निजी विद्यालयको मनपरी : कक्षा ८ सम्म अनुमति, पढाइ कक्षा १० सम्म

रंगेली । मोरङको रंगेली नगरपालिकाभित्र सञ्चालित केही निजी तथा संस्थागत विद्यालयले नगरपालिकाबाट अनुमति लिएको कक्षाभन्दा माथिल्लो तहसम्म पठनपाठन गराइरहेको पाइएको छ। नगरपालिकाको शिक्षा शाखाबाट प्राप्त विवरणअनुसार विद्यालय सञ्चालनको अनुमति र वास्तविक रूपमा सञ्चालन भइरहेका कक्षाबीच तालमेल नदेखिएको हो।
रंगेली नगरपालिका–७ मा रहेको सनगोलरी इङ्लिस बोर्डिङ स्कुलले नगरपालिकाबाट कक्षा ८ सम्म सञ्चालनको अनुमति लिएको भए पनि गत वर्षदेखि कक्षा ९ र १० सम्म पठनपाठन गराउँदै आएको पाइएको छ। विद्यालयले दोस्रो परीक्षाको तालिकासमेत सार्वजनिक गर्दा कक्षा ९ र १० का विषय समावेश गरेपछि अनुमति नलिई माथिल्लो कक्षा सञ्चालन भइरहेको विषय थप स्पष्ट भएको छ।
त्यसैगरी, रंगेली नगरपालिका–३ स्थित आमतोला होलिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले पूर्वप्राथमिक तह सञ्चालनको अनुमति लिए पनि कक्षा ४ सम्म पठनपाठन गराउँदै आएको पाइएको छ। रंगेली नगरपालिका–८ मा बसपार्क नजिकै रहेको कलवरी ई.बो. स्कुलले कक्षा १ सम्मको अनुमति लिए पनि कक्षा २ सम्म पढाइ सञ्चालन गरिरहेको पाइएको छ।
स्थलगत विवरणअनुसार केही विद्यालयको भौतिक अवस्था कमजोर रहेको, विद्यालयको नामसमेत स्पष्ट रूपमा नलेखी सञ्चालन गरिएको तथा शुद्ध खानेपानी, शौचालय र कक्षाकोठा व्यवस्थापनमा समेत कमजोरी देखिएको बताइएको छ। यस्ता अवस्थाले विद्यार्थीको सुरक्षित र गुणस्तरीय शिक्षामाथि प्रश्न उठाएको छ।
शिक्षा नियमावलीमा संस्थागत विद्यालय सञ्चालनको अनुमति लिँदा विद्यालयको तहअनुसार धरौटी राख्नुपर्ने व्यवस्था उल्लेख छ। उक्त व्यवस्थाअनुसार माध्यमिक तह (कक्षा ९–१०) का लागि पाँच लाख रुपैयाँ, आधारभूत तह (कक्षा ६–८) का लागि दुई लाख ५० हजार रुपैयाँ, आधारभूत तह (कक्षा १–५) का लागि एक लाख ५० हजार रुपैयाँ र प्रारम्भिक बाल विकास केन्द्रका लागि एक लाख रुपैयाँ धरौटी राख्नुपर्ने उल्लेख छ।
तर, सनगोलरी इङ्लिस बोर्डिङ स्कुलले नगरपालिकाबाट कक्षा ९ र १० सञ्चालनको अनुमति नलिई पठनपाठन गराइरहेको विषयमा शिक्षा शाखाको ध्यानाकर्षण भएको छ। अनुमति लिएको कक्षाभन्दा माथिल्लो तहमा पढाइ सञ्चालन हुँदा पनि सम्बन्धित निकायबाट नियमित अनुगमन र नियमन प्रभावकारी हुन नसकेको देखिन्छ। यसले विद्यालयको सञ्चालन तथा व्यवस्थापनमाथि नगरपालिकाको निगरानी कति प्रभावकारी छ भन्ने प्रश्नसमेत उठाएको छ।
यस विषयमा रंगेली नगरपालिकाकी शिक्षा शाखा अधिकृत लीला ओझाले आफू पदमा आउनुअघिदेखि नै विद्यालयमा यस्तो अवस्था रहेको र विगतमा कसरी अनुमति नलिई माथिल्लो कक्षा सञ्चालन भयो भन्नेबारे आफू अनभिज्ञ रहेको बताइन्।
उनले आगामी शैक्षिक सत्रमा अनुमति नलिई स्वीकृतिभन्दा बढी कक्षा सञ्चालन गरेको पाइएमा प्रचलित कानुन तथा शिक्षा सम्बन्धी मापदण्डअनुसार आवश्यक प्रक्रिया अघि बढाइने जानकारी दिइन्।
विद्यालय सञ्चालनको अनुमति, भौतिक पूर्वाधार, खानेपानी, शौचालय तथा शैक्षिक गुणस्तरको नियमित अनुगमन गर्नु स्थानीय तहको महत्त्वपूर्ण जिम्मेवारी हो। त्यसैले अनुमति नलिई कक्षा सञ्चालन भइरहेको विषयमा नगरपालिकाले प्रभावकारी छानबिन गरी आवश्यक कदम चाल्नुपर्ने देखिन्छ।


















