउँछन्।

जति पनि मदिरा र विशेषगरी जुन मदिरा फलहरूबाट (रेड वाइन) बनाइन्छ, यसमा फलहरूमा हुने राम्रो कुरा पनि जाने गर्छ। विशेषत: एन्टी अक्सिडेन्ट, ºलेवेन्वोइड्स, नाइट्रिक अक्साइडजस्ता फलफूलमा हुने तत्त्व वाइनमा पनि पाइएका कारणले यसले रक्तनलीमा सकारात्मक असर पार्छ।

कोलेस्ट्रोलमा पनि सकारात्मक असर गर्छ, राम्रो कोलेस्ट्रोल बढाउन सक्छ। तर यो सबै सकारात्मक कुराले मुटुलाई रोगबाट बचाउने कुरा अझसम्म प्रमाणित भएको छैन। यस्तो अवस्थामा एक व्यक्तिले मुटुलाई फाइदा गर्छ भनेर वाइन वा, मदिरा प्रयोग गर्नु बुद्घिमानी होइन।

डा.ओम मूर्तिका अनुसार हालसम्मका विभिन्न वैज्ञानिक अध्ययन, लेखहरूका अनुसार मदिराको प्रयोग नगरेकाहरूले मुटुलाई स्वस्थ पार्ने बहानामा यो खान सुरु गर्नु हुन्न। तपाईंलाई एन्टी अक्सिडेन्ट, ºलेवेन्वोइड्स, नाइट्रिक अक्साइड पाउनु छ भने वाइन किन खानुपर्‍यो ? फलफूल खाए पर्याप्त हुन्छ।

मानौं, एक सामान्य व्यक्ति कहिलेकाहीं मदिरा सेवन गर्छ। चाडपर्वको मौकामा कम समयमै बढी मदिरा सेवन गर्छ। आफूलाई उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल नभएको ठानी बढी मदिरा खान्छ भने यो सुरक्षित छैन। एक स्वस्थ व्यक्तिले कम समयमै आफ्नो क्षमताभन्दा धेरै मदिराको प्रयोग गर्दा मुटुसम्बन्धी जटिल समस्या उत्पन्न हुन सक्छ। यसमा हृदयाघात, मुटुको चालमा जटिल गडबडी (होली डे हार्ट सिन्ड्रोम), मस्तिष्काघात आदिको खतरा बढी हुन्छ।

यो सँगसँगै एक्युट ग्यास्ट्राइटिस (अम्लपित्त), एक्युट हेपाटाइटिस (कलेजोको समस्या) र एक्युट प्याङक्रयाटाइटिस जस्ता प्राणघातक रोग उत्पन्न हुन सक्छन् र यी समस्या पूर्णत: स्वस्थ, पहिला कुनै रोग नभएको मानिसमा समेत देखिन सक्छ। केही वर्षअघि अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्समा डीएम गर्दाताका २१ वर्षका एक बैंक म्यानेजर राति पार्टी गरेपछि बिहान हृदयाघातको समस्या लिएर आएको घटना डा.ओममूर्ति सम्झिन्छन्।

उनी पहिलादेखि नै पूर्ण स्वस्थ थिए, कुनै आदि थिएन तर एक्कासि हृदयाघात भएको थियो। एन्जियोग्राफी गर्दा उनको मुटुको रक्तनलीमा ब्लकेज (अवरोध) देखिएन, रगत मात्र जमेको देखियो। कम समयमै अत्यधिक मदिरा सेवन (विन्ज
ड्रिङकिङ)ले गर्दा ती स्वस्थ युवालाई एक्कासि हृदयाघात भएको ठहर चिकित्सकहरूले गरे।

‘कम समयमै अत्यधिक मात्रामा मदिरा सेवन नगरेको भए ती युवालाई हृदयाघात हुने थिएन, भविष्यमा समेत उनी मुटुको समस्याबाट मुक्त रहन सक्थे,’ डा. ओममूर्ति भन्छन्, ‘छोटो समयमा सेवन गरिएको अत्यधिक मदिरा ले मुटुको रगत नलीमा रगत जम्ने सम्भावना बढाएर रगतको नलीमा ब्लकेज (अवरोध) नभएको व्यक्तिमा अचानक हृदयाघात निम्त्याउन सक्छ, यसैले आफूलाई स्वस्थ ठानेर क्षमताभन्दा बढी मदिरा सेवन गर्नु हुँदैन।’

अमेरिकास्थित नेसनल इन्स्टिच्युट अफ अल्कोहल एब्युज एन्ड अल्कोहलिज्म (एनआईएएए) को तथ्य पत्रअनुसार महिलाले दुई घण्टाभित्र ४ वा योभन्दा बढी ड्रिंक लिनु वा पुरुषले दुई घण्टाभित्र ५ वा योभन्दा बढी ड्रिंक लिनु ‘विन्ज’ ड्रिंकिङ हो।

एनआईएएए अनुसार विन्ज ड्रिंकिङ गरेका व्यक्तिको रगतमा मदिराको सान्द्रता ०.०८ ग्राम प्रतिशत वा यसभन्दा माथि हुन्छ। मदिराको एउटा ड्रिंक जसलाई हामीले बोलचालको भाषामा ‘पेग’ भन्ने गरेका छौं, लाई समेत परिभाषित गरिएको छ।

अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) को तथ्य पत्रअनुसार एउटा पेग/एक युनिट/एक ड्रिंक १४.६ ग्राम शुद्घ मदिराको हुन्छ। हार्ड लिकर अर्थात ह्वीस्की, रम, जिन, भोडकालगायतमा वाइनको दाँजोमा बियरमा बढी मात्रामा मदिरा हुन्छ।

अमेरिकास्थित नेसनल इन्स्टिच्युट अफ ड्रग एब्युजको तथ्य पत्रअनुसार जिन, भोडका, ह्वीस्की, रमजस्ता कडा मदिरा अर्थात ४४ मिलिलिटर हार्ड लिकर एक मात्रा वा एक पेग हो। यस्तै, ४४ मिलिलिटर अर्थात एक मात्रा वा पेग, हार्ड ड्रिंकमा भएको मदिराको मात्रा ३५५ मिलिटिर बियर, १४८ मिलिलिटर वाइन, .२३६ मिलिलिटर माल्ट लिकरमा जस्तै हुन्छ।

चिकित्साशास्त्रमा अत्यधिक मदिरा पान अर्थात हेभी ड्रिंकिङको परिभाषासमेत गरिएको छ। यसअन्तर्गत ६५ वर्ष भन्दा माथिका पुरुष महिलाको हकमा भने कुनै पनि दिन तीन ड्रिंकभन्दा बढी वा सातामा ७ ड्रिंकभन्दा बढी सेवन गर्न अत्यधिक मदिरा पान हो। यस्तै ६५ वर्ष वा योभन्दा मुनिका पुरुषका लागि कुनै पनि दिन ४ ड्रिंकभन्दा बढी वा सातामा १४ ड्रिंकभन्दा बढी मदिरा सेवन गर्नु अत्यधिक मदिरा पान हो।

दसैंतिहार मात्र नभई जुनसुकै समयमा मुटुरोगको जोखिम भएका व्यक्तिलाई जस्तै उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्ट्रोल, मोटोपना, वंशानुगत आदि जोखिम भएकाहरूले मदिरा प्रयोगमा अत्यन्त संयम राख्नुपर्ने डा.ओममूर्ति बताउँछन्। रक्तचाप नियन्त्रण नभएका, ह्दयाघात भएका, कोलेस्ट्रोलको समस्या भएका, अन्य दीर्घरोगले पीडित र मुटुरोगीले थोरै मात्रामा समेत मदिरा प्रयोग गर्नु हुदैन। यस्ता व्यक्तिले मदिरा प्रयोग गर्नुभन्दा अगाडि मुटुरोग विशेषज्ञको परामर्श आवश्यक हुन्छ।

कति मदिरा खानु सुरक्षित ?
हुन त मदिराको प्रयोगपछि रगतमा अल्कोहलको मात्राले यसको असरलाई निर्धारण गर्छ र व्यक्तिपिच्छै मदिरा पचाउने क्षमता फरक हुन्छ। तापनी पूर्ण रूपले स्वस्थ व्यक्तिका लागि विभिन्न अन्तर्राष्ट्रिय निकायहरूले एउटा मापदण्ड तोकेको छ। हामी जुन मदिरा खान्छौं, यो रगतमा जाने कुरा र लाग्ने कुरा विभिन्न प्रक्रियाहरूले निर्धारण गर्छ। मदिरा सेवनको अधिकतम मात्रासमेत निर्धारण गरिएको छ।

‘यसअनुसार एक पुरुषले २४ घण्टामा २ युनिट र महिलाले १ युनिटभन्दा बढी मदिरा प्रयोग गर्नु हुदैन,’ डा.ओममूर्ति भन्छन्, ‘एक युनिट बराबर १० ग्राम अल्कोहल बुझिन्छ।’ एउटा ५० मिलिलिटर ह्वीस्कीमा यदि ४० प्रतिशत अल्कोहलको मात्रा छ भने त्यसको २० ग्राम अल्कोहल भएको पाउनु २ युनिट हो। यो एक पेगभन्दा पनि कम मात्रा हो। यस्तै, दुई सय मिलिटिर वाइन, तीन सय मिलिटिर बियर एउटा स्वस्थ पुरुषले दिनभरिमा खान सक्छन्।

‘यो परिभाषाअनुसार हामीले हेर्‍यौं भने समाजमा अधिकांशले विन्ज ड्रिंकिङ गरिरहेको पाउँछौं,’ डा.ओममूर्ति भन्छन, ‘दुई घण्टामा एक क्वाटर (एक सय ८० मिलिलिटर) मदिरा सेवन गर्नु विन्ज ड्रिंकिङकै श्रेणीमा पर्छ, दसैंतिहारताका अधिकांश व्यक्तिले एक क्वाटर मदिरा सेवन गरेकै हुन्छन्।’

मासु सेवन !
दसैँताका मासुको सेवन वर्षभरिकै दाँजोमा सबैभन्दा बढी हुने गरेको छ। यो समयमा मासुको खपत सबैभन्दा बढी हुन्छ। विज्ञहरूका अनुसार विशेष गरी मुटुरोगको जोखिम भएकाले अत्यधिक मासु सेवन गर्नु हुँदैन। तर महिना दिनमा कहिलेकाहीं मासु सेवन गर्नेलाई यसले खासै असर नगर्ने डा. ओममूर्ति बताउँछन्। चाडपर्वमा सबैले मासु सेवन गरे पनि यसको असर न्यूनीकरण गर्न भने ध्यान दिँदैनन्।

हामीले उपयोग गर्ने मासुको चुनाइ सबैभन्दा महत्त्वपूर्ण छ। मासु किन्दा बोसो कम भएको मासु किन्नुपर्छ। गिदी, शरीरभित्रका अंग, आन्द्रा, छाला, छाती आदिमा बोसो बढी हुन्छ। बोसो कम हुने तिघ्रा, पाखुरा आदिको मासु छान्नुपर्छ।

मासु पकाउनुअघि बोसो र छालाको भाग उपयोग गर्नु हुँदैन। अझ पकाउने बेलामा मासुमा बाहिरी तेलको प्रयोग कम गर्नु नै राम्रो हुन्छ। स्वादलाई राम्रो बनाउन मसलाको प्रयोग बढी गर्न सकिन्छ। मसला स्वास्थ्यका लागि हानिकारक नहुने डा.ओममूर्ति बताउँछन्।

अझ मासु पाकिसकेपछि यसको सतहमा भएको बोसो र तेलयुक्त झोललाई उपयोग नगर्नु नै राम्रो मानिन्छ। मासु खाने बेलामा सकेसम्म सलाद, सागपातजस्ता फाइबरयुक्त खानेकुरा मिसाएर खानु उपयुक्त हुन्छ। ‘मुटुरोगीलाई मासु खानु वर्जित छैन तर सकेसम्म थोरै मात्रामा स्वस्थकर तरिकाले पकाएको मासु सेवन गर्नुपर्छ,’ डा.ओममुर्ति भन्छन्।
-कान्तिपुरबाट

प्रतिकृया दिनुहोस्

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...