बूढीगण्डकीको भीषण बाढीले ६ वटा पुल बगायो, कम्तीमा १० जना सम्पर्कविहीन

गोरखा,- बूढीगण्डकी नदीमा आएको भीषण बाढीले गोरखा र धादिङका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीले दुईवटा पक्की पुलसहित कुल ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीन भएका छन्।
सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बाढीले गोरखाको आरुघाट र धादिङको त्रिपुरासुन्दरी जोड्ने पुल तथा आरुघाटको सोती र मान्बु जोड्ने पक्की पुल बगाएको छ।
त्यसैगरी, धार्चे गाउँपालिकाका वडा नं. १ र ३ जोड्ने बेलिब्रिजसमेत बाढीले बगाएको छ। माछिखोला–केरौँजा, चुमनुब्रीको ठाडोभर्याङ–जगत् तथा सिर्दिबासको घट्टेखोला–फिलिम जोड्ने झोलुङ्गे पुल पनि बाढीले बगाएको जनाइएको छ।
बाढीका कारण चुमनुब्री गाउँपालिका–३ स्थित पैयुँ र बगरका करिब ३५ घर बगाएको छ। त्यस्तै, जगत्, सल्लेरी, दोभान र घट्टेखोला क्षेत्रमा समेत बाढीले ठूलो क्षति पुर्याएको छ।
अचानक आएको बाढीले बस्ती, घर तथा आवतजावतका लागि प्रयोग हुने पुलहरू बगाएपछि प्रभावित क्षेत्रका स्थानीय नागरिकको जनजीवन थप जोखिममा परेको छ। पुलहरू बगाउँदा विभिन्न बस्तीबीचको आवतजावत र उद्धार कार्यमा समेत कठिनाइ उत्पन्न हुन सक्ने देखिएको छ।
बाढीका कारण सम्पर्कविहीन भएका कम्तीमा १० जनाको अवस्था अझै स्पष्ट हुन सकेको छैन। उनीहरूको खोजी तथा प्रभावित नागरिकको उद्धार र राहतका लागि तत्काल पहल आवश्यक देखिएको छ।
बूढीगण्डकी नदी आसपासका तल्लो तटीय क्षेत्रमा समेत बाढीको जोखिम रहेकाले स्थानीय बासिन्दालाई नदी किनारबाट टाढा रहन, सुरक्षित उच्च स्थानमा जान र सतर्कता अपनाउन आग्रह गरिएको छ।

















