जीवनका आदिम रङ हरू भरेर
जब सुस्तरी फुकेथ्यौ
साकुहाचीमा आफ्नै विश्वासको
प्राण
तब निस्किन थालेथ्यो
तिम्रो यो लुरू गीतमा प्रेमिल धुन !
हो नियाम्बा बुरू,
बम्बाला नदीको धारै-धार भएर
आज पनि बगिरहेछ
त्यही धुन तिम्री प्रेमीकाको मनसम्म !
सायद,
यतै कतै छ होला
इतिहासको त्यो खाली पाना पनि
जहाँ लेख्नु छ – तिमीले स्वाधीनताको कथा !
पुतली नाच्ने फूलबारीमा
मालीहरू बहुलाएर
फूलको नै हत्या गर्न थालेपछि
भविष्यको ककून बोकेर
म आएको छु
गाईगोठ छोडेर – यो कङ्गारूको पठारमा !
केही सम्झनाहरू
आमाको पटुकाको फेरोमै छोडिए
त केही सम्झनाहरू
सुरूवालको इँजारमा झुण्डिएर
सपनाको उडान भर्दै
म सँगसँगै आज यतै आएका छन् !
यति ठुलो सम्भ्रान्त शहर
पेटीमा बसेर
चुपचाप मेरो पसिना काढिरहेछ
यस्तो लाग्छ
गाउँको भरिलो रनवन छोडेर
म एउटा फिरङ्गी माहुरी आएको छु !
आफ्नै मष्तिस्क निचोरेर
अब मैले बनाउनुछ – घारभरि आलो
मह !
र हरेक दिन बुझाउनु छ
जिन्दगीका सबै उर्जाशील
खुसीहरू !
जब बिस्तारै सेलाउने छ
मेरो धमनीमा दौडिरहेको तन्नेरी
रगत
र मेटिदै जानेछन्
रेष्टुराँको टेबलबाट मेरा हातका चक्रहरू
तब काटिने छ होला
यो शहरको बहिखाताबाट मेरो तस्वीर !
थाहा छैन मलाई,
कुन बाटो हो गाउँसम्म फर्केर जाने ?
कसैले त खबर देऊ
यतिखेर बग्दैछ कि सुकिसक्यो होला
भोकको आँसु रोएर
कहिल्यै नथाक्ने माईखोलाको पानी पनि ?
ठिक यो बेला,
कस्मेटिक घुम्टो ओढेर
मस्त निदाइरहेको छ – क्विन्स्ल्याण्ड वीच !
भन नियाम्बा बुरू
तिमीले टेकेको जमिन लुछेर
कसले टाँचा मारिरहेछ – सुनखानीमाथि ?
चराहरूको स्वर भरेर
तिमीले गाउने गरेको लुरू गीत
कुन सङ्ग्रालयमा बन्दी बनेको छ होला ?
र आफैले झोडा फाँडी
सम्याएको खेतबारीको आँटी छोडेर
यो किम्बर्ले मैदानमा
यतिखेर तिमी किन एक्लै भेडा चराइरहेछौ ?
कहाँ छ होला
तिम्रो माटोको आदिम सुगन्ध
कति छ होला
तिम्रो नदीको उन्मुक्तिको परल मूल्य
र कस्तो छ होला
तिम्रो जङ्गली बतासको मुस्कानको तरेली ?
जीवनको लय गुमेर
भोकको डढेलोले खर्लप्पै निलेपछि
दुष्टहरूले पासो थापेर
तिम्रो स्वाधीनता जालमा पारेको हुनुपर्दछ !
थाहा छैन मलाई
यो आदिम देशको बडापत्रवाट
कसरी मेटियो होला
टोटेम (totem)ले दिएको तिम्रो प्रिय नाम ?
म त फिरङ्गी हुँ
देश त उतै कतै छोडेर आएको छु !
र यो एकलास किनारामा
आफ्नै सपनाहरू आफैँ जलाइरहेछु !
प्रिय नियाम्बा बुरू !
कुनै दुष्टले लुटेर
आज लगेको छ – तिमीबाट तिम्रो माटो !
सायद,
यो धर्तीमा कुनै त्यस्तो शब्द छैन
जसले व्यक्त गर्न सकोस्
देशभित्रै देश हराएर
शरणार्थी बाँच्नुको पिडाको त्यो गहिराई ?
मलाई नै सिरानी हालेर
निदाएको छ
यो सम्भ्रान्त शहर यति ढुक्कले चौखटमा !
जति चुसाउनु थियो
सबै-सबै रसहरू चुसाएर
यतिखेर म ढोडको खोस्टो बनेको छु
र ड्रिम गार्डेनमा बसेर
पिजाको सेक्सी अनुहार हेरिरहेछु !
म सम्झिरहेछु
पटुकाको घुर्मैलो फेरो खोलेर
आमाले दिएको सिलाम-चामलको फ्वाँक !
जहाँ अविरल बग्ने गर्थ्यो
योभन्दा झन मीठो स्वादको सुनकोसी !
हो आमा !
अब म गाउँ फर्किन्छु
र उसै गरी निदाउँछु – आर्यघाटमा
जसरी निदाएको छ
त्यो सुनखानीको गोरे साहु
यो सिमेटरी पार्कको शान्त ओछ्यानमा !
भन नियाम्बा बुरू !
यो धर्तीको धनीपूर्जाबाट
नाम काटिएर
गुमनाम पारिएकाहरू
निदाउने अन्तिम ओछ्यान कहाँ छ ?
– प्रथा