News Portal

१२ वर्षपछि श्रीलंकाको सान

दक्षिण अफ्रिकामाथि क्लिनस्विप

हिमालीसञ्चार संवाददाता
७६८ पटक

कोलम्बो — श्रीलंकाले दक्षिण अफ्रिकासँगको टेस्ट क्रिकेट शृंखला २–० ले जितेको छ । २००६ यता श्रीलंकाले पहिलोपल्ट दक्षिण अफ्रिकालाई टेस्ट शृंखलामा हराएको हो । रंगना हेराथले दोस्रो इनिङ्समा ६ विकेट लिँदै सोमबार श्रीलंकाली जितको कथा कोरेका थिए ।

भ्रमणकारी दक्षिण अफ्रिकाको दोस्रो इनिङ्स कोलम्बोमा चौथो दिन दोस्रो सत्रमा २ सय ९० रनमा खुम्चियो । असम्भवझै लाग्ने ४ सय ९० रनको लक्ष्य पाएको दक्षिण अफ्रिका २ सय रनले पछाडि रहयो । दक्षिण अफ्रिका १२ वर्षपछि फेरि श्रीलंकासँग ‘ह्वाइट वास’ हुन पुगेको हो । २००६ मा पनि श्रीलंकाले दक्षिण अफ्रिकासँगको दुई टेस्टको शृंखला २–० ले नै जितेको थियो ।

श्रीलंकाले गलको पहिलो टेस्ट तीन दिनभित्रै जितेको थियो । त्यसमा दक्षिण अफ्रिकाको दोस्रो इनिङ्स ७३ रनमै समेटिएको थियो । १९९० मा अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएयता टोलीको टेस्टमा यो कमजोर स्कोर थियो ।

‘शृंखलाभर नै हामीसँग साझेदारी गर्ने क्षमता पनि थिएन । हामीले पूरा शृंखलामा ५० माथिका तीन साझेदारीमात्र गर्‍यौं होला,’ दुखित दक्षिण अफ्रिकाका कप्तान फाफ डु प्लेसिसले भने, ‘फेरि पनि यसमा प्रतिद्वन्द्वीलाई श्रेय दिनुपर्छ । उनीहरूले हामीलाई लामो समय दबाब दिइरहन सफल भए, जसका कारण हामीले गल्तीहरू गरिरहयौं ।’

दोस्रो टेस्टमा श्रीलंकाले पहिलो इनिङ्समा ३ सय ३८ रन बनाएको थियो, जबकि दक्षिण अफ्रिकाले १ सय २४ रनमात्र जोड्न सकेको थियो । उपयोगी अफ स्पिनर अकिला धनन्जयाले ५ विकेट लिएका थिए । श्रीलंकाले तेस्रो दिन दिवासत्रमा २७५–५ मा दोस्रो इनिङ्स टुंग्याउदै दक्षिण अफ्रिकालाई विशाल लक्ष्य तेस्र्याएको थियो । आइतबार खेल समाप्तिमा नै १३९–५ को स्थितिमा पुग्दा दक्षिण अफ्रिका पराजय नजिक पुगिसकेको थियो ।

थेउनिस डी ब्रुयन र टेम्बा बाभुमाले सोमबार बिहानीसत्रमा छैटौं विकेटका लागि १ सय २३ रन जोडेर श्रीलंकाका बलरहरूलाई तड्पाएका थिए । एसियामा चौथो इनिङ्समा दक्षिण अफ्रिकाको यो सबैभन्दा ठूलो साझेदारी हो । निश्चय पनि शृंखलामा पनि दक्षिण अफ्रिकाको उत्कृष्ट साझेदारी यही थियो । यसअघि सबैभन्दा ठूलो साझदोरी ६४ रन थियो ।

डी ब्रुयनले विशेष प्रभाव पारेका थिए । उनले स्विपमा केही राम्रा शट खेलेका थिए । बाभुमाले लेग साइडमा आएका बलमा एक रन लिँदै स्ट्राइक रोटेट गरेका थिए । बाभुमालाई ६३ रनमा हेराथले विकेट पछाडि क्याच गराए । देव्रेहाते स्पिनर हेराथले विकेटकिपर–ब्याट्सम्यान क्विन्टन डी ककलाई भोजनको ठीकअघि ८ रनमा एलबीडब्लू आउट गरे । ‘मलाई लाग्दैन हामीले स्पिन बलिङ खराब खेल्यौं तर यस उपमहाद्वीपका ब्याट्सम्यानसँग तुलना गर्ने हो भने हामीले आफ्नो प्रदर्शन पनि उठाउनुपर्छ,’ डु प्लेसिसले भने, ‘दक्षिण अफ्रिकाका लागि चुनौती यही हो ।’

भोजनपछि डी ब्रुयनले टेस्टमा आफ्नो पहिलो शतक बनाए । शृंखलामा दक्षिण अफ्रिकी खेलाडीको यही एक शतक हो । तर उनी १ सय १ रनमा हेराथको बलमा बोल्ड भए । ‘धेरै मिहिनेतपछि यो नतिजा आएको हो । श्रीलंकासँग विश्वका केही उत्कृष्ट स्पिनरहरू छ, त्यसैले हामीले दक्षिण अफ्रिकालाई अप्ठयारोमा पार्न सफल भयौं,’ श्रीलंकाका उपकप्तान सुरंगा लकमालले भने । श्रीलंकाले यो विजय नियमित कप्तान दिनेश चन्डिमालबिनै हात पारेको हो ।

बलको प्राकृतिक स्वरुप बिगारेकाले चण्डिमाल निलम्बनमा रहेका छन् । यही अभियोगमा श्रीलंकाका प्रशिक्षक चन्डिका हथुरुसिंहालाई पनि खेलका क्रममा कारबाहीस्वरुप ड्रेसिङ रूममा छिर्न दिइएको छैन । दुई टोलीबीच पाँच खेलको वान–डे अन्तर्राष्ट्रिय शृंखला हुनेछ । पहिलो खेल आइतबार दम्बुलामा हुनेछ ।

 

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...